सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

घोडाबाँधे क्षेत्रः पूर्वी बागलुङमा उदाउँदै गरेको सुन्दर पर्यटकीय हब

घोडाबाँधे क्षेत्रः पूर्वी बागलुङमा उदाउँदै गरेको सुन्दर पर्यटकीय हब


  • ई. खिमानन्द कँडेल
  • फाल्गुन २१ २०८१, बुधबार

के हो त बृहत घोडाबाँधे क्षेत्र ?
बागलुङ बजारबाट मध्यपहाडी लोकमार्ग खण्डको झण्डै २५ किलोमिटर खण्ड घोडाबाँधेमा रहेकोे सैनिक क्याम्प वा यसैको शीरमा रहेको सुन्दर पर्यटकीय गन्तव्य शिवधुरीलाई केन्द्र विन्दु मानेर पूर्वी बागलुङमा रहेका ६ वटा स्थानीय तहहरु (बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका) बीच भागमा रणनीतिक केन्द्रको रुपमा बिकास हुन सक्ने उच्च पहाडी पर्वतमालाको मनोरम शृङ्खला नै बृहत घोडाबाँधे क्षेत्र हो । यस क्षेत्रको पूर्वी प्रवेश विन्दु बागलुङ बजार÷कुश्मा बजार, पश्चिम प्रवेश विन्दु वामी टक्सार/खर्बाङ बजार, दक्षिण प्रवेश विन्दुको रुपमा गुल्मीको शान्तिपुर बजार, बागलुङको बरेङ बजार र उत्तरी प्रवेश विन्दुको रुपमा म्याग्दीको बेनी बजार÷बागलुङको ताराखोलालाई लिन सकिन्छ । यस क्षेत्रमा पर्यटकीय संभावनाहरुको रुपमा रहेका विभिन्न ऐतिहासिक, धार्मिक, प्राकृतिक स्थलहरु, रीतिरिवाज, संस्कृति र परम्परा सहितको एकीकृत स्वरुपलाई बृहत घोडाबाँधे क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने उद्धेश्य राखिएको छ ।

यस क्षेत्रमा कसरी पुग्ने त ?
पूर्वी प्रवेश विन्दु
बृहत घोडाबाँधे क्षेत्रका पूर्वी प्रवेश विन्दुहरु यस प्रकार रहेका छन् ।
(१) नेपालकै पर्यटकीय राजधानी कास्कीको पोखरा (यहाँबाट मध्यपहाडी लोकमार्ग हुँदै २.५ घण्टामा सजिलै पुग्न सकिने )
(२) कुश्मा बजार पर्वतः कुश्माको बजार एवम् कुश्माको बञ्जी जम्प क्षेत्रबाट १.५ घण्टाको गाडीको यात्रामा मध्यपहाडी लोकमार्गबाट सहजै पुग्न सकिने ।
.(३) बागलुङ बजारः साबिकको धौलागिरी अञ्चलको केन्द्रविन्दु बागलुङ बजारबाट १ घण्टाको गाडीको यात्रामा सहजै पुग्न सकिने ।
पश्चिम प्रवेश विन्दु
बृहत घोडाबाँधे क्षेत्रका पश्चिम प्रवेश विन्दुहरु यस प्रकार रहेका छन् ।
(१) बुर्तिबाङ बजारबाट मध्यपहाडी लोकमार्ग क्षेत्र हुँदै २. ५ घण्टामा सहजै पुग्न सकिने ।
(२) बामी टक्सार/खर्बाङ बजारबाट मध्यपहाडी लोकमार्ग हुँदै १.५ घण्टामा सहजै पुग्न सकिने ।
(३) पूर्वी रुकुम पश्चिम रुकुमबाट मध्यपहाडी लोकमार्गको यात्रामा यसै क्षेत्रमा खाना तथा खाजाको लागि काठमांडौ तथा अन्य जिल्ला जाने गाडीहरु रोकिने गर्दछन् ।
(४) सालझण्डी ढोरपाटन सडकखण्ड, प्यूठानको स्वर्गद्धारी र गुल्मीको रेसंगाबाट समेत खर्बाङ हुँदै पुग्न सकिने ।
दक्षिण प्रबेश विन्दु
बृहत घोडाबाँधे क्षेत्रका दक्षिण प्रवेश विन्दुहरु यस प्रकार रहेका छन् ।
(१) लुम्बिनी बुटवलबाट तानसेन रिडीबजार खर्बाङ बजार हुँदै ६ घण्टामा पुग्न सकिने ।
(२) पाल्पाको तानसेनबाट ४ घण्टामा पुग्न सकिने ।
(३) गुल्मीको रिडीबजार र शान्तिपुर बजारबाट ३ घण्टामा पुग्न सकिने ।
(४) दक्षिण बागलङको जैमिनी र बरेङ बजारबाट सहजै पुग्न सकिने ।

