जनताको नासो ‘श्रीपेच र राजदण्ड’ जनतालाईनै सुम्पंदै ०६४ जेठ २९ गते राजा ज्ञानेन्द्र सहर्ष नारायणहिटी दरबारबाट बाहिरिए । बाहिरिनुपुर्व दरबारभित्र आयोजित पत्रकार सम्मेलनमा केही उच्छृङ्खल पत्रकारहरुबाट जे जस्ता खालका असभ्य हर्कत भए स्वयं राजा ज्ञानेन्द्रले देखेर मुसुमुसु हाँस्दै आफ्नै सन्तानका विविधरुप ठानी सहजै पचाई दिए । उनको मुहारमा पटक्कै आक्रोश देखिएन । सायद अरु देशमा यस्तो परिस्थिति श्रृजना हुँदो हो त कतिको गुटुङटुङ् हुन सक्थ्यो । अभिभावकीय जिम्मेवारीबोध हुने जुनसुकै अभिभावकले आफ्ना सन्तानप्रति गर्ने र हुने भनेकै यहि हो । यस्तो दिन देखेका हामीले आज चारैतिर उनै राजाका प्रति उर्लंदो भरोसा र जनआस्था देखेर म मात्र होईन सबै दंग छन । अरु त अरु, राजालाई हटाएर गणतन्त्र स्थापना गर्नेहरुनै राष्ट्रिय अस्तित्व, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिक रक्षाकालागि राजा नभए धेरै लामो समय राष्ट्र बाँच्न सक्दैन भन्ने ठोकुवा कोठाकोठामा गर्न थालेका छन । सुन्न थालिएको छ, गुप्त भेटघाट पनि बाक्लिंदै छन् ।
हाम्रो नेपाली परम्परा र संस्कारले साँझमा जोसुकै व्यक्ति घरमा आएर बास माग्दा पनि देवता सरह मान्दै आदर सम्मान सहित बास दिने हाम्रो ‘अतिथि देवो भव: !’ को भावनामा चोट पुर्याउँदै जेठ २९ गते साँझको बत्ति बालेपछि राजा ज्ञानेन्द्रको पुरै परिवार नारायणहिटीको बास छोडेर नागार्जुन पुग्दाको विवश क्षण देख्ने अधिकाँश नेपालीका आँखा ओभाना थिएनन् । ‘साँझको बेला नजानुस भोली गएपनि हुन्छ !’ कसैले भनेनन् । राजाको विदाईको क्षणमा त्यहाँ उपस्थित सबै र टिभि प्रत्यक्षप्रसारण हेर्नेहरु धुरुधुरु रोए । राजालाई नबुझ्ने केहि अबुझ उरण्ठेउला कतिपयले खित्का पनि छाडे । कति भयो र यस्तो देखेको ! अस्ति भर्खरको कुरा त हो यस्तो भएको !
यसरी दरबार छोडेपनि त्यसपछिका प्रत्येक राष्ट्रिय तिथि र पर्वमा देश र जनताकाप्रति चिन्ता र चासो राख्दै राजाले जनताका नाममा सन्देश दिदै आए । राजाको सन्देश अत्यन्त बोधगम्य भएपनि सबै जनताका सामु कहिल्यै सहजै पुग्न पाएनन् । सञ्चार माध्यम पुरै पक्षपाति भए । यति हुँदाहुँदै पनि आफसेआफ सन्देश फैलिन्थ्यो जनमानसमा । राजाको राष्ट्र र जनताप्रति समर्पित कागजको सानो पानामा लेखिएको एक अनुच्छेद सन्देशले तथाकथित परिवर्तनकारीको ढ्याङ्ग्रो ठोक्न थालेको उतिबेलै देखि हो । जे जे गर्छ समयले गर्दो रहेछ !
