सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पत्रकार महासंघ र प्रेस चौतारीसँगका संस्मरण

पत्रकार महासंघ र प्रेस चौतारीसँगका संस्मरण


  • याम बहादुर थापा मगर
  • चैत्र ८ २०८१, शुक्रबार

आलेखको प्रारम्भ
मैले प्रारम्भीक अध्ययन गरेको विद्यालय भैरव माध्यमिक विद्यालय, भकुण्डे बागलुङमा गर्दा गाउँघरमा राजनीतिक गतिविधि नेकपा एमालेको बाक्लो रुपमा हुने गर्दथ्यो । कहिले अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन, कहिले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला अधिवेशन, प्रजातान्त्रीक राष्ट्रिय युवा सघ नेपालका भेला, जनसांस्कृतिक महासंघको भेला, एमाले पार्टीको भेला, अधिवेशन, आमसभा र रात्रीकालिन प्रशिक्षण हुने गर्दथ्यो । मलाई अहिले पनि यदा आइरहन्छ कि युवाहरु नियमित जम्मा भएर सयौ युवाहरुले भकुण्डे गाउँको सिमाना वरीपरी मार्चपास गरेको युवाहरुको लाइनहरुको याद आउँछ । भकुण्डेका लाल सेना भनेर तालिम गरेर युवालाई राजनैतिक प्रशिक्षण समेत लामो समयसम्म गराएका हुन्थे । छिमेकी गाउँहरु अमलाचौर, तित्याङ, रायडाँडा, रेश, मालिका, नारायणस्थान, कालिका जस्ता तत्कालिन गाउँ विकास समितिहरु एमाले पार्टीलाई सहयोग नैतिक र भौतिक बल सहयोग गर्न लाल सेना रुपी युवाहरु पार्टीको निर्देशन बमोजिम जान्थे । तर ममा राजनीतिक चेतना परिपक्क रुपमा भरिएको थिएन । हामीहरु कक्षा छ, सातमा अध्ययनरत थियौ । बागलुङ भकुण्डेमा नियमित रुपमा बाहिरका नयाँ र नौला मानिसहरु बाक्लो रुपमा आउथे । खुल्ला भाषणमा मुक्त कन्थले नेकपा एमालेको जनमत र जनताको खुब प्रसंशा गर्दथे । तर हामीलाई जनवर्गीय संगठनमा सहभागी हुन अवसर मिलेको थिएन । वि.स. २०४९ सालको चुनावमा पुरै भकुण्डे गाउँ विकास समितिमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवारले सम्पुर्ण सिटमा चुनाव जितेको थिए । भकुण्डे गाउँमा ज्ञानज्योति पुस्तकालय समेत स्थापना गरेर गाउँ भरिका युवाहरुले खुब किताब अध्ययन गर्ने गर्दथे । तर म भने सानो भर्खर सात आठ कक्षा अध्ययन गर्ने बालक भएकोले इमान्दार साक्षी बनेर अवलोकन गरेर हेर्ने बाहेक पुस्तकालयको पुस्तक अध्ययन गर्ने हिम्मत गरेन । तर मैले वि.स. २०५२ सालमा एस एल सी परिक्षा पास गरे पछि महेन्द्र बहुमुखी क्याम्पस बागलुङ हाल धवलागिरी बहुमुखी क्याम्पस भएको बागलुङ बजारमा आएपछि बल्ल ममा राजनीतिक चेतना पस्दै गयो । क्याम्पसमा सिप्ट अनुसार अनेरास्ववियुको प्रारम्भीक कमिटि गठन गरेर अखिलको राजनीतिमा समाहित हुन थाले । प्रविणता पास गरेपछि त झन स्नातक तहमा जिल्ला भरका विभिन्न विद्यालयहरुमा अनेरास्ववियुको कमिटि गठन गर्न पैदल यात्रा गरेर जाने योजना बुन्दै अगाडी बढन थाले । मैले त्यसै समयमा जिल्ला सदरमुकाममा प्रकाशित हुने दैनिक र साप्ताहिक पत्रपत्रिकाहरुमा कविता, समाचार,फिचरहरु लेख्न थालेको थिए ।