उत्तरी प्रबेश विन्दु

बृहत घोडाबाँधे क्षेत्रका उत्तरी प्रबेशविन्दुहरु यस प्रकार रहेका छन् ।
(१) म्याग्दीको बेनी बजारबाट सिंगा तातोपानी भकिम्ली बेलढुंगा हुँदै सहजै पुग्न सकिने । म्याग्दीकै रत्नेचौर भकिम्ली बेलढुंगा हुँदै समेत जान सकिने ।
(२) म्याग्दीको रुम हुँदै ताराखोलाको करिमेला, भातखानेडाँडा तर्फबाट पनि पुग्न सकिने ।
यस क्षेत्रका प्रमख पर्यटकीय गन्तव्यहरु:
यस क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरु यस प्रकार रहेका छन् ।
(१) काठेखोला/सुल्डाँडा बजारः बागलुङ बजारबाट बिहुँ गल्कोट हुँदै पश्चिम तर्फ लाग्ने ऐतिहासिक महत्वको पदमार्गको स्थानीय बजार काठेखोला बजार हो र यही काठेखोलाको नामबाट काठेखोला गाउँपालिकाको नामाकरण गरिएको हो । काठेखोलाबाट पश्चिमतर्फ भीमसेन क्याम्पस तर्फ जानको लागि आकर्षक स्वागतद्धार र पदमार्ग समेत निर्माण गरिएको छ । यहीँबाट बिहुँको गिठापाटामा रहेको धार्मिक स्थल लक्ष्मी नारायण मन्दिरमा समेत पुग्न सकिन्छ ।
(२) किम्बोटको सुन्तला बगान (Orange City): घोडाबाँधे क्षेत्रको पूर्वी भागमा रहेको किम्बोटको बिशाल सुन्तला बगान पनि यस क्षेत्रको आकर्षक पर्यटकीय गन्तव्य र स्थानीय कृषकहरुको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको छ । बागलुङ बजारबाट अक्षेते बजार हुँदै किम्बोट सुन्तला बगानसम्म आधा घण्टामा सहजै पुग्न सकिन्छ ।
(३) राम मन्दिर ईनारपानीः बागलुङ बजारबाट ४५ मिनेट र घोडाबाँधेबाट पनि आधा घण्टामा सहजै पुग्न सकिने बिहुँको ईनारपानीमा रहेको राम मन्दिर धार्मिक महत्वको पर्यटकीय क्षेत्र हो । ब्रम्हालीन १००८ स्वामी परमानन्द सरस्वती महाराज ज्यूको जन्मस्थल ईनारपानी पौवाडाँडा क्षेत्रमा हाल आकर्षक राम मन्दिरको निर्माण गरिएको छ ।
(४) बिहुँका कोटहरुः बृहत घोडाबाँधे क्षेत्रको पूर्वी भाग अन्र्तगत साबिकको बिहुँकोट गाविसको केन्द्रभागमा अबस्थित बिहुँका आकर्षक तल्लो कोट र उपल्लोकोट मन्दिरहरु धार्मिक र ऐतिहासिक महत्वका धार्मिक पर्यटकीय स्थलहरु हुन् । बागलुङ बजारबाट अक्षेते ईनारपानी हुँदै शाखा मोटरबाटोबाट वा विहुँको पखरा बजार÷मिलन चोकबाट पूर्वतर्फबाट पनि यस क्षेत्रमा पुग्न सकिन्छ । घोडाबाँधे क्षेत्रमा पुग्दा दर्शन गर्नै पर्छ भन्ने मान्यता यस क्षेत्रका जनताहरुमा रहेको छ ।