जनतामा सन्देश प्रवाहसंगै राजा विस्तारै बाहिर निस्कन थाले । शाहीसन्देशका शब्दसंग तर्सनेहरु राजाको भैतिक शरिरनै देश दौडाहामा जाँदा उनीहरुमा के भए होला ! ? राजा भन्नपनि डराउने अवस्था निर्माण गरेका बेला राजाका अघि ‘पूर्व’ थपेर क्रमशस् राजाले जनताको घरदैलोमा पाईला राख्न थाले । मठ मन्दिर गुम्वामा पूजा अर्चना गर्न थाले । यसरी राजा हिंड्दा राजालाई मान्दिन भन्नेहरु पनि जिल्लातिर लुकिलुकि राजा हेर्न थाले । आफ्ना परिवारका सदस्यलाई आफ्नो घर अगाडी जलघडा राख्न लगाउँदै पुष्पगुच्छा सहित लाममा बसेर दर्शनगर्न अह्र्याउन थाले । यसबाट प्रष्टै बुझिन्थ्यो राजा पूर्व थिएनन् ‘राजै’ थिए , जनजनमा राजा मनमनमा राजा बसेका थिए र बसेकै छन् ।
नेपाली जनताले हटाएका भए पो राजादेखि जनता टाढा हुन्थे । राजासंग टाढिनुको सट्टा नेपाली जनता राजाको स्वागतका लागि आफ्ना घर आँगन स्वतः स्फुर्त सजाउन थाले । परचक्रिको षडयन्त्रमा पाखा परेका राजाको बारेमा बिस्तारै जनताले बुझ्दै गए । राजा जहाँजहाँ पुग्थे जनताको ओईरो लाग्न थाल्थ्यो । जनताको राजाप्रतिको आस्था झनझन बढ्दै जान थालेको देखेर दलका नेताहरु बर्बराउँथे । राजाका सन्देश भित्र लुकेका एकाध गंभीर शब्दले नेताहरुला ऐंठन हुन्थ्यो । नेताहरु ऐंठनमा परेपछि बेलाबेला दरबार हत्याकाण्डको ‘छानबिन गर्दिम्ला’ भन्दै राजालाई तर्साउन पनि खोजे । राजा हटाएर देशमा गतिलो गरेका भए पो नेताहरु बलिया हुन्थे । चौतर्फी कुशासन र भ्रष्टाचारले आजित जनताहरुले राजालाई दुत्कारेको पटक्कै रुचाउन छाडे । राजाका पछिल्लो सन्देशले शासन व्यवस्थाकै विरुद्ध जनता उत्रिन थालेका छन । नेताहरुमा पहिला जस्तो तितो प्रतिकृया दिने हिम्मत हराएको छ । नेताहरुको नूर गिरेको छ । पछिल्लो सन्देशमा एकाध व्यक्तिले बोलेपनि ‘म पिटेजस्तो गर्छु, तँ रोए जस्तो गर् !’ का आशय मात्र देखिन्छन् । यसले अर्को के पुष्टी गरेको छ भने आँफुले गरेको गल्तिको महशुस तिनिहरुलाई पनि पुरै भएको छ । झन अहिले त, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनि राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको ह्वाईट हाउस भित्रको भद्दा वार्ताले सिकाएको पाठबाट अर्काको बुईं चढेर शिकार गर्नु आफ्नै विनाश हुनु हो भन्ने ज्ञान नेताहरुको दिमागमा राम्रसंग घुसेको पनि होला !
त्यो अपमान, त्यो वितण्डा, त्यो असभ्यता र त्यो जेठ २९ को साँझमा परिवारै खेदिएर नारायणहिटी छोड्दाको भावमुद्रा होस् वा अहिले उनै राजालाई देश विदेशमा हुँदै आएका उच्च सम्मानमा देखिने भावमुद्रामा कत्तिपनि तलमाथि छैन । राजा ज्ञानेन्द्रको भावभंगीमामा कत्तिपनि दायाँवायँ छैन । दुःख सुख जस्तै परिवेशमा संधै एकनाश !
