
पोखरा/ बागलुङ समाज, पोखराले स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा शनिवार रजत जयन्ती मनाएको छ । त्यस अवसरमा समाजले नयाँ वर्ष २०८२ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदानको आयोजना गरेको थियो ।
रजत जयन्तीको उद्घाटन गर्दै समाजका संस्थापक अध्यक्ष प्राडा महेन्द्रप्रसाद शर्माले संस्था स्थापनाको २५ वर्ष पुगेकोमा खुशीको कुनै सीमा नरहेको बताए । उनले संस्था स्थापनामा आफुमात्रै हिस्सेदार नभएको भन्दै सबै संस्थापकहरुलाई संझिएका थिए । ‘समाज स्थापना गर्न एउटा ठूलो टीमले ठूलै भूमीका खेलेको हो’, उनले भने, ‘मेरो साथ र सहयोग मात्र रहेको हो ।’ २५ वर्षअघि आफुहरुले एउटा गोरेटो मात्र देखाएको उनले बताए ।शर्माले समाजलाई एउटा माला र नगरपालिकाको संज्ञा दिए । बागलुङबाट पोखरा आएकाहरुको ११ वटा समाज रहेको भन्दै उनले ती समाज एउटा वडाको भूमीकामा रहनुपर्ने र जिल्ला स्तरीय यो समाज एउटा नगरपालिकाको रुपमा रहनुपर्ने बताए । ‘वडाले जसरी नगरपालिकालाई सहयोग गर्छ, अन्य समाजले पनि मुल समाजलाई त्यसरी नै सहयोग गनुपर्छ’ उनले भने, ‘नगरपालिकाले पनि अभिभावकीय भूमीका निभाउनु पर्छ ।’
समाज सामाजिक कार्य गर्ने संस्था भएकाले मन फुकाएर सहयोग गर्न पनि उनले सबैसंग अनुरोध गरे । फुटेर कसैको पनि हित नहुने बताएका शर्माले एकतामा नै वल प्राप्त हुने र यसले समाजमा उर्जा थप्ने बताए । सबैको साथ र सहयोगले नै समाजलाई निरन्तरता दिन सकिने, समाजमा राजनीति गर्न नहुने उनको भनाई थियो ।
विशेष अतिथि कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालले जन्मथलो र कर्मथलो जोड्ने उद्देश्यले नै समाज स्थापना भएकाले सबै समेटिएर जानुपर्ने बताए । अप्ठेरो परेको बेला समाज चाहिने भएकाले सोही अनुसार सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
गण्डकी प्रदेशका पूर्व सांसद ईन्द्रलाल सापकोटाले समाज सबै बागलुङको दुख बिसाउने साझा चौतारी र एउटा आश्रयस्थलको रुपमा रहेको बताए । यसले सबैसंग भेटघाट गराई भातृत्वको भावना जागृत गराएको भन्दै उनले अप्ठेरो परेको बेला बागलुङको प्राथमिक उपचारको केन्द्र समाज बनेको धारणा उनले राखे । समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाले समाजलाई दीगो रुपमा संचालन गरिरहन सबैको साथसहयोग रहनुपर्नेमा जोड दिए । उनले बागलुङ के हो ? समाज किन स्थापना गर्नुपर्यो, केकति सामाजिक कामहरु भए भन्ने दस्तावेजीकरणका लागि बृत्तचित्र बनाउन लागिएको जानकारी दिए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु अमृतलाल श्रेष्ठ, डा. भानु कँडेल, भीमबहादुर श्रीष, डिल्लीप्रसाद शर्मा, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयराम आचार्य, सल्लाहकार ढाकाराम पौडेल, टेवान अध्यक्ष कमला गिरीले शुभकामना मन्तव्य दिएका थिए । यसैगरी पैंयुपाटा पोखरा सम्पर्क समाजका अध्यक्ष हरिबहादुर खत्री, धम्जा पोखरा सम्पर्क समाजका अध्यक्ष खिमबहादुर छन्त्याल, नारायणस्थान सम्पर्क समाजका अध्यक्ष लेखनाथ पौडेल, पोखरा बागलुङ मगर समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादुर थापा, पर्वत मिलन समाजका अध्यक्ष अनीता गुरुङ, गल्कोट समाज अध्यक्ष राधीका खत्रीले पनि शुभकामना दिए । समाजका पूर्वअध्यक्ष कुलचन्द्र शर्माले समाजको हालसम्मको अनुभव, संगठनात्मक संरचना, गतिविधि एवं भावी कार्यक्रमबारे जानकारी गराएका थिए । त्यस अवसरमा संस्थापक अध्यक्ष लगायत पूर्वअध्यक्षहरुलाई समाजलाई यहाँसम्म ल्याईपुराएको भन्दै सम्मान गरिएको थियो । उपाध्यक्ष नरेश सुवेदीले स्वागत र सचिव गंगा पुनले संचालन गरेको कार्यक्रममा कलाकार राजेश बर्देवाले आफ्नो प्रस्तुति दिएका थिए ।





