बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

१६ वर्षपछि हुँदैछ पिएनमा चुनाव

१६ वर्षपछि हुँदैछ पिएनमा चुनाव

संगठन नभइ क्याम्पस नै हारेको उम्मेदवारहरुको एक स्वर


  • विजय नेपाली
  • फाल्गुन २९ २०८१, बिहिबार

पोखरा/यतिबेला त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंगिक तथा सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा छ । निर्वाचनका लागि उम्मेदवारी घोषणा तथा दाबी विरोधका प्रक्रिया समेत सकिएका छन । कतिपय क्याम्पसहरुमा त निर्विरोध भइसकेका छन् । आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । स्ववियु निर्वाचन पोखराका ६ वटा क्याम्पसहरुमा हुँदैछन् । ६ वटामध्ये पाँच वटा त्रिविका आंगिक क्याम्पस हुन भने एक वटा छुट्टै विश्वविद्यालय हो । यि मध्ये चर्चामा भने देशकै ठूलो आंगिक क्याम्पसको रुपमा रहेको पृथ्वीनारायण क्याम्पस (पिएन) हो । पिएन क्याम्पसबाट जो स्ववियु निर्वाचनमा विजयी हुन्छन ति देशकै नेतृत्वतहमा पुगेका छन् । तर, विगत १६ वर्षदेखि भने पिएन क्याम्पसमा स्ववियु निर्वाचन हुन सकिरहेको छैन । विभिन्न राजनैतिक विवाद तथा अस्थिरताका कारण स्ववियु निर्वाचन हुन सकिरहेको छैन् । पोखराका अन्य क्याम्पसमा निरन्तर स्ववियु निर्वाचन हुने गरेपनि पिएनमा भने विभिन्न कारणले निर्वाचन हुनै सकेको छैन । २०७९ सालमा पनि पोखराका अन्य क्याम्पसमा निर्वाचन हुँदा पिएनमा हुन सकेन तर, यस पटक भने उम्मेदवारी घोषणादेखि दाबि विरोधको मितिसम्म पनि कुनै विवाद देखिएको छैन । तथापि पिएनमा कतै निर्वाचन नहुने त होइन भन्ने अन्योलता भने यथावत नै छ । पिएनमा दुई स्वतन्त्र र विभिन्न ६ संघ÷संगठनबाट उम्मेदवारी दिएका छन् । यसपटक जति पनि उम्मेदवारी दिएका छन् उनीहरु सबै निर्वाचन गराउने पक्षमा रहेका छन् । स्ववियु निर्वाचन हुन नसक्दा क्याम्पसमा निकै समस्याहरु आइपरेका छन् । विद्यार्थीका मुद्धाहरु समेत दबिदैँ आइरहेका छन् । १६ वर्षसम्म पनि निर्वाचन नहुनुमा विद्यार्थी संगठनहरुको हार भइरहेको देखिएको छ । संघ÷ संगठनदेखि स्वतन्त्र उम्मेदवारी दिएकाहरुको दुई कुरामा भने एक मत भएको देखिन्छ । हरेक उम्मेदवार १६ वर्षपछि निर्वाचन गराउने पक्षमा रहेका छन् भने उनीहरु क्याम्पसलाई प्रविधिमैत्री बनाउने पक्षमा समेत रहेका छन् ।
स्ववियु निर्वाचनका लागि नेविसंघकोतर्फ बाट अध्यक्षको उम्मेदवारी दिएका शुसिल न्यौपानेले यस पटक निर्वाचन हुनेमा आफु विश्वस्त रहेको सुनाउछन् । स्ववियु निर्वाचन नहुँदा क्याम्पस प्रशासन गैरजिम्मेवारी हुँदै आइरहेको उनी बताउछन् । यसपटक सबै संघ÷संगठन निर्वाचन गराउने पक्षमा रहेको उनी सुनाउछन् । ‘स्ववियुको निर्वाचन गराउन प्रशासन नै सकरात्मक हुनुपर्छ अहिले प्रशासनले कुनै पनि त्रुटि गरेको कतै पाइदैन प्रशासन (निर्वाचन समिति) एकदमै जिम्मेवार ढंगले लागि परेको छ । विद्यार्थी संगठनपनि तात्तिएका छन्’ उनले भने, ‘विद्यार्थीका लागि पनि जित्नुपर्नेछ । लामो समयदेखि पिएनमा निर्वाचन हुन सकिरहेको थिएन । जसरी विद्यार्थीको माझमा क्याम्पस प्रस्तुत हुनुपर्ने हो निर्वाचन नभएकाले नै प्रशासन गैरजिम्मेवारी हुँदै आइरहेको छ यसलाई चिर्न अत्यावश्क छ ।’ । पिएनमा सरकारी र नीजि तरिकाको अध्यापन हुँदै आइरहँदा एकै शिक्षकले पढाउने विषयमा समेत शुल्कमा निकै फरक परेको छ । त्यसलाई समेत न्युनतम शुल्कमा पढाउनुपर्ने माग हुने उनको भनाइ छ । अको भनेको पुस्तकालयमा पर्याप्त पुस्तक नहुनु र स्वच्छ खानेपानीको अभाव रहेको छ । २२२ रोपनि जग्गा सरकारीकरण हुँदै गएकाले स्ववियु निर्वाचन अत्यावश्क रहेको उनले सुनाए । नेविसंघको प्रस्ताव नै त्यो २२२ रोपनि जग्गालाई खेल मैदान बनाउने उनले सुनाए ।