पत्रकारितामा लगाव र रुचि
मैले भैरव माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै दैनिकी लेख्ने अभ्यास गरेको थिए । विद्यालयमा साथीहरुसँग मिलेर गाउँले समाचार नाम भित्तेपत्रिका प्रकाशित गरेका थियौ । हवाई पत्रिकाहरुमा कविता, गजल, गित, लेख लेखेर हुलाक मार्फत पठाउने चलनमा पनि बाक्लो उपस्थिति रहेको थियो । जानकारीमा भएसम्मका धेरै जसो हवाई पत्रिकामा कविता,गित, गजल पठाउने क्रमसँगै भकुण्डेबाट नै हवाईपत्रिकाहरु प्रकाशन हुन थाले । ति हवाई पत्रिकाहरुमा समेत कविता, गितहरु लेख्न थाले । उच्च शिक्षा हासिल गर्ने क्याम्पसमा अतिरिक्त क्रियाकलापमा हुने कविता प्रतियोगितामा सहभागी हुन थाले । क्याम्पसमा प्रकाशन हुने भित्तपत्रिकाहरुमा कविता,गितहरु लेखेर दिए तर ति भित्तेपत्रिकाहरुमा मेरो कविता,गितहरु प्रकाशन भएनन । तर मैले जानी नजानी लेखेर कापीको पानामा लेखेर दिएको थियो । त्यसै समयमा बागलुङ बजारबाट न्यु धौलागिरी दैनिक प्रधान सम्पाद स्व. देवेन्द्र अधिकारी , सम्पादक शुभशंकर कडेल, प्रबन्धक सम्पादक दिपक थापा मगर भएको, धौलागिरी स्टार साप्ताहिक सम्पादक हरिनारायण गौतम, श्री सुर्य सात्ताहिक, बागलुङ सात्ताहिक, बागलुङपत्र साप्ताहिक, उषाकालीन साप्ताहिक, धौलाश्री साप्ताहिक प्रकाशन हुन थाले पछि मैले जानी नजानी कविता, विचारमुलक लेख र फिचर समाचार लेख्ने थाले । मेरो लेखन यात्राले जिल्ला भरका सबै पत्रपत्रिकाहरुमा समान महत्वका साथ स्थान पाउन थाले । मैले मेरो लेख,समाचार, फिचर समाचार, कविता, गित छापिएको पत्रिकाबाट मलाई धेरै अपरिचित मान्छेहरुले चिन्न थाले । जसले गर्दा मलाई स्वतन्त्र विद्यार्थी युनियनको चुनाव वि.स. २०५७ मा सचिव पदमा निर्वाचित हुन एकदम राम्रोसँग सहयोग गरयो । मलाई अखिलको राजनीतिमा अगाडी बढनको लागि नेतृत्व तहमा चुनिन अवरोध भएपछि मैले प्रेस चौतारी नेपाल बागलुङमा साधारण सदस्य बने । किनकी त्यस समयमा दुई तिन वटा समाचार,लेख,कविता प्रकाशन भएको पत्रिका साथ फाराम भरी पेश गरेपछि प्रेस चौतारी नेपाल र नेपाल पत्रकार महासंघ शाखा बागलुङमा आबद्ध हुन निवदेन दिए ।

