बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा विश्वविद्यालयको प्रशासनिक क्षमता विकास तालिम

पोखरा विश्वविद्यालयको प्रशासनिक क्षमता विकास तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८२, बिहिबार

पोखरा/ पोखरा विश्वविद्यालयले आफ्ना कर्मचारीहरूको सूचना प्रविधि तथा व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एक साता लामो प्रशासनिक क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ। विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा सञ्चालन गरिएको ४५ घण्टा (३ क्रेडिट) अवधि भएको तालिम चैत २७ गतेदेखि बैशाख २ गतेसम्म चलेको थियो ।

तालिममा विश्वविद्यालय प्रशासनसँग सम्बन्धित विभिन्न व्यवहारिक र प्रविधिमैत्री विषयहरूमा प्रशिक्षण प्रदान गरिएको थियो। विश्वविद्यालयका कर्मचारीहरूको प्रमुख कार्य र जिम्मेवारी, बजेट र लेखा प्रणाली, सार्वजनिक खरीद प्रक्रिया, दस्तावेज तयार गर्ने तरिका, एआई प्रविधिको प्रयोग, एमएस एक्सेल र पावर पोइन्टको प्रयोग, कार्यालय व्यवहार, कर्मचारी प्रोत्साहन, अन्तरव्यक्तिगत सम्बन्ध व्यवस्थापन, मानसिक स्वास्थ्य, कार्यालय प्रशासन, माइन्युट लेखन, पत्राचार, विन्डोज युटिलिटी र तालिका तथा डेटासेट निर्माण लगायतका विषयहरूमा तालिम दिइएको थियो । प्रशिक्षकहरू डा. दयाराज ढकाल, सह–प्रशासक तारादेवी सापकोटा, सह–प्रशासक गोबर्धन भट्टराई, सह–प्रशासक तेजनारायण पराजुली, सह–प्रशासक टोलमाया थापा, र्इ.सन्तोष पौडेल, इ. यज्ञनाथ रिमाल, इ. किरण के.सी., डा. दिलीपराज पौडेल, रामप्रसाद थपलिया, नीशा राजकर्णिकार, सुशान्त पौडेल र उत्तम आचार्यले प्रशिक्षण दिएका थिए ।

पोखरा विश्वविद्यालयको प्रशासनिक क्षमता विकास तालिमको समापन कार्यक्रम स्वास्थ्य विज्ञान संकायका डीन तथा निमित्त उपकुलपति सह–प्रा.डा. अमर नागिलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उनले तालिम समसामयिक र अत्यन्तै उपयोगी विषयमा केन्द्रित भएको बताउँदै, सहभागीहरूले सात दिनसम्म सिक्न, बुझ्न र अनुभव साटासाट गर्ने राम्रो अवसर पाएको उल्लेख गरे । साथै विश्वविद्यालयजस्तो ज्ञान केन्द्रमा कार्यरत कर्मचारीहरूलाई सूचना प्रविधि र व्यवस्थापन सम्बन्धी दक्षता आवश्यक भएको र एआईको युगमा म्यानुअल कामले पछि पार्ने भएकाले सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गरे । त्यस्तै, व्यवस्थापन संकायका डीन तथा निमित्त रजिष्ट्रार सह–प्रा.डा. दयाराज ढकालले तालिमको समग्र व्यवस्थापन र सहभागीहरूको सिक्ने उत्साहलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा प्रयोग गरी अझ दक्ष र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

प्रशासनिक क्षमता विकास तालिम समितिका संयोजक सह–प्रा.डा. पूर्णबहादुर खाँडले तालिम सफल बनाउन टिम वर्कमा आधारित भएर भरमग्दुर प्रयास गरिएको उल्लेख गरे । “तालिमको मोडालिटी तथा विज्ञ छनोट सम्बन्धी प्रस्ताव विश्वविद्यालय अनुदान आयोगमा पठाइएको थियो। स्वीकृति प्राप्त भएपछि कार्यक्रम अगाडि बढाइयो। प्रशिक्षकहरू विश्वविद्यालय भित्रका अनुभवी कर्मचारीहरू तथा केही बाह्य विज्ञहरूबाट छनोट गरियो, जसले संस्थाको आवश्यकता, चुनौती र सम्भावनालाई राम्ररी बुझ्नु भएको थियो । त्यसैले तालिमका विषयवस्तुहरू पनि उहाँहरुकै सक्रिय सहभागितामा तयार गरिए र कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरियो,” उनले भने ।

प्रशासनिक क्षमता विकास तालिम नेपालकै सन्दर्भमा उदाहरणीय र पहिलोपटकको अभ्यास भएको बताउँदै तालिम व्यवस्थापन समितिका सदस्य उपप्राध्यापक डा. बद्रि अर्यालले यस किसिमको तालिम नेपालमै पहिलो रहेको बताए । यसै क्रममा तालिमकी प्रशिक्षक, कार्यक्रम सञ्चालक तथा सह–प्रशासक श्रीमती तारादेवी सापकोटाले विश्वविद्यालयमा कर्मचारीहरूलाई माया, सम्मान र सहयोग प्रदान गर्ने सकारात्मक वातावरण आवश्यक रहेको उल्लेख गरिन् । साथै, भविष्यमा कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि यस्ता तालिम कार्यक्रमहरूलाई निरन्तरता दिँदै, उनीहरूको सहभागिता अझ बढाउनुपर्ने धारणा पनि उनले राखिन् ।

उक्त अवसरमा प्रशिक्षार्थी गायत्री पनेरुले तालिमले हाम्रो व्यक्तिगत क्षमता र पेशागत दक्षता अभिवृद्धिमा ठूलो सहयोग पुराएको बताइन । यहाँ सिकिएका कुराहरूलाई केवल आफूभित्र सीमित नराखी, कार्यस्थलमा व्यवहारमा उतार्न आवश्यक छ भन्ने कुरा गहिरो रूपमा बुझ्न पाएको भन्दै उनले यस्ता अवसरहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । अर्का प्रशिक्षार्थी तोरणबहादुर बिकले तालिममा सूचना प्रविधिसँग सम्बन्धित विषयहरू समावेश गर्नु सकारात्मक रहेको बताए ।तालिम व्यवस्थापन समिति सह–प्रा.डा. पूर्णबहादुर खाँडको संयोजकत्वमा गठन गरिएको थियो। समितिमा सह–प्रा.डा. विश्वनाथ लामिछाने, सह–प्रा.डा. हरिप्रसाद काफ्ले, सह–प्रा.डा. दिपाञ्जल श्रेष्ठ, डा. बद्रि अर्याल, डा. प्रदीप सापकोटा सदस्य थिए भने हुमादेवी पौडेल कर्मचारी सहयोगीको रूपमा सहभागी भएकी थिइन् ।

तालिमको उद्घाटन सत्र पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारी, विभिन्न संकायका डीनहरू र विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। विश्वविद्यालयका विभिन्न निकायमा कार्यरत ३३ जना लेखा तथा प्रशासन शाखाका अधिकृतदेखि सहायकस्तरसम्मका कर्मचारीहरूले तालिममा सहभागिता जनाएका विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->