स्वतन्त्र उम्मेदवारी दिएकी विप्लवी न्यौपानेले पनि यस पटक स्ववियु निर्वाचन हुने बताउछिन् । उनले स्ववियु निर्वाचन नगराउन राजनैतिक दलका विद्यार्थी संगठन नै मुख्य जिम्मेवार भएको र आफु सद्यैँ शैक्षिक क्षेत्रमा दलिय भागबन्डाको अन्त्य गर्ने पक्षमा रहेकाले यस पटक अध्यक्षमा उम्मेदवारी दिएको सुनाइन् । उनले पनि क्याम्पसलाई डिजिटलाइज गर्नुपर्नेमा जोड दिइन् । ‘दलिय राजनिति र भागबन्डाका कारण पिएनको मात्रै नभइ समग्र देशकै शैक्षिक परिवेश विग्रिरहेको छ । यसको अन्त्य हुनुपर्नेछ । अहिले स्वतन्त्र उम्मेदवार चाहेका छन्’ उनले भनिन्, ‘मेरो आइडियोलिजीमा सहमत हुने विद्यार्थीहरुले मलाई निर्वाचित गराउनुहुन्छ भन्ने थाहा छ’ उनले भनिन् ।
उता अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवारी दिएका विष्णु पोखरेलले पनि यस पटक निर्वाचन हुने र निर्वाचन पश्चात क्याम्पसलाई प्रविधिमैत्री बनाउने सुनाए । ‘०६५ सालदेखि आजसम्म १६ वर्षपछि निर्वाचन हुँदैछ यो भन्दा अघि पनि प्रक्रियाहरु भएकै हुन् । हिजोका अस्वभाविक कुराहरुलाई आचारसंंहितालाई बलियो बनाएका छौं । आचारसंहिता कडाइका साथ पालना हुन्छ यस पटक कुनैपनि हालतमा स्ववियु निर्वाचन हुन्छ’ उनले भने, ‘विद्यार्थी संगठनहरु पनि १६ वर्षसम्म कुनै विद्यार्थी संगठनले जित्न नपाएर भन्दापनि पिएन क्याम्पसले हारेको हो भन्ने बुझेका छन् । संगठनले मात्र जित्ने कुरा होइन यो त पिएनले जित्ने कुरा हो भनेर सोचिरहेका छन् । यो समग्र प्रशासन, कर्मचारी र विद्यार्थीहरु पिएनलाई जिताउन कुनैपनि हालतमा स्ववियु निर्वाचन हुन्छ ।’
अखिल क्रान्तिकारीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका नविन अधिकारीले स्ववियु निर्वाचन नभएकै कारण पिएनको २२२ रोपनी जग्गा आज सरकारीकरण हुने स्थितिमा पुगेको सुनाए । स्ववियु निर्वाचन यसपटक हुने बताउँदै उनले सो जग्गा क्याम्पसकै नाममा ल्याउने र प्रविधिमैत्री क्याम्पस बनाउनेमा जोड दिए । ‘स्ववियु निर्वाचन नहुँदै गर्दा आज २२२ रोपनि जग्गा सरकारीकरण हुँदैछ । सरकारिकरण हुनुमा स्ववियु निर्वाचन नहुनु मुख्य हात हो । यहाँको सरकारभन्दा प्रशासनको गैरजिम्मेवार हुँदा समस्या परेको हो’ उनले भने, ‘१६ वर्ष निर्वाचन नहुनु दुखद् कुरा हो । यो निर्वाचन विद्यार्थीले जित्ने हो । यो जितले क्याम्पस प्रशासन डिजिटल प्रणालीमा जानेछ ।’ विभिन्न चार संगठनबाट संयुक्त उम्मेदवारी दिएका सन्तोष पौडेलले १६ वर्ष निर्वाचन नहुनु कुनै एक संगठनको नभइ समग्र विद्यार्थीकै हार भएको बताए । संयुक्त प्यानल ‘१६ वर्षदेखि निर्वाचन भएको छैन त्यो १६ वर्ष निर्वाचन नहुनु भनेको समग्र विद्यार्थीले हार्नु हो । किनभने विद्यार्थीका मुद्धा प्रशासनबाट ओझेलमा परिरहेका छन् । त्यसकारण ०८१ मा स्ववियु निर्वाचन गराएर सबै विद्यार्थाीको जितलाई सुनिश्चित गर्नुछ’ उनले भने । प्राज्ञिक विद्यार्थी परिषद्बाट उम्मेदवारी दिएका दिप्सन गुरुङले पनि १६ वर्षपछि निर्वाचन हुने र क्याम्पसमा दलिय भागबन्डाको अन्त्य हुने सुनाए । स्वतन्त्र उम्मेदवार कमल सुवेदीले यस पटक स्ववियु निर्वाचन हुने सुनाए । स्ववियु निर्वाचन नहुँदा आज लथालिङ अवस्थामा पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->