सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पाँच इन्द्रिय र एआई यन्त्र

पाँच इन्द्रिय र एआई यन्त्र


  • शिवप्रसाद पाण्डे
  • चैत्र २४ २०८१, आइतबार

मानव अस्तित्वको जग निर्माण गर्ने आधारहरूमा ज्ञान इन्द्रियहरूको विशेष महत्व छ – जिब्रो, कान, छाला, नाक र आँखा । यिनै इन्द्रियहरूले हामीलाई संसारसँग जोड्ने काम गर्छन् । हामी सुन्छौं, हेर्छौं, सुँघ्छौं, स्पर्श गर्छौं, स्वाद लिन्छौं – र त्यही अनुभूतिको आधारमा संसारबारे बुझाइ बनाउँछौं । हाम्रो जीवनको चेतनात्मक यात्रा यिनै इन्द्रियहरूबाट सुरु हुन्छ । यिनै इन्द्रियहरूको अनुभवले मानिसलाई मानव बनाएको हो ।

यी पाँच इन्द्रियहरूलाई शरीरका अन्य अङ्गहरू जस्तै किन ‘अङ्ग’ भनिएको छैन भन्ने प्रश्न उठ्न सक्छ । हात, खुट्टा, छाती, पेट आदि अङ्गहरू एक अर्कासँग निर्भर हुन्छन् । कुनै अङ्ग एक्लै क्रियाशील हुन सक्दैन, जस्तैः पहरेदारले मालिकका अङ्गहरूको रक्षा गर्छ, तर निर्णय उसले गर्दैन । तर, ज्ञान इन्द्रियहरू स्वतन्त्र छन् – आँखाले हेर्न कानसँग अनुमति लिँदैन, नाकले सुँघ्न जिब्रोसँग सल्लाह गर्दैन । यिनको यही स्वतन्त्रता नै ‘इन्द्र’ शब्दमा झल्किन्छ – जसरी स्वर्गका राजा इन्द्र स्वतन्त्र छन्, यिनले पनि स्वतन्त्र अनुभूति गर्छन् ।

विज्ञानले अहिले ती इन्द्रियहरूको कार्यक्षमता नक्कल गर्न सक्ने अद्भुत प्रविधिहरू विकास गरिसकेको छ । जस्तै, Hypertaste नामको कृत्रिम जिब्रोले खाद्य पदार्थ र पेयहरूको गुणस्तर परीक्षण गर्न सक्छ । यो यन्त्रले हाम्रो जिब्रोले थाहा नपाउने स्वाद पनि छुट्याउन सक्छ । कृत्रिम कानहरूले ध्वनि विश्लेषण गर्दै मानवको श्रवण क्षमता बढाउन मद्दत पु¥याइरहेका छन् । ‘ई–स्किन’ प्रविधिले स्पर्श अनुभूति दिन सक्ने बनाइसकेको छ, जसले कृत्रिम अङ्गहरूलाई जीवनतुल्य बनाउँछ । कृत्रिम नाकले गन्ध विश्लेषण गरी खाद्य सुरक्षा र रोग पहिचानमा प्रयोग हुँदै आएको छ – यस्तो गन्ध पनि पत्ता लगाउन सक्छ, जुन कुकुरले समेत सुँघ्न सक्दैन । बायोनिक आँखाले दृष्टिविहीनहरूलाई देख्न सक्ने क्षमता दिएको छ, रोबोटहरूलाई दृश्य चिनाउने काम गरेको छ ।

तर, यी सबै भौतिक इन्द्रियहरूकै अनुभव नै सत्य हो भन्ने हुँदैन । पौराणिक विश्वासअनुसार कुनै पनि अस्तित्व पूर्ण रूपमा स्वतन्त्र र स्थायी हुँदैन । ज्ञान इन्द्रियहरू बाहिरी संसार बुझ्नका लागि हुन्, तर यथार्थ बुझ्न छैटौं इन्द्रिय आवश्यक पर्छ – त्यो हो अन्तरचेत, अन्र्तज्ञान, जसलाई कतिपय कथनमा ‘तेस्रो आँखो’ भनेर उल्लेख गरिएको छ । दृश्य त एउटै हुन्छ, तर दृष्टिकोण फरक–फरक हुन्छ । एउटै कुरा कसैको कानमा प्रवेश गरेर गहिराइमा पुग्छ, अर्काको कानबाट पस्छ र अर्कोतर्फ निस्कन्छ । यहीं फरक हो अन्र्तज्ञानको, चेतनाको ।

