बागलुङ/कतिपय पूर्वाधारका योजना तोकेको समय सकिँदा आधा पनि निर्माण नभएर पटक पटक म्याद थपिएका छन् । तर बागलुङको तीनवटा सडकको संयुक्त योजना भने तोकेको समय अगाडि सकिने गरी काम भएको छ ।
असार मसन्तको म्याद भएपनि चालु वर्षको जेठ मसान्त भित्रै सक्ने गरी यहाँका तीन सडक निर्माण भैरहेको छ । बागलुङ नगरपालिका वडा नंं १ को गणेशघुम्तीदेखि निरयघाट, वड नंं ४ को ओडारचौरदेखि ढोडेनी र बानपा ७ को मुलपानीदेखि तितौरे सम्मको सडकको स्ट्रक्चर तर्फको सबै काम सकिएको हो । गत साउनदेखि काम थालेको निर्माण कम्पनीले वडा नंं १ का चैतभित्रै, वडा नंं ४ मा बैसाख भित्रै र वडा नंं ७ मा जेठभित्रै काम सक्ने लक्ष्य बनाएको इन्जिनियर मनोज शर्माले बताए ।
बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्ने गरी वडा नंं ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौर देखि ढोडेनीसम्मको साँढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी सडक निर्मण गरिरहेको हो ।
विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४५ करोडमा उक्त सडक निर्माण गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । यो पटक भने आशिष फेवा संयुक्त निर्माण कंपनीले तोकेकै समयमा काम सक्ने लक्ष्य बनाएको हो । सडक निर्माणले अहिले सम्म ५० प्रतिशत प्रगती भएको शर्माको दावी छ । ‘हामीले स्ट्रक्चरको काम सकेका छौं, कतिपय स्थानमा सब बेस पनि बिच्छ्याई सक्यौँ,’ शर्माले भने, ‘अब चैत मसान्तमै नियरघाटतर्फको सडक कालोपत्रे हुनेछ ।’
असार मसान्तभित्रै काम सक्न कंपनीले रातीमा समेत काम गरिरहेको छ । ‘समयमा काम सक्न खोज्दा केही स्थानमा धुलोको समस्याले स्थानीयलाई असर परेको थियो, अहिले त नियमित पानी समेत राखेर धुलो रोकेका छौँ,’ उनले भने, ‘केही समय गिटी बालुवा झिक्ने काममा पनि प्रहरी प्रशासनले रोक लगायो ।’ समन्वयपछि अत्यावस्यक सामाग्री उत्खनन् नियमित गरेपछिमात्र कामले गति लिएको हो । अझै पनि केही प्राविधिक काममा असर नपरे समयमा काम सकेर सडक हस्तान्तरण गर्ने योजना उनले सुनाए ।
यी सडक निर्माण भएमा ग्रामीण बस्तीका किसानले उत्पादन गर्ने दूध र तरकारीको बजारीकरणमा सबैभन्दा सहज हुनेछ । त्यस बाहेक बागलुङका अधिकांस नागरिकको मृत्युपछिको दाहसंस्कार गर्ने कममा पनि सहज सडक बन्नेछ । निरयघाट जाने सडक सहज भएमा वृद्धाश्रम, निर्माणाधीन मानवसेवा आश्रम समेतलाई सहज हुनेछ ।
यी तीनवटै सडकहरु ६ देखि ८ मीटर चौडाका हुनेछन् । बैंकले नेपालभर १७ वटा नगरपालिकामा सहरी शासकीय सुधार तथा पूर्वाधार बिकास कार्यक्रममा सहयोग गरेकोमा बागलुङमा पनि काम भएको हो । यस अघि बैंककै सहयोगमा बागलुङको वडा नंं ४ देखि ६ सम्मको झण्डै ७ किमी सडक कालोपत्रे भैसकेको छ । उक्त सडकले नगरको चक्रपथ निर्माणमा सहयोग पुगेको छ ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले नगरसभाले प्राथमिकीकरण गरेका १, २ र ३ नम्बरका सडकमा उक्त लगानी भएको बताए । ‘जनताको हितकालागि काम गरेको हो, त्यसैले समयमा सक्नका लागि पहल भएको छ,’ श्रेष्ठले भने, ‘यो सडक समयमा सकिंदा अन्य परियोजना ल्याउन पनि सहज हुनेछ ।’