प्रेस चौतारी नेपालमा आबद्धता
प्रेस चौतारी नेपालको स्थापना वि.स.२०५५ साल मसिर ०७ गते काठमाडौमा भएपनि साधारण सदस्य सुरुवातमा नै हात लागेपनि नेपाल पत्रकार महासंघ शाखाको पहिलो निवदेनमा महासंघको सदस्यता अस्वीकृत भयो । मैले पत्रकार महासंघको सदस्यता हात पार्न फेरी दुई तिन वर्ष कुर्नु पर्ने भयो । यता म प्रेस चौतारी नेपाल बागलुङको साधारण सदस्य, जिल्ला सचिव, जिल्ला उपाध्यक्ष भैसकेको थिए । त्यसै समयमा दोश्रो पटक मात्र नेपाल पत्रकार महासंंघ शाखा बागलुङमा आवेदन दिएपछि बल्ल साधारण सदस्य हुन सफल भएको थिए । फेरी प्रेस चौतारी नेपालको जिल्ला अधिवेशनबाट जिल्ला अधिवेशन भै मलाई अध्यक्षमा निर्वाचित गरेका थिए साथीहरुले । अनि प्रेस चौतारी नेपालको छैठौ राष्ट्रिय महाधिवेशन बुटवलमा मिति २०६६ माघ २२ र २३ गते भएको थियो । सो सम्मेलनबाट आदिवासी जनजातिको कोटाबाट निविरोध केन्द्रिय सदस्य भएको थिए । त्यस समयमा केन्द्रिय अध्यक्षमा गगन विष्ट र गणेश बस्नेत चुनावी मैदानमा लडेका थिए । चुनावमा अध्यक्ष पदमा गगन विष्टले जित्नु भएको थियो । त्यसै समयमा मलाई राष्ट्रिय समाचार समिति धौलागिरी अन्चल कार्यालय बागलुङको संयोजक पदमा कामकाज गर्ने अवसर प्राप्त भएको थियो । प्रेस चौतारी नेपालको केन्द्रिय समितिको बैठकमा भाग लिन भक्तपुरको पर्यटकीय स्थल नगरकोट, पश्चिमको नेपालगंजमा केन्द्रिय समितिको बैठकमा भाग लिन जाने र भ्रमण गर्ने अवसर मिलेको थियो । प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा पुरा कार्यकाल बिताउन नपाउदै म निजामति सेवाको खरिदार पदमा प्रवेश गरेपछि प्रेस चौतारी नेपालको आवद्धतामा अवरोध पुग्यो । हालसम्म पनि म नियमति वर्षैपिच्छे प्रेस चौतारीको साधारण सदस्यता नबिकरण गरेको छु । गत विगतमा एक कार्यकाल प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको सल्लाहकार पदमा मनोनित भएको थिए । प्रेस चौतारीमा आवद्धता भएका कारण र प्रशिक्षण लिई पाएको शिप र अनुभवले आजकल समेत फुर्सदको समयमा लेख, विचार, कविता, अनुसन्धानमुलक शोध पत्रहरु लेख्ने बानीमा निरन्तरता आएको छ । विगतका सस्मरणहरु, अनुभुतिहरु र यात्रा सस्मरणहरुले मेरो सृजनात्मकता, पठन सस्कृति, अध्ययन अनुसन्धान गर्ने बानीमा थप अगाडीका पाइलाहरु बढाउनमा सहयोग पुगेको छ । नेपाली प्रकाशनको दुनियाँमा बजारमा आउने नयाँ नयाँ लेखक पुस्तकहरुको सुचिबाट रुचि अनुसार खोजी खोजी अध्ययन गर्ने र अध्ययन गरेका पुस्तकहरुका बारेमा टिपोट,लेख, अनुभुति, समिक्षा, समालोचना लेख्ने अभ्यासलाई उत्प्रेरणा मिलेको छ । भोलिका दिनहंरुमा सिकाइको क्रममा लेखिएका रचनाहरु र आगामी दिनहरुमा लेखिने सामाग्रीहरुलाई विधागत रुपमा संकलन गरेर तिन, चार वटा किताबहरुका सामाग्रीहरु तयार भएको वर्तमान अवस्था छ ।

पत्रकार महासंघ बागलुङमा प्रवेश
नेपाल पत्रकार महासंघ शाखा बागलुङको दोश्रो प्रयासमा साधारण सदस्य प्राप्त गरेपछि महासंघको नियमित क्रियाकलापहरुमा सक्रिय रुपमा भाग लिई रहेको थिए । त्यसै क्रममा पत्रकार महासंघको जिल्ला अधिवेशनबाट दुई कार्यकाल केन्द्रिय प्रतिनिधि चुनिने मौका मिल्यो । एक पटक नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशनमा काठमाडौ र नेपालगंज बाँकेमा सहभागी हुने मौका मिल्यो । नेपालका राष्ट्रपति, प्रधानमन्त्रीहरु प्रमुख अतिथि भएको कार्यक्रमहरुमा सहभागी हुने मौका मिल्यो । क्षमता अभिवृद्धि हुने पत्रकारीता तालिम लगायत मानवअधिकार, वकालत, बहस, पैरवी, खोज पत्रकारीता, महिला, दलित,अपाङता, समावेशी पत्रकारीताको समाचार लेखनका विषयमा विभिन्न मिति र स्थानमा भएका तालिम, गोष्ठी, अन्तक्र्रियाहरुमा सहभागी हुने अवसर मिल्यो । ति तालिममा सहभागीका कारण ममा भएको अनभिज्ञता र अस्पष्टतालाई चिर्दै पुर्णता दिने काम भयो । कतिपय विषयवस्तु स्वअध्ययन र खोज शोध अध्ययनका क्रममा सुस्पष्ट हुने अवस्थाको सृजना भएको थियो ।