(५) त्रिपुरेश्वर महादेव मन्दिर (रामकोट, शिवालय): स्थानीय रुपमा रामकोट वा शिवालयको रुपमा पनि चिनिने त्रिपुरेश्वर महादेव मन्दिर गण्डकी प्रदेशकै उत्कृष्ट ११० पर्यटकीय गन्तव्यहरुमा सूचिकृत भएको र आकर्षक धार्मिक पर्यटन सम्बन्धी पूर्वाधारहरु मन्दिर, संस्कृत पाठशाला, आश्रम, आकर्षक पदमार्ग आदिको निर्माणले स्थानीय तथा बाह्य पर्यटकहरु आकर्षित गर्न सफल धार्मिक पर्यटकीय स्थल हो । यस मन्दिर क्षेत्रमा व्यापक पूर्वाधारहरु निर्माण र प्रवद्र्धनको लागि ब्रम्हालीन १००८ स्वामी परमानन्द सरस्वती महाराज ज्यू र विश्वभरी छरिएर रहेका बिहुँकोट समुदायको ठूलो योगदान रहेको छ । यस मन्दिरको पूर्वी भागमा विश्वभरी छरिएर रहेका बिहुँकोटेहरुको बिशेष पहलमा आकर्षक स्लेट ढुंगाको झण्डै ५०० मिटर लामो शान्तिचोक शिवालय पदमार्ग समेत निर्माण गरिएको छ । यसको उत्तरी भागमा रहेको मैदानडाँडामा खेलकुद मैदान समेत रहेको छ । विशाल बन क्षेत्रको बिच भागमा रहेको यस मन्दिर क्षेत्रमा गुरुहरुको हातबाट कालिजहरुले चारो समेत खाने गर्दछन् । मध्यपहाडी लोकमार्ग अन्र्तगत विहुँको पखरा बजार/मिलनचोकबाट झण्डै १५ मिनेटको यात्रामा यस मन्दिरमा पुग्न सकिन्छ ।
(६) ठान्डाडा, दहपानी बजार र रिजालचोक बजार क्षेत्रः घोडाबाँधे क्षेत्रको पूर्वी खण्डमा उच्च पहाडी क्षेत्रको ग्रामीण आवास क्षेत्रको रुपमा यस क्षेत्र रहेको छ । यस क्षेत्रका अन्य ठूला बस्तीहरुमा पखरा बजार, जुकेपानी, राहाले, सिर्पाली, गौसरा लगायतका स्थानहरु रहेका छन् । मध्यपहाडी लोकमार्गको काखमै रहेको यस क्षेत्र व्यवस्थित आवास एवम होटल रिसोर्ट संचालनको लागि अत्युत्तम क्षेत्र हो ।
(७) शिवधुरी घोडाबाँधे क्षेत्रः बृहत घोडाबाँधे क्षेत्रको भूगोलको रणनीतिक केन्द्रको रुपमा शिवधुरी घोडाबाँधे रहेको छ । साबिकको बिहँकोटको शीरमा रहेको शिवधुरी क्षेत्र र हाल आर्मी क्याम्प रहेको घोडाबाँधे क्षेत्रमा फाल्गुण चैत्रमा लालीगुराँस फुलले राताम्य हुने गर्दछ । शिवधुरी धार्मिक महत्वको आकर्षक धुरी समेत हो भने घोडाबाँधे हुँदै मध्यपहाडी लोकमार्ग गएको छ । शिवधुरीमा बिहुँका रिजालचोक, फुर्सेमाटा, ठिन्केरी डाँडा, घामथारा, लटेखोरिया, गल्कोटको रगेनी, ठान, कायस, हरिचौर क्षेत्रबाट र ताराखोला गाउँपालिकाको माजखर्क क्षेत्रबाट पनि सहजै पुग्न सकिन्छ ।
(८) थामनेटा भ्यू टावर क्षेत्रः हिउँदको समयमा कहिलेकाहीँ हिउँ समेत पर्ने काठखोला गाउँपालिका र गल्कोट नगरपालिकाको सिमाना क्षेत्रमा रहेको साबिकको बिहुँकोट गाविस वडा नं ९ करलिमको शिर भागमा थामनेटा बजार बिस्तार हुँदै गएको छ । यहाँ भ्यू टावर र गल्कोट स्वागतद्धार समेत निर्माण गरिएको छ । समग्र गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय क्षेत्रको रुपमा थामनेटा भ्यू टावर क्षेत्र स्थापित हुँदै गएको छ । यस क्षेत्रमा बिशेष गरी बनभोज र घुमघामको लागि आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।
