सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘ढोरपाटनको विकासमा साझा कार्यक्रम चाहियो’

‘ढोरपाटनको विकासमा साझा कार्यक्रम चाहियो’


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८२, बुधबार

बागलुङ/ढोरपाटन उपत्यकालाई पर्यटकको रोजाइको केन्द्र बनाउन सडक पुर्वाधारलाई स्तरीय बनाउनुपर्ने सरोकारवालाले बताएका छन् । बुर्तिवाङदेखि ढोरपाटन सम्मको सडक तत्काल कालोपत्रे गर्नुपर्ने उनीहरुको माग छ ।

२०७७ सालको बाढीपहिरोले भत्केको सडक अझै बन्न नसकेकोले छिटो स्तरीय बनाउनुपर्ने उनीहरुको माग छ । सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्ड नबन्दा उपत्यकाबासीसंगै घुम्न जाने पर्यटकले सास्ती खेपेका छन् । त्यसबाहेक ढोरपाटन उपत्यका आउने पहुचमार्गको रुपमा रहेका निसेलढोरदेखि रुकुमको तकसेरा र गुर्जाखानी तर्फको सडक संजाल जोडिनुपर्ने सरोकारवालाको माग छ ।

ढोरपाटन उपत्यकाको विकासका लागि समस्या पहिचान, समन्वय, सहकार्य र समाधान विषयक वृहत नागरिक सुनुवाइमा सहभागिले उपत्यकाको विकास गर्दा राज्यलाई नै फाइदा हुने बताए । हाल दुवैतर्पmको सडक सिकार आरक्षको संरक्षित क्षेत्र भन्दै निर्माणमा रोक लगाइएको छ । हाल निर्माण भैसकेको गाडीखोला चामेद्वार ढोरपाटन सडकको १० किमी बढी कालोपत्रे भैसक्दा पनि आरक्ष नजिकै सडकको ट्रयाक समेत खोल्न नपाएपछि सडक अलपत्र छ ।

स्थानीयले भने आरक्षले अन्य काममा पनि समस्या सिर्जना गरेको आरोप लगाए । सिकार आरक्षभित्र सडक निर्माण गर्न नपाउने, आइईइ र इआईए गरेर आरक्षको अनुमतिले मात्र काम गर्न पाउने भएपछि विकास निर्माणका काम ठप्प भएको उनीहरुको गुनासो छ । त्यति मात्र नभइ आरक्ष घुम्न आउनेहरुलाई सहज वातावरण नभएको उनीहरुले बताए । स्तरीय होटल निर्माणमा पनि अनुमति पाउन नसकेको लगायतको गुनासो स्थानीयको छ ।

त्यसबाहेक खेतीपाती, घाँसदाउरा गर्न पनि आरक्षले रोक्दा स्थानीयले जिविकोपार्जनमा पनि सास्ती खेपेको गुनासो गरे । ‘हामीले नियमित रुपमा घाँस दाउरा गर्न पनि पाएका छैनौं, न त देउरालीमा धजा चढाउन नै पायौं’ स्थानीय नरमती पुनले भनिन्, ‘देउरालीमा सेना बसेको छ भने घाँसदाउरा गर्न आरक्षले छेकेको छ ।’ वर्षौदेखि बस्दै आएका स्थानीयलाई आरक्षले अबरोध गरेको उनले बताइन् । स्थानीयले उपत्यकालाई आरक्षबाट अलग गर्नुपर्ने र पर्यटकहरु सहज आउने वातावरण बनाउनुपर्ने समेत बताएका छन् ।

स्थानीय नन्दे सुनारले नवीमा पुल बन्न नसकेकोले यात्रा असहज भएको बताए । स्थानीय शिक्षक एकबहादुर सुनारले विद्यालयको काम गर्न खोलाको बालुवा समेत झिक्न नपाएको गुनासो गरे । यस्ता विभिन्न कामले उपत्यकाको जीवन कष्टकर भएको, आएका पाहुनाहरुको आरामदायी बसाइ नभएको जसका कारण राज्यकै आम्दानीमा समेत असर परेको उनीहरुले बताए ।

स्थानीयको सुझाव संकलनका लागि सिकार आरक्ष आसपासका पालिका, गण्डकी प्रदेशका सांसद र स्थानीयबीच अन्तरक्रिया गरिएको थियो । उक्त अवसरमा आरक्षका प्रमुख संरक्षण अधिकृत पशुपति चौधरीले राज्यको कानून र नीति अनुसार तथा आरक्षको नीतिगत व्यवस्था अनुसार काम गरेको बताए । राज्यले आरक्षको क्षेत्र सिमित गरेको खण्डमा वा काम कर्तव्यमा हेरफेर गरेमा आरक्षले पनि सोही अनुसार काम गर्ने बताए ।

कार्यक्रममा उपस्थित भएका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले स्थानीयका समस्यालाई नीतिगत रुपमा सम्बोधनको प्रयास गर्ने बताए । हाल विकास निर्माणमार्फत उपत्यकाको विकास गर्ने र परिस्थिति मिल्दा स्थानीयको माग अनुसारका काम गर्ने बताए । हाल कृषि, खानेपानी, सिंचाइ लगायतका आधारभूत विषय पुरा गर्नेतर्फ स्थानीय तह र प्रदेश सरकारले साथ दिने उनको भनाइ थियो ।

अन्तरक्रियापछि ढोरपाटन उपत्यकामा आवस्यक पुर्वाधार अगाडि बढाउने, पदमार्गहरु बनाएर पर्यटकलाई आर्कषित गर्ने लगायतका दर्जन योजना संचालन गर्ने निर्णय गरिएको बागलुङ क्षेत्र नंं २ (ख)का सांसद द्रोण कुवरले जानकारी दिए । उनले जिल्लाका सबै सरोकारवाला कार्यालयले पनि ढोरपाटन उपत्यकाको विकास लक्षित योजना बनाउन र सोही अनुसार बजेट र कार्यक्रम संचालन गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->