नेपाल पत्रकार महासंघ बागलुङले स्थापना गरेको सुचना प्रविधि युक्त सुचना केन्द्र तथा पुस्तकालयलाई मैले फुर्सदको समयमा उपयोग गर्ने अवस्था बनेको छ । नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माण अभियानमा शिलालेखमा नाम लेख्ने गरी पाँच हजार रुपियाँ मात्र रकम सहयोग गर्ने काम गरेको छु । पत्रकार महासंघको भवनमा भएको पुस्तकालयहरु रुचि अनुसार अध्ययन पुरा गर्न सकेमा पक्कै पत्रकारहरुको क्षमता,शिपमा अभिवृद्धि हुने नै छ । सो पुस्तकालयमा आगामी दिनहरुमा थप पुस्तकालयहरु सकलन, अझै समसायिक व्यवस्थापन गरेर व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको छ । सुचना प्रविधियुक्त सुचना केन्द्रलाई थप समसायिक सामाग्रीहरुले परिमार्जन गर्नुपर्ने छ । पत्रकार महासंघको साधारण सदस्य दिर्घकाल सम्म रहने मेरो चाहना थियो । मैले निजामति सेवा प्रवेश गरेपनि ममा वृत्ति र व्यक्तित्व विकासमा योगदान गरेको पत्रकारीताको क्षेत्रमा आवद्ध सस्थाको आजिवन रुपमा सदस्य भै रहने चाहना थियो । तर नेपाल पत्रकार महासंघ केन्द्रिय समिति वार्षिक साधारण सभाले निजामति सेवामा भएका कर्मचारीलाई पत्रकार महासंघको साधारण सदस्य नविकरण नगर्ने र नयाँ सदस्य निजामति सेवामा प्रवेश गरेका महानुभावहरुलाई नगराउने कार्यविधि पास गरेपछि म पत्रकार महासंघबाट अलग हुन पुगे । ममा लेखन शिपमा निख्रता ल्याउने, नियमित नयाँ नयाँ विषयवस्तुमा लेखन कार्य गर्न भोक जगाउने कार्यमा निरन्रता पाएको छ ।

तत्कालीन समयमा न्यु धौलागिरी दैनिक बागलुङले संचालन गरेको तिने पत्रकारीता लेखनमा समाचार लेखन तालिमले मलाई बहुत उर्जा र परिपक्ता भरेको थियो । त्यस समयका प्रशिक्षक न्यु धौलागिरी दैनिक सम्पादक शुभ शंकर कडेल, सम्पादक दिपक थापा मगर (कान्तिपुर दैनिकको बागलुङका समाचारदाता ) ले पत्रकारीता प्रतिको मोह बढाएको थियो । त्यसै गरी धौलागिरी एफ.एम. ९८.६ मेघाहर्ज सचालन गर्नुपुर्वक १५ दिने रेडियो पत्रकारीताका बारेमा तालिममा प्राप्त गरेको ज्ञानले मलाई लेखन यात्रामा निरन्तर लागी रहन प्रेरणा मिलेको छ । अहिले म पत्रकार महासंघको साधारण सदस्य नभएपनि फुर्सदको समय व्यवस्थापन भएमा पत्रकार महासंघ लगायत प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सेन्टर, प्रगतीशिल पत्रकार संघ लगायतका कार्यक्रमहरुमा औपचारिक तथा अनौपचारिक तरिकाले सहभागी हुन्छु । ताकी मलाई कार्यक्रममा सहभागी हुँदा पाउने ज्ञान, शिक्षा र शिप म निष्क्रिय हुँदा पाउदिन भन्ने छ । मलाई विषयवस्तुले गहिरोसँग छोएर मनमाा सोध खोज र अनुसन्धान गरेर लेख लेखेर बागलुङ बजारलाई आधार बनाएर प्रकाशित अनलाइनहरु र छापा दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरुमा नियमति जस्तो श्रृङखलाबद्ध रुपमा क्रियाशिल पत्रकारहरुले जस्तै हाल पनि लेख्दै आएको छु । अहिलेसम्म मैले समाचार लेखे, फिचर लेखे र पछिल्लो समयमा लेख तथा विचारमुलक लेख लेखेको न्युनतम पारिश्रमिक शुल्क हात परेको अवस्था छैन । पत्रकारहरुको सदावहार माग भनेको न्युनतम पारिश्रमिक लागु भएको हुनु पर्ने विषय जहिले पनि उठदछ । मैले अहिलेसम्म लेखकले पाउने शुल्क नपाएका मजस्ता धेरै लेखकहरु होलान भन्ने लाग्दछ । अब मैले लेख लेखेर पत्रिकामा प्रकाशित भएपछि पारिश्रमिक पाउने मिडिया हाउसमा लेख लेख्ने योजना बनेको छ । राष्ट्रिय स्तरका बहुप्रचारित अनलाइन र्पोटलहरु समेत विना पारिश्रमिक लेख, समाचार प्रकाशन गर्ने लहरमा चलेको अवस्था अनुभुति भएको छ । आगामी दिनहरुमा मलाई थप स्वअध्ययन गरेर विकृति र विसंगतीमा नलाग्नका लागी मद्धत गरेको छ मलाई स्वअध्ययन र लेखन कलाले । बागलुङ बजारमा रहेको नेपालकै पुरानो पुस्तकालय वि.स. २००३ सालमा स्थापित विद्यामन्दिर पुस्तकालयमा नियमित जाने र अध्ययन गर्ने नियमित पाठक बन्नमा प्रेरणा मिलेको छ । पुस्तकालयको आजिवन सदस्य बनेर नयाँ नयाँ पुस्तकहरु स्वअध्ययन गर्ने बानीमा निरन्तरताख आगामी दिनमा गर्ने हौसला मिलेको छ । बुढौलीको एक्लोपन व्यवस्थापन गर्नका लागि पत्रकारीता पेशामा आवद्ध हुँदा सिकेका ज्ञान र शिपहरु दैनिक कार्यशैलीमा प्रयोग भएको छ ।