राजाले गत फागुन ७ गते देशवासीका नाममा प्रेषित सन्देश र ०६४ पुष २७ गते प्रेषित सन्देशमा एकनाश छ । मात्र समयको फरक हो । ऊ बेलापनि राजाले जनताको साथ खोजेका थिए, अहिले पनि राजाले जनताको साथ मागेका छन । समझदारीमा गरिएका सम्झौताहरुलाई कमजोरी नठान्न संझाएका छन । राजाका अभिव्यक्तिहरु कसैप्रति आग्रह र पुर्वाग्रह भन्दापनि राष्ट्र राष्ट्रियता र राष्ट्रिय अस्तित्वको बचाउका लागि सबैसंग हातेमालो गरेर अगाडी बढौं भन्ने नै हो । राजाका विगत देखि जनतामा प्रेषित सन्देशहरुले अपेक्षा गर्ने भनेकै नेतृत्व चुक्दै राष्ट्रघाती बन्ला कि भन्ने चिन्तानै हो । देशको अवस्था अहिले ठ्याक्कै त्यहि शंशयको वरिपरि नाचेको छ ।
विश्व राजनीतिको पछिल्ला घटनाक्रमले हाम्रो जस्तो जटिल भू(राजनीतिक परिवेषलाई बुझेर चाल्नुपर्ने कुटनीतिक चातुर्यताको खाँचो झन टड्कारो बनेको छ । बचपना कुटनीतिका कारण हाम्रो देशको स्वाभिमान दिनदिनै गिर्दै गएको छ । यस्तो अवस्थामा परम्परागत शक्ति राजशक्तिको आवश्यकता सबैले महशुस गर्न थालेका छन । यहि आवश्यकताको द्यौतक फागुन सातको सन्देश हुन सक्छ । फागुन सातको सन्देशले सबै नेपालीको मुहारमा उज्यालो छर्ने कडी बनोस भन्ने कामना गरौं ।
यिनै राजा ज्ञानेन्द्र तेह्रबर्ष पछि मेरो गृहजिल्ला बागलुङमा फेरि आगमन हुन लागेको देखेर म हर्षित भएको छु । बागलुङमा आगन्तुलाई लोभ्याउने अनेकन पर्टकीय स्थल भएपनि परापूर्वकाल देखिनै पश्चिमाञ्चलकै सबैभन्दा ठूलो मेला लाग्ने पवित्र धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका भगवतीको महिमा अत्यन्त महत्वपुर्ण छ । बागलुङको प्रवेशद्वारमै विराजमान देवी कालिका भगवतीको दर्शन गर्न पटकपटक राजपरिवारका थुप्रै सदस्यहरुको सवारी भैसकेको छ । यसैलाई निरन्तरता दिंदै राजा ज्ञानेन्द्रको पुनः सवारी हुनलागेकोमा बागलुङबासीमा उत्सुकता र हर्षोल्लास छाएको छ । समाजसेवी जब्बर बहादुर लामिछानेको नेतृत्वमा ५०१ सदस्सीय स्वागत समिति बनेको छ । गाऊगाऊँबाट राजावादीहरु स्वतःस्फूर्त रुपमा बागलुङ आउन थालेका छन । घरघरमा राजाको विगत र बर्तमानका बारेमा चर्चा परिचर्चागर्न थालेका छन । तर म आँफै उपस्थित हुन असमर्थ भएँ । मेरो जीवनमा भर्खरै बज्रेको बज्रपात र हाल मेरो आफ्नै प्रतिकुल स्वास्थ्यका कारण प्रत्यक्ष स्वागत दर्शन गर्न नसके पनि नेपाल र नेपालीका भरोसाका केन्द्र श्री ५ ज्ञानेन्द्रको बागलुङमा हार्दिक स्वागत अभिवादन सहित भ्रमण सफलताको कामना गर्दछु ।