(९) लटेखोरिया क्षेत्रः बृहत घोडाबाँधे क्षेत्रको उत्तरी भागमा बिहुँको रिजालचोकबाट ताराखोलातर्फ जाने बिशाल बन क्षेत्र लटेखोरिया क्षेत्र हो । यहाँ विशाल सल्लाको बन, गोविन्द अधिकारी स्मृति पार्क र दर्जनौं पोखरीहरु समेत रहेका छन् । यस क्षेत्रलाई दीर्घकालीन रुपमा बिशाल चियाबगान र विश्वप्रसिद्ध गल्फ खेलको नेपालकै हबको रुपमा बिकास गर्न सकिने संभावना समेत रहेको छ । लटेखोरियाको धुरीभागबाट ताराखोला गाउँपालिका र गल्कोटको घुम्टेको धुरीको अवलोकन समेत गर्न सकिन्छ ।
(१०) झुलेनी क्षेत्रः बृहत घोडाबाँधे क्षेत्रको उत्तरी भागमा फापरखेत गाउँको शिरभागमा रहेको झुलेनीको धुरी यस क्षेत्रको आकर्षक पर्यटकीय स्थल हो । यस धुरीको नजिकै रहेको फापरखेत देउरालीसम्म बिहुँको रिजालचोक त्रिशुलचोक फापरखेत गाउँ हुँदै गाडीमा समेत यात्रा गर्न सकिन्छ । फापरखेत देउरालीमा आकर्षक पर्यटकीय पूर्वाधारहरु समेत निर्माण गरिएको छ । यो क्षेत्र बनभोज, लालीगुराँसको विशाल बनक्षेत्र र ध्यानकेन्द्रको लागि प्रसिद्ध छ । बागलुङ बजारबाट १.५ घण्टाको यात्रामा यो धुरीमा सहजै पुग्न सकिन्छ । झुलेनीको धुरीबाट पूर्वतर्फ तंग्रामको शीरको रुपमा थामडाँडा क्षेत्र समेत यस क्षेत्रको आकर्षक पर्यटकीय क्षेत्र हो ।
(११) बेलढुंगाः बृहत घोडाबाँधे क्षेत्रको उत्तरी भागमा रहेको यस क्षेत्रमा घोडाबाँधे क्षेत्रको रिजालचोक फापरखेत धम्जा देउराली हुँदै १ घण्टामा सहजै पुग्न सकिन्छ । बागलुङ जिल्ला र म्याग्दी जिल्लाको सिमानामा रहेको यस बेलढुंगा धुरी दृष्याबलोकन, बनभोज एवम् मेला महोत्सव आयोजना गर्ने रणनीतिक केन्द्रको रुपमा बिकास हुँदै गएको छ ।
(१२) कालीबराह मन्दिर (मोतीमारे)÷ कालिलेकः बृहत घोडाबाँधे क्षेत्रको उत्तरी भागमा रहेको अर्को आकर्षक पर्यटकीय स्थल माजखर्कको शीरमा रहेको कालीबराह मन्दिर (मोतीमारे) हो । बिहुँको रिजालचोकबाट त्रिशुलचोक हुँदै झण्डै ४५ मिनेटमा यहाँ सहजै पुग्न सकिन्छ । यो मन्दिर ताराखोला गाउँपालिका वडा नं १ मा अवस्थित छ । साथै यस मन्दिर क्षेत्रबाट झण्डै आधाघण्टाको उकालो पदयात्रामा ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाको शीरमा रहेको आकर्षक पर्यटकीय क्षेत्र कालिलेकमा पुग्न सकिन्छ ।
(१३) गाईघाट झरनाः बृहत घोडाबाँधे क्षेत्रबाट गल्कोट हटिया बजार हरिचौर हुँदै वा बिहुँको रिजालचोक माजखर्क हुँदै पनि ताराखोला गाउँपालिका वडा नं १ मा रहेको नेपालकै आकर्षक झरनाको रुपमा परिचित गाईघाट झरनामा पुग्न सकिन्छ ।
(१४) भुजुंगे/गल्कोट दरबार/हरिचौरः बृहत घोडाबाँधे क्षेत्रबाट उत्तर पश्चिम भागमा बिहुँको रिजालचोक हुँदै त्रिशुलचोक, माजखर्कको भाट हुँदै स्लेट खानीको लागि प्रसिद्ध गल्कोटको भुजुंगे गाउँमा पुग्न सकिन्छ । यहाँबाट थप आधाघण्टाको यात्रामा सहजै गल्कोटको हरिचौर बजार क्षेत्र र ऐतिहासिक महत्वको गल्कोट दरबारमा समेत पुग्न सकिन्छ ।
(१५) गल्कोट क्षेत्रः बृहत घोडाबाँधे क्षेत्रको पश्चिम भागमा रहेको लोकगीत संगीतको खानी र शहरको रुपमा विकास हुँदै गरेको गल्कोट क्षेत्रमा यस क्षेत्रबाट १ घण्टामा सहजै मध्यपहाडी लोकमार्गबाट पुग्न सकिन्छ ।
(१६) गैरीखेत करलिम क्षेत्रः करलिम गाउँ वैदेशिक रोजगारीका कारण ठूलो संख्यामा यूवाहरु जापान लगायतका देशहरुमा पुगेकोले व्यापक बसाईसराईको प्रभाव परेतापनि ग्रामीण शहरको रुपमा बिकास गर्न सकिने मिलेको पहाडी भूगोल हो । यसको सबैभन्दा तल्लो उचाईमा गैरीखेत रहेको छ भने बीचभागबाट बिहुँको मिलनचोक सुन्दरीचोक हुँदै लेखानीसम्म काठेखोला चक्रपथ पनि निर्माण भएको छ ।