पत्रकारिताबाट निजामति सेवामा प्रवेश
मैले स्नातकोत्तर तह समाजशास्त्र/मानवशास्त्रमा अध्ययन शुरु गरे । तर अध्ययनको क्रममा मलाई निजामति सेवामा प्रवेश गर्ने कौतुहलता बढे र उत्प्रेरणा अभिभावकबाट पछि मैले स्नातकोत्तर तह प्राइभेट स्तरबाट पहिला राजनीति शास्त्रमा पास गरे । त्यसपछि एल एल वि समेत अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएपछि पृथ्वीनारायण क्याम्पस पोखरामा भर्ना भए । तर म तमानखोला गाउँपालिका बागलुङमा कार्यरत रहेकोले आवतजावत गर्न टाढा भएकोले एल एल वि पुरा भएन । त्यसपछि एमपिए जनप्रशासनमा प्राइभेट परिक्षा दिएर पास भए । खरिदार, सुब्बा, शाखा अधिकृतको परिक्षा निरन्तर दिए पनि खुल्ला प्रतिस्पर्धामा शाखा अधिकृतको परिक्षा पास हुन सकेनन । समय बित्दै जादा अहिले मलाई फेरी एम.ए. समाजशास्त्र मानवशास्त्र विषयमा आंशिक मौका परिक्षा दिएर पास गर्ने अवसर आएको छ । लोक सेवा आयोगको उप सचिव÷सहसचिवको खुल्ला तर्फको परिक्षा दिएर सफलता हात पार्ने बुढयौलीमा जोश बढेको छ । आजिवन सिकाइ र अध्ययन गर्नुपर्ने पारीवारीक वातावरण बनाउनु सफल व्यक्तिको जीवनमा अनिवार्य हुन्छ । त्यसैले म अहिले निजामति सेवामा प्रवेश गरेर जीवनयापन गरेपनि पत्रकारीता मिडियाका दैनिक सामाग्रीहरु प्रयोग गरेर देश विदेशका बारेमा अपडेट भएको छु । उच्च प्रशासनिक पदहरु हासिल गर्नको लागी स्वअध्ययन अपरीहार्य रहेको छ । मेरो छोरी रुयासा थापा मगर वि वि एस तेश्रो वर्षमा अध्ययनरत र छोरा हिम्मत थापा मगरले अहिले एसईई परिक्षा दिने समयमा असल अभिभावकको हिसाबले खेल्नु पर्ने भुमिका बारेमा मैले सैद्धान्तिक भन्दा व्यवहारिक रुपले दैनिक घरमा लागु गरेर छोरा छोरीहरुलाई शिक्षा प्रदान गरेको छु ।

