अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को सन्दर्भ
अन्तर्राष्ट्रिय महिला दिवस वा नारी दिवस (International women’s day) मार्च ८ तारिख तदनुरुप यसवर्षकोफागुन २४ गते संसारभर मनाईंदै छ । सदाका वर्षमा झैं यसपटक पनिँ For All Women and Girls: Rights, Equality and Empowerment अर्थात् सबै महिला र केटीहरूको लागिः अधिकार, समानता र सशक्तीकरणभन्ने मूल विषयलाई केन्द्र बनाईविश्वभर लगायत नेपालमा समेत अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै छ । यसवर्षको नाराको अर्थ संसारभरका सबै महिलाहरू कतै न कतै कुनै न कुनै रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले दोस्रो नागरिक सरह भएकै छन् । उनीहरू आफ्नो अधिकार प्राप्तिका लागि बोल्न र एकजुट हुन नसकिरहेको परिस्थिति हुनसक्छ । त्यसकारण उनीहरूको हरेक पक्षमा अधिकार सुनिश्चितताका लागि, महिलाहरूलाई समेत पुरुष सरह समान व्यवहार गर्नका लागि र क्षमता अभिवृद्धि गरी सशक्त हुन प्रेरित गर्नु आवश्यक छ । जबसम्म महिलाहरूले आफ्ना हक अधिकार, समान व्यवहार र आफ्नो खुट्टामा आफैं उभिन सक्दैनन् तबसम्म महिलामाथि गरिने र हेरिने दृष्टिकोणमा सुधार आउन नसक्ने भएकाले अहिलेको महिला दिवसका अवसरमा यस्तो नारा तय गरिएको हो ।
त्यसैगरी महिलाहरूले आफ्ना हक अधिकार प्राप्त गर्नका लागि र पुरुषकै तुलनामा एकसाथ हिंड्नका लागि पुरुषहरूबाटै सहयोग हुनुपर्छ । महिलामाथि समान व्यवहार गर्न र अधिकार प्राप्ति गर्न जब पुरुषहरूबाट प्रेरित गरिन्छ, तब मात्र हामी राम्रो संसारको निर्माण गर्न सक्छौं ।त्यस्तै, जब महिलाहरू आफैं अधिकार प्राप्तिका लागि अग्रसर हुन्छन्, त्यहाँसान्दर्भिकता र सशक्तीकरणको भावना समेत उत्पन्न हुन्छ भन्ने रहेको छ । आजको यस दिवसले सामूहिक रुपमा महिलाहरूलाईहरेक पक्षमा हक अधिकार दिन र समान बनाउन सबैले सबैलाई प्रेरित गरौं र महिलालाई पनि पुरुष सरहकै स्थानमा राखौं भन्ने उद्देश्य राखेको छ ।महिलाहरूलाई सशक्तीकरण गराउने अभियानका लागि महिलालाई समान अवसर मात्र होइन कि हरेक क्षेत्रमा समावेशीको अवसर समेत दिनुपर्छ र संसारभर यो मान्यतालाई सबैले अङ्गाल्नु पर्छ भन्ने यस वर्षको महिला दिवसको नाराको अर्थ हो भन्ने लाग्छ ।
आधा आकाश ढाक्ने महिलाहरू र महिलाका उपलब्धिहरूलाई कम आँकलन गर्न नहुने र समानताका साथ बाँच्नका लागिसंसारभरका महिलाहरूलाई सामाजिक, आर्थिक, राजनीतिक जस्ता पक्षमा समावेशी गराउन आवश्यक छ । यसका लागि जो जहाँ जुन सङ्गठनमा वा समूहमा छ त्यहाँ, आफ्नै परिवारमा, समुदायमा, कार्यस्थलमा र जुनसुकै स्थानमा पनि महिलालाई समावेश गरी अघि बढ्नुपर्ने सोंच सबैले राख्नु जरुरी छ । यसरी हालको अवस्थामा महिलालाई बढी प्राथमिकता दिएर राज्यका सबै संयन्त्रमा, राजनीतिमा, हक अधिकार प्राप्त गर्ने कुरामा पुरुष सरह समान बनाउन सकिन्छ ।
महिलाहरूलाई अधिकार प्रदान गर्न, सशक्तीकरण बनाउन, समान र समावेशी बनाउन निम्न बुँदाहरूमा ध्यान दिनुपर्ने हुन्छ–
–महिलालाई आर्थिक जिम्मेवारी र सशक्तीकरणको मौका दिने,
–महिलाको क्षमता अनुसार नोकरी तथा अन्य व्यक्तित्व विकासमा सहभागी गराउने,
–नेतृत्वमा, निर्णयकर्ताका रुपमा र व्यवसायमा समेत समावेश गराउने,
–सम्पत्ति तथा भौतिक निर्माणमा पनि सहभागी गराउने,
