पोखरा/स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मंगलबार पोखराका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएका छन् । त्रिभुवन विश्वविद्यालयसँगै त्यसका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । जसका लागि विभिन्न विद्यार्थी संगठनहरुले मंगलबार आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा त्रिविअन्तर्गतका पाँचवटा क्याम्पसहरु रहेका छन् ।
जसमध्ये जनप्रिय क्याम्पसबाहेक अन्य क्याम्पसहरुमा उम्मेदवारी दर्ता गरिएको छ । त्रिविको आंगिक क्याम्पसमध्येको सबैभन्दा ठूलो पृथ्वीनारायण क्याम्पसमा (पिएन) पनि मंगलबार विद्यार्थी संघ/संगठनहरुले उम्मेदवारी दर्ता गराए । पिएन क्याम्पसमा ६ संगठनले उम्मेदवारी दर्ता गराउँदा दुई स्वतन्त्रले उम्मेदवारी दिए । कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिए भने अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, नेविसंघबाट सुशील न्यौपानेको सभापतिमा उम्मेदवारी दर्ता भएको हो । अनेरास्ववियुबाट विष्णु पोखरेलले उम्मेदवारी दिए ।
नेविसंघले निर्धारित समयभित्र मनोनयनका लागि समयमै पुगे पनि आन्तरिक रुपमा उम्मेदवारको टुंगो नलाग्दा ढिला गरेर मनोनयन गरायो । उता, एमालेको अनेरास्ववियुसँग नेकपा एसको अनेरास्ववियूले गठबन्धन गर्ने गरि तयारी गर्दा कोषाध्यक्ष र दुई सदस्यको विषयमा कुरा नमिलेपछि एमालेको अनेरास्ववियुले आफ्नो उम्मेदवारी दर्ता गराएको हो ।
अनेरास्ववियुसँग कुरा नमिलेपछि एसको अनेरास्ववियूले अन्य ३ विद्यार्थी संगठन संग गठबन्धन गरेको छ । अनेरास्ववियू, अखिल (क्रान्तिकारी) वैद्य, अखिल (क्रान्तिकारी) बहुमत र अखिल (समाजवादी) ले संयुक्त उम्मेदवारी दिएको हो । अखिल (समजवादी) विप्लव समर्थित नेकपाको भातृ संगठन हो । त्यस्तै, नेकपा माओवादी केन्द्र घटक अखिल (क्रान्तिकारी)का एकजनाले पनि संयुक्त मोर्चाबाट चुनाव लड्दैछन् ।
संयुक्त मोर्चाबाट अनेरास्ववियूका सन्तोष पौडलले सभापतिमा मनोनयन दर्ता गरेका छन् । पौडेल विज्ञान (फिजिक्स)तर्फ चौथो वर्षका विद्यार्थी हुन् । अनेरास्ववियूका विद्यार्थी नेता एवं केन्द्रीय कमिटी महासचिव राजन शर्मा पराजुलीले पार्टी फरक भएपनि विद्यार्थी आन्दोलनको एजेण्डा एउटै भएको र वाम शक्तिबीच सकारात्मक सन्देश जानसक्ने सम्भावनालाई मध्येनजर गरेर अनेरास्ववियुसँग संयुक्त प्यानल बनाउन प्रयास गरेको बताए । यस अघि आदीवासी जनजाती अखिल क्रान्तिकारी बहुमतले संगठन दर्ता गराए पनि उम्मेदवारी दर्ता भने गराएन ।
नर्सिङमा नेविसंघ र अनेरास्ववियुको उम्मेदवारी
पोखरा १० मा रहेको पोखरा नर्सिङ क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दर्ता गराएका छन् । नेविसंघको तर्फबाट रचना पौडेलको नेतृत्वमा उम्मेदवारी दिइएको छ भने अनेरास्ववियुकोतर्फ बाट प्रतिभा भण्डारीको नेतृत्वमा उम्मेदवारी दर्ता गराइएको छ ।
इन्जिनियर क्याम्पसमा एक स्वतन्त्र, तीन संगठनको उम्मेदवारी
इन्जिनियर क्याम्पस लामाचौरमा तीन संगठनले उम्मेदवारी दर्ता गराएका छन् भने एक स्वतन्त्र दर्ता भएका छन् । अनेरास्ववियुबाट अध्यक्षका लागि अनुप न्यौपाने, अखिल क्रान्तिकारीबाट आदर्श महत क्षेत्री, नेविसंघबाट सौगात पण्डितले उम्मेदवारी दिए भने प्रकाश धामीले स्वतन्त्र उम्मेदवारी दिए ।
वन विज्ञानमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल
पोखरा १५ नयाँगाउँस्थित वन विज्ञान क्याम्पसमा नेविसंघले आफ्नो उम्मेदवारी दर्ता गराउँदा अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएको छ । नेविसंघका उत्तम हुमागाईको नेतृत्वमा उम्मेदवारी दिइएको छ भने , अनेरास्ववियु र अखिल क्रान्तिकारी अभिषेक शर्माको उम्मेदवारी रहेको छ । शर्मा अनेरास्ववियुका हुन् । वन क्याम्पसमा अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्ष, र दुई सदस्य लिएको छ भने, अखिल क्रान्तिकारीले सचिवसहित तीन सदस्य लिएको छ ।
जनप्रियमा संयुक्त छलफल जारी
जनप्रिय क्याम्पसमा भने मतदाता नामावलीमा नाम नभएका विद्यार्थीहरुले ताला लगाएका हुन् । निर्वाचन समितिका सदस्य एक नारायण अर्यालले उम्मेदवारको मनोनयनका विषयमा छलफल चलिरहेको र मनोनयन बुधबार विहानसम्म टुंगो लाग्ने बताए । ‘
यहाँ तालाबन्दी भएको छ, भने उम्मेदवारी दर्ताका लागि छलफल पनि चलिरहेको छ । विद्यार्थी मतदाता नाम नभएका विद्यार्थीहरुले नियम प्रक्रियामा नभएको भन्दै ताला लगाए,’ उनले भने । स्ववियु निर्वाचन अन्तरगत आज उम्मेदवारको मनोनयन दाखिला गरिनेछ । २८ गते दुवैतर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने र त्यसउपर छलफलसंगै अन्तिम नामावली प्रकाशन गरिनेछ । २९ गते उम्मेदवारको नामावली फिर्ता लिने मिति तोकिएको छ भने चैत ५ गते मतदान हुनेछ ।