(१७) लेखानी हलहले क्षेत्रः बृहत घोडाबाँधे क्षेत्रको दक्षिण पूर्वी भागमा रहेको लेखानी हलहले क्षेत्र समेत यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको संभावना बोकेको क्षेत्र हो । लेखानी र कादेश जोड्ने झोलुंगे पुल, मगरहरुको बाहुल्यता रहेको र कादेश गाउँ, र लेखानीको शीरमा दर्जनौं पोखरीहरु रहेको आकर्षक हलहले क्षेत्रमा यस क्षेत्रबाट एक घण्टाको यात्रामा सहजै पुग्न सकिन्छ ।
(१८) गाजाको दहः बृहत घोडाबाँधे क्षेत्रको दक्षिण भागमा रहेको रणनीतिक महत्वको धार्मिक महत्वको क्षेत्रको रुपमा गाजाको दह रहेको छ । यस दहमा बालाचतुर्दशीमा बिशेष मेला लाग्ने गर्दछ । गाजाको धुरी गाजाको दह क्षेत्र नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको रुपमा बिकास गर्न सकिने नयाँ १०० गन्तव्यहरुको रुपमा र गण्डकी प्रदेशको उत्कृष्ट ११० गन्तव्यको सूचीमा समेत अटाएको क्षेत्र हो । बिहुँको थामनेटा बजारबाट २ घण्टाको पदयात्रा र हलहलेबाट १ घण्टाको यात्रामा यस क्षेत्रमा पुग्न सक्निछ ।
(१९) सामुदायिक होमस्टेहरुः यस क्षेत्रलाई पर्यटकीय हबको रुपमा बिकास गर्नको लागि यस क्षेत्र अन्र्तगत बिहुँको थानडाँडा, तंग्रामको फापरखेत, धम्जा, लेखानीको कादेश गाउँ, रेश, ताराखोलाको माजखर्क, गल्कोटको भुजुंगे, तोरीखोला लगायतका गाउँहरुमा स्थानीय होमस्टेहरु समेत सञ्चालनमा रहेका छन् ।
(२०) स्थानीय बजारहरुः यस क्षेत्रमा रहेका स्थानीय बजारहरुमा काठेखोला बजार, ईनारपानी बजार, पखरा बजार, रिजालचोक बजार, थामनेटा बजार, धम्जा देउराली, झाँक्रीथान, नरेठाँटी बजार, दुुदिलाभाटी बजार, गाजाको दह, माजखर्क भाट आदि रहेका छन् ।
मुलतः काठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शीर बेलढुंगा र बेनी नगरपालिका वडा नं ३ को शीर भकिम्लीको शीरको रुपमा रहेको बेलढुंगा देखि धम्जा देउराली झुलेनीको धुरी, लेटेखोरिया, शिवधुरी घोडाबाँधे रगेनी थामनेटा, हलहले गाजाको दहसम्मको क्षेत्र र बागलुङ बजार देखि खर्बाङ बजारसम्म मध्यपहाडी लोकमार्गको दायाँबायाँको क्षेत्रमा रहेका सबै पर्यटकीय स्थलहरुको एकीकृत बिकासको लागि नेपालकै संभावित पर्यटकीय हबको रुपमा बिकास गर्ने गरी बृहत घोडाबाँधे क्षेत्रको अवधारणा अगाडि सारिएको हो ।
यस क्षेत्रमा लगानीका संभावनाहरु
यस क्षेत्रलाई नेपालको नयाँ संभावना रहेको पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारसँग निरन्तर पहल भैरहेको, ग्रामीण पर्यटकीय शहरको रुपमा विस्तार गर्ने रणनीतिक योजना रहेको, यो क्षेत्र साबिकको धौलागिरी अञ्चलकै रणनीतिक केन्द्र बन्न सक्ने, सिंगो पश्चिम नेपालको गेटवेको रुपमा विकास हुने, लोक गीत संगीतको रणनीतिक केन्द्र रहेको, यस क्षेत्रको दीगो बिकासको लागि पूर्वी बागलुङका स्थानीय सरकारहरु समेत सकरात्मक देखिएको र मध्यपहाडी लोकमार्गको निर्माणले गति लिँदै गरेको लगायतका कारणहरुले यस क्षेत्रमा लगानीकर्ताहरु आकर्षित हुँदै गएका छन् ।