–आफ्नो स्वास्थ्यको बारेमा आफैं निर्णय गर्नसक्ने अवस्था सृजना गर्ने,
–खाद्य सुरक्षा तथा कृषि उपजमा निर्णय गर्ने अवसर दिने,
–गुणस्तरीय शिक्षा तथा तालिममा पहुँच पु¥याउने,
–खेलकुदका क्षेत्रमा उच्च सहभागिताका लागि हौसला र प्रेरणा दिने,
–रचनात्मक, कलात्मक र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने र
–अन्य कुनैपनि क्षेत्रमा महिला सहभागिताका लागि सम्बोधन गर्ने ।
यसरी प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको अर्थ महिलालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक र लैङ्गिक समानता प्राप्त गर्न सफल बनाउनु हो वा त्यस्तो अवस्था कायम गराउनु हो ।तर पितृसत्तात्मक परिवार प्रथाका कारण नेपालमा मात्र नभई संसारका धेरै देशमा महिलालाई दोस्रो दर्जाको नागरिक मानिन्छ र महिला अधिकारलाई पछाडि राखिएको छ । त्यसकारण संसारमा नारीवादी आन्दोलनको सुरु भएको हो । यसरी नारीवादी आन्दोलनकोे सुरुवात भएको दिनलाई अर्थात् मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय नारी दिवस भनेर मनाउने प्रचलन छ । संसारमा नारीवादको इतिहास धेरै लामो छैन । यो १९ औं शताब्दी देखि मात्र सुरु भएको हो । प्रथम महिला अन्तर्राष्ट्रिय दिवस सन् १९११ देखि मनाउन थालेको पाइन्छ तापनि संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्ष घोषणा गरेको र १९७७ देखि मात्र औपचारिक रुपमा अन्तर्राष्ट्रिय महिला दिवस भनेर मनाउन थालेको हो ।
नेपालमा महिला अधिकार, समानता र सशक्तीकरणको अवस्था
नेपालमा महिला अधिकार, समानता, सशक्तीकरण र समावेशीकासन्दर्भमा कुरा गर्दा नेपालको संविधान २०७२ लाई पल्टाउनु पर्छ । संविधानमा गरिएको महिलाका हक अधिकार सम्बन्धी व्यवस्थामा नेपालका राज्य संयन्त्रमा उच्च पद राष्ट्रपति देखि पालिकाको प्रमुख पदसम्म महिलाका लागि विशेष समावेशी व्यवस्था गरेको छ । राजनीति र देशका राज्य संचालनका हरेक तहमा ३३ प्रतिशत कम्तीमा पनि महिलाको प्रतिनिधित्व हुनुपर्ने कुरा व्यवस्था गरिएको छ । यसरी नेपालमा राज्यमा महिला संलग्नता सन्तोषजनक तरिकाले अघि बढेको भएता पनि सोंचे अनुसार विभिन्न कार्यकारी पदमा पुग्न नसकेका र पुगिसकेकालाई पनि फरक दृष्टिकोणले हेर्ने प्रचलन छ । त्यसकारण राजनीतिक परिवर्तनले मात्र महिलाको समानता हुन सक्दैन । यसका लागि सांस्कृतिक र सामाजिक परिवर्तन तथा महिला समावेशी गराउनु जरुरी छ । महिलालाई जतिसुकै प्राथमिकता दिएर अघि बढाए पनि यदि समाज र त्यहाँको संस्कृतिले स्वीकृति दिंदैन भने त्यो केवल देखाउनका लागि मात्र हुने र महिलाहरू सधैं पछाडि परिरहने सुनिश्चित छ । त्यसकारण यसवर्षको महिला दिवसको नारा सबैले महिलालाई समान, अधिकार प्राप्त नागरिक र सशक्त बनाउनका लागि पहल गर्नुपर्छ भन्ने रहेको हुनसक्छ ।
आखिर संसारको आधा आकाश ढाक्ने महिलाहरूलाई संसारमै किन यसरी पछाडि पारियो र पुरुषको तुलनामा महिला पुग्न सकेनन् ? अहिले किन महिला समानता, महिला अधिकार, सशक्तीकरण र समावेशीका कुराहरू अघि आए भन्ने सन्दर्भमा बुझ्नका लागि नारीवाद सम्बन्धी अध्ययन मननको आवश्यकता छ । अन्तर्राष्ट्रिय नारी दिवसका दिन नारीवाद के हो, नारी प्रतिको दृष्टिकोणसंसारमा के कस्तो छभन्नेजस्ता कुराहरूमा बहसहुनुपर्ने भएकाले यो आलेखमा चर्चा गरिएको छ ।
