पोखरा/ भविष्यका विकल्पहरू बुझ्न र सही दिशा चयन गरी इच्छाअनुारको पेशागत निर्णय लिन सक्षम बनाउने उद्देश्यका साथ पोखराको हिलसाइड इङ्ग्लिस स्कुल मालेपाटनमा एक दिने गोल सेटअप सहित करियर काउन्सेलिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ।
कक्षा नौ र दसका विद्यार्थीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको उक्त कार्यक्रममा चरक मेमोरियल अस्पताल नागढुङ्गा पोखराका डा.अनुप बराल, वयोधा अस्पताल, काठमाडौंका डा. प्रिन्स संग्रौला, ह्याम्स अस्पताल, काठमाडौंका डा. आकाश भुसाल र चितवन मेडिकल कलेजमा बीडीएस अध्ययनरत अपिल बरालले सहजीकरण गरेका थिए। विद्यार्थीहरूले आफ्नो इच्छानुसारको क्षेत्र रोजेर अध्ययन गर्दै गोल सेटअप गर्ने प्रक्रिया र महत्वका विषयमा छलफल गरिएको उक्त कार्यक्रममा विभिन्न पेशागत अवसरहरू र तिनीहरूका समय सान्दर्भिक आवश्यकताका बारेमा जानकारी दिइएको थियो। यसका साथै भविष्यमा सफल बन्नका लागि आवश्यक सिप र गुणहरूको बारेमा सहभागीहरूलाई अवगत गराइएको कार्यक्रममा सफल करियर बनाउने कार्यमा सहभागी हुँदा आइपर्ने चुनौती र अवरोधहरू पार गर्नका लागि मानसिक तयारी र रणनीतिहरू बनाउनुपर्ने कुरा पनि व्यक्त गरिएको थियो ।
विद्यालय तहमा आयोजना गरिने यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई शिक्षाको महत्व र शिक्षा प्राप्तिसँगै लक्ष्य निर्धारण गर्दै सबल व्यक्तित्वसहितको करियर बनाउन ठुलो भूमिका खेल्ने कुरा सहभागीहरूले बताएका थिए। विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले स्वागत गर्दै सहजकर्ताप्रति आभार व्यक्त गरे । साथै विद्यार्थीलाई विज्ञान, गणित, साहित्य, कला, इन्जिनियरिङ, मेडिकल आदि जस्ता विभिन्न करियर विकल्पहरूका बारेमा जानकारी दिने यस्ता कार्यक्रमहरू सम्बन्धित क्षेत्रका विशेषज्ञहरूका माध्यमबाट हिलसाइडले समय समयमा आयोजना गर्दै जाने कुरा व्यक्त गरे ।





