सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रामनवमीमा गलकोटको कोतघरमा विशेष मेला

रामनवमीमा गलकोटको कोतघरमा विशेष मेला


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८१, आइतबार

बागलुङ/रामनवमीको अबसरमा बागलुङका विभिन्न स्थानमा मेला लागेको छ । आइतबार गलकोटस्थित कोतघरमा भने चैतेदशैको मेलासँगै फूलपाती भित्राएर रामनवमी पनि मनाइएको छ ।

गलकोट नगरपालिका भित्रका विभिन्न वडाबाट संकलन गरेर लगिएको फूलपानी भित्राएर चैतेदशै तथा रामनवमी पर्व मनाइएको कोतघर व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर खत्रीले जानकारी दिए ।

गलकोटमा चैतेदशै र रामनवमी पर्वलाई विशेष पर्वको रुपमा मनाइने गरिन्छ । गलकोट नगरपालिका वडा नं. ३ मा रहेको कोतघर ऐतिहासिक चौबिसे राज्यको कोत समेत हो । गोलोकोत भएकोले गोलोकोट भन्दाभन्दै गलकोट राज्यको नाम बनेको स्थानीयले बताए । मेलामा गलकोट क्षेत्रका सयौं मानिस सहभागि छन् । चैतेदशैको अवसरमा गलकोटमा पनि विभिन्न खेलकुद तथा साँस्कृतिक क्रियाकलाप संचालन हुने गरेको छ ।

गलकोट नगरको अधिकांस क्षेत्र देखिने कोतघर नजिकै कालीका मन्दिर समेत छ । यहाँ बडादशै र चैतेदशैको दुर्गा पक्षमा नियमित पूजा र वली दिने चलन छ । केही वर्षअघि जीर्ण र हावाहुरीले भत्केको कोतघर मर्मत गरिएको छ । नेपाली सेनाको अगुवाईमा कोतघर मर्मत गरिनुको साथै नजिकका अन्य संरचना पनि बनेका छन् ।

कोटघरमा अजंगका दुइ खुँडा र दुइ खुकुरी छन् । गलकोट नगरपालिकाले कोतघर पुग्ने सिंढीमार्ग पनि बनाएको छ । रेलिङ सहितको मार्गले आर्कषक देखिन्छ । यो अभियानमा केही वर्ष अघिदेखि स्थानीय युवाले समेत चासो दिएका थिए । वडा कार्यालयले कोतघर संरक्षणलाई आफ्नो गौरवको योजनामा समावेश गरेको थियो । नगरपालिकाले कोतघर नगरको अस्तित्वसँग जोडिएकोले मर्मत गरेको हो ।

मध्यपहाडी लोकमार्गदेखि ६ किमी सडक पार गरेर कोतघर पुग्न सकिन्छ । कोतघर पुग्ने सडक स्तरीय बनाउने काम शुरु भएको छ । सहरी विकास आयोजनामार्फत यहाँको एक किमी सडक कालोपत्रे गर्ने योजना छ । चालु वर्षभित्रै उक्त सडक कालोपत्रे हुने बागेश्वरी निर्माण सेवाका साइट इनचार्ज सन्तोष तामाङले बताए । बाँकी खण्ड व्यवस्थित बनाउन पनि नगर र अन्य निकायको समन्वय भैरहेको वडा अध्यक्ष फमबहादुर खत्रीले बताए ।

यसअघि गण्डकी प्रदेश सरकार र नगरको साझेदारीमा ५० लाख खर्चेर सडक मर्मत भैसकेको थियो । नगरपालिकाको २० लाख, सेनाको श्रमदान र अन्य लगानी गरी १५ लाख बराबरको लगानीमा कोतघरको संरक्षण भएको छ । त्यसबाहेक सिंढी निर्माणमा नगरको १० लाख रुपैयाँ खर्च भैसकेको हो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट १० लाख रुपैयाँले सिंढी र अन्य संरचना निर्माणमा खर्च गरिएको थियो ।

‘सडकको केही खण्डमा नाली र कल्भर्ट समेत निर्माण भैसकेको छ, आगामी वर्षसम्म सबै सडक स्तरीय बनिसक्छ सकिन्छ’ उनले भने, ‘पर्यटनको दृष्टीले पनि यो स्थान महत्वपूर्ण छ ।’ कोतघरबाट गलकोट उपत्यका, घुम्टेको पहाड, दरमखोला र ताराखोला गाउँपालिकाको केही खण्ड समेत देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->