विशेष गरी शाहसिक पर्यटन सहितका होटल एवम रिसोर्ट संचालनको लागि अत्युत्तम यस क्षेत्रमा लगानीका व्यापक संभावनाहरु रहेका छन् । निकट भविष्यमा नै सुन्दर ग्रामीण पर्यटकीय शहरको रुपमा विकास हुँदै जाने यस क्षेत्रमा व्यापक रुपमा लगानीकर्ताहरुलाई आकर्षिक गर्न सक्दा यस क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय हबको रुपमा सहजै बिकास गर्न सकिने संभावना रहको छ । यस क्षेत्रमा लगानीका केही संभावनाहरु प्रकार रहेका छन् ।
त्यसैले समग्र धौलागिरी क्षेत्रको संभावित रणनीतिक केन्द्र र विशेष गरी पूर्वी बागलुङ यस सुन्दर बृहत घोडाबाँधे क्षेत्रमा यस लेखमा उल्लेख गरिए बमोजिम वा अझै नयाँ नयाँ संभावनाहरुको खोजी गरी ब्यापक लगानी भित्राउन सबैले आ आफ्नो ठाउँबाट पहल गरां ।

‘बृहत घोडाबाँधे क्षेत्रको बिकासमा सबैले हातेमालो गरौं,
आफ्नो मातृभूमिको बिकासको लागि सबैले योगदान गरौं ।’
ईमेल/फेसबुकः khimanandakandel@yahoo.com
सम्पर्कः ९८५१०७०२०२

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->