नारीवादर यसको इतिहास
अंग्रेजी शब्द ँझष्लष्कm (फेमिनिज्म्) को नेपाली रुपान्तरण नारीवाद भन्ने हुन्छ । समाजमा प्राचीनकालदेखि प्रचलनमा रहेको लिङ्ग केन्द्रित पुरुष विचारधाराका साथै पितृसत्तात्मक धारणा र व्याख्याप्रति प्रश्नचिन्ह खडा गर्दै पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परागत मूल्य र विरोधका साथै नारीको हक, हित र समानताको पक्षधर मतलाई नारीवाद भनिन्छ ।
पाश्चात्य मुलुकमा नारीमुक्तिको संघर्ष लामै समयदेखि चल्दै आएको भएतापनि नारीवादी आन्दोलन र नारीवादी सिर्जनाको प्रयास सन् १९६० देखि मात्र भएको पाइन्छ । पाश्चात्य प्रसिद्ध दार्शनिक एरिस्टोटल जस्ता विद्वानले समेत नारीलाई तल्लो दर्जामा राखेर अभिव्यक्ति दिएका छन् । नारीमा विद्यमान केही गुणको कमीका कारण नारी भएको हो भन्दै नारीको कमजोरी औंल्याएका छन् । सेन्ट् टमस एक्विनसले पनि नारीलाई अपूर्ण मानिस भनी नारीको खोट देखाएका छन् । फ्रायडले समेत नारीमा पाइने शिश्न ईश्र्याकोसोंच लगायतका शारीरिक बनोटगत अपूर्णताको परिणाम नारी हो भनेका छन् । यसरी संसारमा सबै दार्शनिक, चिन्तक, नेता, वैज्ञानिक, साहित्यकार सबै पुरुष भएका कारण नारीलाई अपमान गर्दै आएको कुरा नारीवादीहरूको आरोप छ । नारीवादीहरू नारीलाई प्रकृतिले ठगेको होइन कि सामाजिक व्यवस्थाले हीन तुल्याएको भनी आरोप लगाउँछन् ।
नारीमुक्ति आन्दोलनको इतिहास
पश्चिमी मुलुकहरूमा नारीमुक्ति आन्दोलनको सुरुवात अठारौं शताब्दीमा नै भएको पाइन्छ । सन् १७९२ मा सर्वप्रथम मेरी उलस्टोनक्य्राफ्ट्, सन् १८६९ मा मार्गरेट फुलर, सन् १९२० मा रिबेका बेस्ट् तथा भर्जिनिया उल्फ, सन् १९४९ मा साइमन दी बुभा जस्ता आदि महिला साहित्यकारहरूको योगदानबाट सशक्त बनेको पाइन्छ । खासगरी सन् १९७० पछि नारीवादी दृष्टिकोणलाई प्रख्यात महिला साहित्यकारहरूले साहित्यका माध्यमले फरक मोडमा पु¥याएको पाइन्छ । नारीवादी सोंचको विकास निम्न तीन चरणहरूमा भएको पाइन्छ–
१. नारीजातीय चरण (Feminine stage)
यो सन् १८४० देखि १८८० को अवधिको चरण हो । यस चरणमा पितृसत्तात्मकताको विरोध नगरी भाले परम्परा र सौन्दर्यशास्त्रको अनुकरण गर्दै घरेलु तथा सामाजिक पृष्ठभूमिमा नारीको चित्रण गरिएको पाइन्छ ।
२. नारीवादी चरण (Feminist stage)
सन् १८८० देखि १९२० सम्मको यस चरणमा नारीहरूले पितृसत्तात्मकताको विरोध गरी भाले मूल्यमान्यताको उपेक्षा गरिएको पाइन्छ ।
३. नारी चरण (Female stage)
सन् १९२० देखि हालसम्मको यस चरणमा नारीहरूले स्वायत्त नारी परिप्रेच्छको जोडदार वकालत गरेका छन् र आफ्नो पहिचानको खोजी गरेका छन् ।साथै पितृसत्तात्मक सोचका कमीकमजोरीको पर्दाफास गरी अन्तमा परिवर्तन गर्ने उद्धेश्य यस चरणमा राखेको पाइन्छ ।
संसारका खासगरी मुस्लिम देशहरूमा अझैपनि नारीहरूलाई गरिने व्यवहार, राजनितिक हक, अधिकारको बाँडफाँड जस्ता कुराहरूमा विभेद नै गरेको पाइन्छ । हाल तालिबानी सरकारले अफगानिस्तानमा महिलालाई गरेका व्यवहारहरूको त जस्ता शब्दमा घृणा गरेपनि कमै हुन्छ । संसारका धेरै देशमा अझै पनि महिलाले चुनावमा भोटसम्म हाल्ने अधिकारको लागि लडाईं लड्नु परिरहेको छ । महिलाहरूप्रति हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन, तबसम्म महिलाहरू यसरी नै पीडित भइरहनुपर्ने अवस्था छ ।
