पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ वर्ष मनाउने क्रममा पटका, आतिसबाजी, झरझरे, भुइँचम्पाजस्ता विष्फोक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपासर तथा विक्री वितरण नगर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालले आज एक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी नयाँ वर्षको अवसरमा आयोजना गरिने उत्सव, महोत्सव, कन्सर्ट, सांस्कृतिकलगायत कार्यक्रम गुनासोरहित तवरले संचालन गर्न भनेका हुन् । सार्वजनिक यातायात, आवतजावत र जनजीवनलाई असर नपर्ने गरी मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा संचालन गर्न गराउन पनि सूचनामा भनिएको छ । यसैगरी सूचनामा मादक पदार्थको सेवन गरी सवारी साधन नचलाउन, एवं सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने जस्ता काम नगर्न पनि उल्लेख छ । समाजमा अशोभनीय हुने क्रियाकलापहरु एवं कानून विपरीतका अन्य गतिविधि नगर्नु नगराउनु भन्दै प्रशासनले यो सूचनाको अवज्ञा गरेमा कानून बमोजिम कारवाही हुने जनाएको छ ।
सामाजिक सद्भावलाई थप अभिबृद्धि गर्दै, वातावरण स्वच्छतालाई समेत प्रवद्र्धन गरी जिल्लामा शान्ति सुरक्षा एवं अमनचयनको अवस्थालाई सामान्य तुल्याई राख्न सबैसमक्ष अनुरोध समेत प्रशासनले गरेकाे छ ।