वर्तमान समयमा पत्रकारीताको चुनौती
विश्वसनीयता, सन्तुलित यथार्थतामा आधारित भएर गर्ने पत्रकारीता अहिले एक पत्रकार एक अनलाईन हुँदै व्यक्ति केन्द्रित पोष्टकाडमा पुगेको छ । सामाजिक सञ्जाल युक्त पत्रकारिता हावादारी तरिकाले हुन पुगेको छ । भाइरल हुनका लागि पत्रकारिताका सुत्र, नियम, विधि र निर्देशिका पालन गर्न नपर्ने साथै पत्रकारीता आचारसंहितायुक्त शर्तलाई तिलाञ्जली दिने प्रचलन सुरुवात भएको पाइन्छ । फेक समाचार र अफवाह, फेक न्युजको शिकार अहिले शिक्षित समुदाय बहुत छ । पत्रकारिता मार्फत सामाजिक समानता वकालत हुन छाडेको छ । मिडियाका बारेमा शिक्षा र प्रशिक्षण, मिडिया साक्षरता, जनचेतना जगाउन कम साधन र स्रोतको अभावमा वेतुक बनेको छ । डिजिटल र सामाजिक मिडिया प्लेटफर्म फेसबुक, टविटर, इन्स्टाग्राम, युटयुब आदिको प्रभाव बढदो छ । पत्रकारितामा साँचो र निष्पक्षताको चुनौती, सुचना स्रोतको गोपनीयता र सुरक्षामा दबाबको सामना व्यहोर्ने गरेको पाइन्छ । मिडिया भेदभाव र विविधताको आवाज बुलन्द गर्ने मिडिया कम रहेको छ । समाजको चेतनालाई जागृत राख्न र दीनदुनियाँ सम्बन्धी अपडेट सहित जानकारी निरन्तर जारी गर्नुपर्ने छ । पत्रकारीताले स्वतन्त्र मिडिया हाउसको स्थापना गर्नमा अभ्यास गराउनु पर्दछ । डिजिटल पत्रकारितामा लगानी सहकारी तरिकाले दिगो आर्थिक मोडेलमा विकास गर्नुपर्ने छ । अनुसन्धानात्मक पत्रकारिता, कृत्रिम बौद्धिकताको बढदो प्रयोगले पत्रकारीतालाई नयाँ नयाँ चुनौती सामना गर्नुपर्ने भएको छ । अहिले पत्रकारितालाई भजनकारिता, पार्टीकारिता र पितकारिताको आरोपलाई सत्य र तथ्यका आधारमा चिर्नु पर्ने तड्कारो आवश्यकता छ । पत्रकारिता व्यवसायिक हुनुपर्ने शर्तमा विना पारिश्रमिक पत्रकार, लेखकहरुले कतिन्जेल लेख्ने भन्ने विषयमा खोजमुलक, विश्लेषणात्मक र डेप्थ समाचारका हिसाबले प्राथमिकतामा राखेर मुल्य, मान्यता र उपलब्धी सहितको लेखन अभ्यास हुनुपर्छ ।

अन्तमा
मानिसको जिन्दगीमा उतारचढाव आउनु नियति नै हो । हरेक मानिसहरुको जिन्दगीहरु सविस्तार अनुभुति र संस्मरणहरु संकलन र बोल्ने मौका दिने हो भने शक्तिबद्र्धक ज्ञानरुपी अनुभवहरु समाजको उत्थानका लागि शिक्षा पथप्रदर्शक बन्दछन् । त्यसैले मैले प्रेस चाँैतारी नेपाल र नेपाल पत्रकार महासंघ बागलुङमा आवद्ध हुनुभन्दा अगाडी र भैसकेपछिका अनुभुतिहरु टिपोट गरेर आलेख लेख्ने काम भएको छ । इतिहासका पानाहरुमा ओझेलमा परेका विषयवस्तुलाई उजागर गरेर भावी पुस्तालाई पुस्तान्तरण गर्ने दायित्व वर्तमान पुस्ताको हुन जान्छ । हरेक मानिसका परिघटनाहरु जस्तै मैले अहिलेको डिजिटल मिडियाको युगमा नयाँ मिडिया जनशक्तिहरुको लगाव र रुचि नभएको अवस्थामा कसरी पत्रकारिताको महत्व दर्शाउन सकिन्छ भन्ने हिसाबले प्रस्तुत लेखिएको हो । पक्कै पनि पृष्ठपोषण, शोध खोज, अनुसन्धान र केही मात्रामा भएपनि जिज्ञासु बनाउने प्रयास मात्र हो । पठनशिल, अध्ययनशील र निरन्तर रुपमा गर्नु नै हर पत्रकारको पहिलो दायित्व भित्र पर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->