बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी विश्वविद्यालयको कुलपतिमा तीन जनाको नाम सिफारिस, को को परे ?

गण्डकी विश्वविद्यालयको कुलपतिमा तीन जनाको नाम सिफारिस, को को परे ?


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८१, बिहिबार

पोखरा/ गण्डकी विश्वविद्यालयको कुलपतिका लागि आवेदन स्वीकृत भएकामध्येबाट ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष विहीबार सिफारिश गरिएको छ । विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्रा.डा. कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घलेले मुख्यमन्त्री पाण्डेलाई ३ जनाको नाम समावेश गरिएको बन्द खाम हस्तान्तरण गरेका हुन् ।

स्रोतहरुका अनुसार तीन जनामा प्रा.डा. इन्द्रप्रसाद तिवारी, प्रा.डा. विश्वकल्याण पराजुली र प्रा.डा. सरोज कोइरालाको नाम सिफारिसमा परेका छन् । तीमध्ये १ जनालाई प्रदेश मन्त्रीपरिषद्को बैठकले कुलपति नियुक्त गर्नेछ । पोखराको लेखनाथका तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डीन हुन् । उनीसँग देशविदेशमा रहेर विभिन्न दातृ निकायहरुमा काम गरेको अनुभव पनि छ । यसैगरी पोखराको बगरका पराजुली पृथ्वीनारायाण क्याम्पस पोखरामा समाजशास्त्र तथा मानवशास्त्रको पूर्व विभागीय प्रमुख हुन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य रहिसकेका पराजुली शैक्षिक र अनुसन्धानात्मक गतिविधिमा क्रियाशील छन् । पोखराकै कोइराला पृथ्वीनारायण क्याम्पसका निवर्तमान प्रमुख हुन् । अंग्रेजी साहित्यमा विद्यावारिधि कोइराला यसअघि पोखरा विश्वविद्यालयको उपकुलपतिको प्रतिस्पर्धामा समेत सामेल थिए ।

कुलपतिका लागि ७ जनाले आवेदन दिएको भए पनि प्रा.डा. कुसुमाकर न्यौपाने र प्रा.डा. नवराज देवकोटासहित ५ जनाको नाम स्वीकृत भएको थियो । देवकोटा गण्डकी विश्वविद्यालयकै बहालवाला उपकुलपति हुन् । फागुन ४ मा कुलपति प्रा.डा. गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो । १५ दिनको अवधि राखेर सूचना प्रकाशन गरिएकामा ७ जनाको आवेदन परेको थियो । २ जनाको आवेदन अस्वीकृत भएको थियो । गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो ।

अन्य विश्वविद्यालयम प्रधानमन्त्री वा मुख्यमन्त्री कुलपति रहने प्रावधान रहेकामा नेपालमै पहिलोपट यस विश्वविद्यालयमा न्यासिक परिषदको व्यवस्था गरी कुलपति नियुक्ति गर्ने व्यवस्था गरिएको हो । विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी), ब्याचलर अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचलर अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) पढाइ हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->