सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ कालिका मन्दिरमा भक्तजनको घुईँचो

बागलुङ कालिका मन्दिरमा भक्तजनको घुईँचो


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८१, शनिबार

बागलुङ/चैतेदसैंको मुख्य दिन आज शनिबार देशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चैतेदसैंको मुख्य दिन नवरात्रमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, भैरहवा र चितवन लगायत देशका विभिन्न भागबाट आएका भक्तजनले कालिका मन्दिर परिसर बिहानैदेखि भरिभराउ भएको हो ।

चैतेदसैंका अवसरमा कालिका मन्दिर परिसर दुलहीझैँ सिँगारिएको छ । कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो संख््यामा प्रहरी र स्वयम्सेवक परिचालन गरिएको छ । चैतेदसैं सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढेपनि नवरात्रको दिन बिहान तीन बजेदेखिनै दर्शनार्थीको लाइन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

‘चैतेदसैं सुरु भएसँगै दर्शनार्थीको चाप बढेको थियो, आज मुख्यदिन दर्शनार्थीको निकै चाप छ, दर्शनार्थीलाई सहज रुपमा पूजा गर्ने वातावरण मिलाउन सुरक्षाकर्मीसंगै स्वयंसेवक परिचालन गरिएको छ’, गुठीका अध्यक्ष खड्काले भने, ‘पछिल्लो समय भईरहेको प्रचार प्रसारका कारण देशका विभिन्न भाग र भारतबाट दर्शनार्थी मन्दिर आउने गरेका छन् ।’

चैतेदशैको प्रतिपदादेखि राम नवमीसम्म पाँच लाख भक्तजनले कालिका मन्दिरको दर्शन गर्ने गुठीको अनुमान छ । कालीका मन्दिरमा आएका भक्तजनलाई चैतेदशंैको अवसरमा खिरको प्रसाद खाने व्यवस्था पनि छ । चैतेदशैमा गाउगाउँ र विभिन्न जिल्लाबाट आउने भक्तजनको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको व्यवस्था गरेको छ ।

मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म पुगेकाले पोखरा–बागलुङ राजमार्गमा जाम हुन थालेको छ । बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको चाप बढेको खड्काको भनाई थियो । मन्दिर क्षेत्रमा भीडभाड भएसँगै प्रहरीले सुरक्षा समेत बढाएको छ । मन्दिरमा बोका, राँगो, कुखुराको बलि चढाइनुका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । मन्दिरमा वडादसैं र चैतेदसैंको नवरात्रमा ठूलो भीड लाग्ने गर्दछ ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको पाइन्छ । अहिलेसम्म बागलुङ कालिकाबारे तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् । मन्दिरको भित्तामा १४ वटा विभिन्न शक्तिका मूर्ति कुँदिएका छन् । १ सय ८ तामाका दियो जडित प्यागोडा शैलीको मन्दिरमा तामाकै छानाले छाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->