बागलुङ/बागलुङ नगरपालिका वडा नं. ८ को लामीचौरमा पम्प विधिबाट गत चैत तेस्रो साता खानेपानी निकालिएको छ । यो योजना निर्माणले वर्षौदेखि खेपेको सास्तीबाट आंशिक लाभ मिलेको स्थानीयको भनाई छ । तर, यो लाभलाई दिगो र व्यवस्थित बनाउने चुनौती बढी छ । त्यसका लागि स्थानीयबासीले धारा र ट्यांकी निर्माणको चुनौती रहेको बताएका छन् ।
‘पानी त आयो, अब घरघरमा धारा बनाउने, रिर्जभ ट्यांकी बनाउने काम बाँकी छ’ स्थानीय गोबिन्द गौतमले भने, ‘अब नागरिकको घरघरमा शुद्द पानी खाने व्यवस्थापन पनि चाहियो ।’ त्यसका लागि विशेष योजना आवस्यक भएको उनले बताए । लिफ्ट खानेपानी योजना भने लाखौं खर्च गरेर पनि अलपत्र भएकोले त्यसको व्यवस्थापनमा पनि ध्यान दिन उनले सुझाव दिए ।
बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा बिहिबार भएको सार्वजनिक सुनुवाईका सहभागिले नगरपालिकाको कामप्रति खुसी भएपनि सन्तुष्ट हुने अवसर नभएको बताए । उनीहरुले सडक कालोपत्रे भैसकेकोले वडा कार्यालयसम्म भएपनि नगरबस चलाउनुपर्ने, अझै ग्रामीण सडकहरु स्तरीय बनाउनुपर्ने, शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बन्नुपर्ने बताए ।

सुन्तलाको विशेष क्षेत्र भएकोले संघिय र प्रदेश सरकारका योजना समेत ल्याएर बजारीकरणमा जोड दिनुपर्ने उनीहरुको माग छ । सुन्तला उत्पादन बढाउन किसानलाई अनुदान र प्राविधिक सहयोग चाहिएको सुन्तला व्यवसायी रामबहादुर खड्काले बताए । ‘किसानले अहिलेको तुलनामा दोब्बर सुन्तला उत्पादन गर्न सक्छन्, त्यसका लागि नगरपालिकाले अनुदानको कार्यक्रम ल्याउनुपर्छ’ खड्काले भने, ‘किसानको उत्पादनको बजारीकरण, नर्सरी व्यवस्थापन र कोल्ड स्टोरका लागि स्थानीय सरकारको साथ चाहिएको छ ।’
सडक संजाल बनेपनि पदमार्गहरु पनि स्तरीय बनाउन आवस्यक भएको उनीहरुको माग छ । गलकोट लगेको लाइनबाट विद्युतीकरण गर्दा पटक पटक लाइन जाने समस्या भोगेकोले त्यसको व्यवस्थापनमा साथ दिनुपर्ने माग उनीहरुले गरेका छन् ।
स्थानीय टिकाराम थापाले शैक्षिक सुधारका लागि गुणस्तरीय शिक्षा, बालमैत्री पूर्वाधार निर्माणमा जोड दिए । उनले मावि तहका शिक्षक नभएर प्रावि तहकाले पढाएको गुनासो गरे । तत्कालका लागि डे होस्टल सहितको विद्यालय चलाएर आवासिय बनाउने बाटो खोल्न पनि आग्रह गरे । स्वास्थ्य चौकीमा पहिरोको जोखिम भएकोले संरक्षण गर्नुपर्ने, स्वास्थ्य चौकीमा ल्याबको व्यवस्थापन गर्नुपर्ने, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सिगानामा तत्कालका लागि पम्प विधिबाट पानी निकालेकोले अब वितरणमा एक घर एक धारा अभियान प्रभावकारी बनाउने, आवस्यक पर्ने ट्यांकी निर्माणमा पहल गर्ने बताए । त्यसका लागि खानेपानी तथा ढल निकास विभागमा आवस्यक प्रस्तावना पठाएको जानकारी दिँदै उनले लामीचौरका २१९ घरलाई धारा र ६ वटा ट्यांकी निर्माणमा पहल गरेको बताए ।
त्यस बाहेक अदालत चौपारीदेखि सिगाना, चापाखर्कहुँदै शान्तिपुर जाने सडक पुरै कालोपत्रे गर्नका लागि बजेटको सुनिश्चितता गर्न संघिय सरकारमा पहल गरेको, वडा नं. ८, ९ र १० लाई सुन्तला जोन बनाउन प्राविधिक काममा अगाडि बढेको भन्दै किसानका समस्या समाधानमा साथ दिने बताए । सुन्तला बाहेक अन्न र अन्य फलफूल खेतीका लागि पनि अध्ययन गर्न तत्काल माटो परीक्षणको काम थाल्न कृषि शाखालाई निर्देशन गरेको बताए । किसानको उत्पादनलाई बजारीकरण गर्ने तथा अलपत्र झोलुंगे पुल लगायतको संरचना निर्माणमा काम थाल्ने उनले बताए । मानव विकासका क्षेत्रमा चाहिने सूचक पुरा गर्न पहल गरेको भन्दै सुशासन, दिगो विकास र शैक्षिक जागरण फैलाउने काममा पनि लगानी गर्ने प्रतिबद्दता जनाए ।
कार्यक्रममा उपप्रमुख राजु खड्काले विकास निर्माणलाई प्रभावकारी र दिगो बनाउन लागत अनुसारको काम गर्न स्थानीयले पनि चासो राख्नुपर्ने बताए । त्यसका लागि अनुगमनको पाटो बलियो बनाउने बताए ।
नगर प्रमुख श्रेष्ठको अध्यक्षता, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्यको संचालन, वडा अध्यक्ष छमबहादुर कार्कीको स्वागतमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले पनि स्थानीयको जिज्ञाशाको समाधान गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले टिप्पणी गरेका थिए भने सचिव नारायण रिजालले नागरिक सन्तुष्टी सर्भेक्षण प्रतिवेदन र कोषाध्यक्ष खेमराज गौतमले आचारसंहिता प्रस्तुत गरेका थिए ।