नेपालमा नारीहरूको अवस्था
नेपालको सन्दर्भमा महिला हक, अधिकार र स्वतन्त्रताप्राप्त गर्नपनि महिलालाई निकै आन्दोलन गर्नुपरेको इतिहास छ । महिलालाई दोस्रो दर्जाको नागरिक मानी घरको चुलो चौकोमा, बच्चाको स्याहार सुसारमा, अनुत्पादनशील कार्यमा, परिवारको सेवा सुषुश्रामा मात्र सिमित राख्ने अवस्थाबाट बिस्तारै मुक्ति पाउन थालेको संकेत देखापर्दैछ । यी लगायत महिला भएको कारण गर्भमै भु्रण नष्ट गर्ने, जन्मेपछि फरक दृष्टिले हेर्ने, किशोरी तथा बाल्यकालमा बलात्कार गर्ने, सानै उमेरमा बिहे गरिदिने, दाइजोका कारण मर्नुपर्ने, बंश परम्परा धान्न बच्चा जन्माउनुपर्ने, श्रीमान् छउन्जेल श्रीमान्को नियन्त्रणमा रही श्रीमान् मरेपछि छोराको नियन्त्रणमा रहनुपर्ने, प्रजनन् समस्याहरू बोकी बाँच्नुपर्ने र उचित उपचार नगर्ने, छाउपडी प्रथा मान्नुपर्ने, बुढेसकालमा बोक्सीको आरोप सहनुपर्ने जस्ता आदि अनगिन्ती समस्याहरू नेपालमा पनि छन् । जुन कुराहरू कोट्याइरहँदा यहाँ स्थान अभाव होला तर यति चाहिं भन्नैपर्ने हुन्छ कि नेपालमा महिलाहरूले अन्य देशको तुलनामा अलि बढी राजनीतिक अधिकार प्राप्त गरिसकेका छन् । नेपालमा हाल महिलालाई हरेक निकायहरूमा आरक्षणको व्यवस्था, संविधानमा राजनीतिकरुपमा ३३ प्रतिशतको अधिकार, दक्षिण एशियामै पहिलो पटक पूर्णरुपले प्रजनन् वा गर्भपतनको अधिकार जस्ता निकै महत्वपूर्ण प्रगति हासिल गर्न नेपाली नारीहरू सफल भएका छन् । ती अधिकार प्राप्त भएकै कारण आज नेपालको राज्यसत्तामा महिलाहरूको तुलनात्मक रुपमा राम्रो उपस्थिति रहेको छ तर पर्याप्त छैन । नेपालमा नारीले राष्ट्रपतिको पदमा बसी २ कार्यकाल बिताउनु र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुनु पनि नेपाली महिलाहरूको कम उपलब्धि हो भन्न मिल्दैन ।
अन्तमा,
प्रकृतिले महिलालाई पुरुषको दाँजोमा शारीरिक रुपमा केही कमजोर अवश्य बनाएको छ र महिनैपिच्छे हुने शारीरिक समस्या, प्रजनन्को जिम्मा, स्तनपान गराउनुपर्ने बाध्यता जस्ता आदि कारणले महिलालाई केही पछि पारेको छ । अन्यथा महिलामा पुरुषको जस्तो मानसिक क्षमता, सामाजिक सहभागिता र सृजनशीलता आदि अब्बल नै हुनेगर्दछ । शारीरिक संरचनागत समस्याको फाइदा उठाइ महिलालाई पुरुषले भेदभाव गर्नु र समान सहभागिता गराउन आनाकानी गर्नु केवल पुरुषको स्वार्थी भावना र पितृसत्तात्मक सोंचको मात्र उपज हो । महिला पुरुष दुवै बराबरी हुन्, लिङ्गकै आधारमा कोही पनि ठुलो र सानो हुने होइन, समताका आधारमा दुवैले समान हक र अधिकार पाउनुपर्छ भन्नेकुरामा सबैले हेक्का राख्नु आवश्यक छ । यस्तो सोंचको विकासको लागि समेत नारी दिवस मनाउनु सान्दर्भिक छ ।यसरी मार्च ८तारिख भनेको विश्वभरका महिलाहरूको लागि विशेष दिन हो । जुन दिनमा महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको विश्लेषण गरी विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यो दिन महिला दिवसको रुपमा मात्र सीमित नरहोस् र यो दिनले महिला समानता, अधिकार, सशक्तीकरण र समावेशीताका लागि गति अघि बढाउने उत्सव ल्याउन आह्वान गरोस् । नारी दिवसको अवसरमा विश्वभरका सबै नारीहरूलाई धेरै शुभकामना ।