पौराणिक कथाहरूमा शिवको तेस्रो आँख खुलेपछि सबै सत्य प्रकट भएको भनिन्छ । राजा जनकले ध्यानमा आफूले देखेको सपना – आफू एक गरिब मानिस भएकोले उनलाई प्रश्न उठाउन बाध्य बनायोः ‘म राजा हुँ कि त्यो गरिब ?’ जब उनले ऋषि अष्टावक्रसँग उत्तर मागे, उत्तर आयो – ‘तपाईंका पाँच इन्द्रियहरूले संसार देखाउँछन्, तर वास्तविकता बुझ्न आत्मबोध र बुद्धिको प्रयोग गर्नु आवश्यक छ ।’

आज हामी यस्ता यन्त्रहरूको प्रयोग देखिरहेका छौं जसले दृष्टि फिर्ता दिन्छ, श्रवण क्षमता बढाउँछ, गन्धको गहिरो विश्लेषण गर्छ । यी प्रविधिहरूको सकारात्मक प्रभावहरू असंख्य छन् – अपांगता भएका व्यक्तिहरूको जीवनमा आशाको झिल्को, मेडिकल क्षेत्रमा रोग पहिचान, सुरक्षा प्रणालीको मजबुती, शिक्षा र अनुसन्धानमा तीव्रता । तर यिनका नकारात्मक असरहरू पनि उत्तिकै गम्भीर छन् । प्रविधिको अत्यधिक प्रयोगले व्यक्तिगत गोपनियतामा असर पारिरहेको छ, मानिसको मौलिक निर्णय क्षमता ओझेलमा पर्दैछ । मस्तिष्कले सोच्ने सट्टा यन्त्रमा निर्भर हुन थालेको छ । युद्ध र नरसंहारमा प्रविधिको प्रयोगले मानवताको आधार नै डगमगाउने खतरा सिर्जना गरेको छ ।

यस्तो अवस्था आइपर्दै गर्दा हामीले गम्भीर रूपमा विचार गर्नुपर्ने समय आएको छ – प्रविधिको सेवक हामी हुने कि प्रविधिका सेवक ? भावनाविहीन रोबोटजस्तो मानिस बन्ने सम्भावना अब केवल कल्पना होइन, सम्भाव्यता बन्न थालेको छ । यदि मानिसले आफ्ना निर्णयहरू प्रविधिमार्फत गराउँदै जाने हो भने सिर्जनात्मकता, भावुकता र नैतिक विवेक क्रमशः हराउँदै जानेछन् ।

यस्तोमा प्रश्न उठ्छ – के प्रविधिको प्रयोग गर्दा मानिसको अन्तरचेत सुरक्षित राख्न सकिँदैन ? अवश्य सकिन्छ, र त्यो गर्नु अत्यावश्यक छ । प्रविधिको विकास मानव अधिकार र नैतिक मान्यतामा आधारित नीतिअन्तर्गत हुनु पर्दछ । प्रविधिलाई विरोध गर्ने वा पूर्ण समर्थन गर्ने होइन, विवेकसाथ मार्ग निर्देशन गर्न सक्नुपर्छ । शिक्षा प्रणालीमा नैतिकता र प्रविधिको सन्तुलित ज्ञान आवश्यक छ । भावनात्मक बुद्धिमत्ता, सोच्ने र महसुस गर्ने क्षमता प्रविधिभन्दा माथि राखिनुपर्छ । प्रविधि मानवको दास हुनुपर्छ, मालिक होइन । यदि हामीले प्रविधिलाई विवेकपूर्ण तरिकाले परिचालन गर्न सकेनौं भने, त्यो हाम्रो स्वामी बन्न सक्छ ।

यसरी हेर्दा प्रविधिको प्रयोग सरल प्रश्नजस्तो देखिए पनि त्यसको उत्तर सरल छैन । विज्ञानले धेरै प्रश्नहरूको उत्तर दिन सक्छ, तर सही प्रश्न उठाउने क्षमता भने केवल चेतनशील मानवसँग हुन्छ । प्रविधिको विकाससँगै मानवता, नैतिकता र आत्मचेतनालाई सुरक्षित राख्नु आजको सबैभन्दा ठुलो जिम्मेवारी हो । पाँच इन्द्रियहरूको अनुभवले बाहिरी संसार देखाउँछ, तर अन्तिम सत्य बुझ्न अन्तर चेतनाले मात्रै सक्छ । यहीं चेतना नै हाम्रो प्रच्छन्न इन्द्रिय हो – जसले हामीलाई प्रविधिको प्रयोगमा विवेक प्रदान गर्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->