बागलुङ/नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिका लागि शनिबार उच्च अदालत बागलुङमा रहेको मतदान केन्द्रमा शान्तिपुर्ण मतदान सम्पन्न भएको छ । बागलुङ मतदान केन्द्रमा १ सय ३ जना मतदाता रहेकोमा ८५ मत खसेको उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्काले जानकारी दिए ।
हरेक तीन वर्षमा हुने बारको अधिवेसनका लागि वृहत लोकतान्त्रिक, प्रगतीशिल, पेशागत, राष्ट्रवादी एवम् समावेशी कानून व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ता प्रा. विजयप्रसाद मिश्र र व्यवसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ अध्यक्षका लागि चुनावी मैदानमा छन् । त्यस बाहेक तीन जना स्वतन्त्र उमेदवार समत चुनावी मैदानमा छन् । बार अध्यक्षका लािग अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलले पनि उमेदवारी दिएका हुन् ।
बारको २५ सदस्यीय कार्यसमितिका लागि ५७ जना प्रतिष्पर्धामा छन् । मिश्रको समूहबाट महासचिवमा केदारप्रसाद कोइराला र श्रेष्ठको समूहबाट यज्ञमणी न्यौपाने उमेदवार रहेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बताए ।
निर्वाचनमार्फत नेपाल बारका ९ हजार ९ सय ५७ मतदाताले नयाँ समिति चयन गर्ने छन् । तीमध्ये ६ हजार बढी मतदाता सर्वोच्च बारमा मात्रै छन् । सबै मत केन्द्रमा लगेर गनिने भएकोले परिणाम आउन केही दिन लाग्ने बताइएको छ ।





