सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मुग्लान छाडेर गाउँमै कृषिकर्म

मुग्लान छाडेर गाउँमै कृषिकर्म

उत्पादन गर्न सकेमा बजारको समस्या छैन ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८२, शनिबार

बागलुङ/मिहिनेत गरे सफलता हातमा आउँछ भन्ने उदाहरण बागलुङको गलकोट नगरपालिका २ का लालबहादुर खत्रीले देखाएका छन् । दुई दशकसम्म भारतमा मजदुरी गरेका खत्रीले घर फर्केर लोभलाग्दो कृषि कर्म गर्न थालेका हुन् ।

कोरोना संक्रमणसँगै भारतबाट फर्केपछि गाउँमा कृषि कर्म थालेका खत्रीले ५ वर्षमा सफलता पाएका हुन् । नेपाल फर्केको ५ वर्षमै गाउँघरमा उनको मिहिनेतको चर्चा छ । २०६७ सालमा उनी भारतबाट फर्केका थिए ।

गलकोट नगरपालिका वडा नंं २ बजिनीका ४३ वर्षीय लालबहादुर खत्री गलकोटका अब्बल किसानको रुपमा चिनिएका छन् । हरेक दिन खत्रीले दूध र तरकारी घरघर लगिदिएर गाउँलेको मन जितिसकेका छन् ।

२० वर्षको भारत बसाइमा उनले धेरै समय त मजदुरीमै बिताए । पछिल्लो समय रेष्टुरेन्ट खोलेर केही कमाइ गर्न थालेका थिए, कोराना संक्रमणले बन्द भयो । सुरुवातमा दुई भैंसी पालेका उनले आम्दानी भएपछि पशु थप्दै लगे । लामो समय भारतमा बसेकोले गाउँमा काम गरेर खान्छ भन्नेमा उनका छिमेकीले शंका गरे । ऋण दिन पनि मानेनन् । तर, उनले थोरै लगानीबाट थालेको काम ५ वर्षमै ४० लाख लगानीमा पुगिसकेको छ । । दुई वटा भैंसीबाट थालेको फर्म अहिले लोभलाग्दो भैसक्यो ।

गाउँको घर सडकबाट टाढा परेकोले उनले फाँटमा फर्म सुरु गरे । नरेठाँटी नजिकैको फाँटमा उनले गाईभंैसी, बाख्रा र कुखुरा पालेका छन् । बारीमा ताजा तरकारी पनि फलाएका छन् । यो काम गर्न उनले अहिलेसम्म ४० लाख खर्च गरिसकेको बताए । अहिले त खत्री र उनकी पत्नी रितालाई कामले फुर्सदै छैन । गाईभैंसीको दूध बजार पठाउने काममा लालबहादुर आफै खटिन्छन् । उनले ‘रिहातिलक एकीकृत कृषि फर्म’ संचालनमा ल्याएका छन् । फर्ममा अहिले एक दर्जन भंैसी, ४० बाख्रा, १ सय लोकल कुखुरा, २ वटा प्लाष्टिकको टनेल छ ।

दैनिक ५० देखि ७० लिटर दूध उत्पादन गरेर हटिया, नरेठाटी र डाँडाखेत बजारमा घरघरै पु¥याउने काम गर्छन् । घरमै खसीबोका हुर्काइरहेका छन् । बारीमा मौषमी ताजा तरकारी पनि छ । मौषमी र बेमौषमी तरकारी पनि उनले दूधसँगै बजार पठाउने गरेका छन् । समयसमयमा खसीबोका र कुखुरा पनि बिक्री हुन्छन् । उनले लोकल जातको कुखुरा पालेका छन् भने बोयर बाख्रा पनि पालेका छन् । अहिले त खत्रीलाई सबैले चिन्न थाले ।

उनको घरबाटै जिउँदो खसीबोका र लोकल कुखुरा प्रतिकेजी ७ सय रुपैयाँमा बिक्री गरेको बताए । डोकोमा तरकारी र घरघरमा दूध लगिदिने किसानको रुपमा उनी चिनिएका छन् । कतिपय उपभोक्ता त बारीमै आइपुग्छन् भने कतिपयले माग गर्छन् । यो काम गर्दा खत्री परिवारले मासिक ३ लाखसम्म कमाइ गरेको छ । वर्षमा ३५ लाख कमाइ गर्ने खत्री परिवारले १० लाखसम्म बचत गर्न सकेको बताए ।

‘खसीबोका बिक्री गर्दा छुट्टै कमाइ हुन्छ, नियमित भने दूध र तरकारी बेच्छौं,’ खत्रीले भने, ‘उत्पादन गर्न सकेमा बजारको समस्या छैन ।’ गलकोटमा अझैपनि तरकारी र अण्डा आयात भैरहेको छ । स्थानीयले उत्पादन बढाउनु पर्ने नगर कृषि शाखाका प्रमुख पूजा रेग्मीले बताइन् । ‘किसानलाई अनुदान दिएर उत्पादन बढाउने लक्ष्य राखेका छौं’ उनले भनिन्, ‘अझैपनि ताजा तरकारी र अण्डा बाहिर बाट आयात भैरहेको छ ।’ खसीबाख्रा, कुखुरा पाल्ने तथा ताजा तरकारी उत्पादन गर्ने किसानलाई प्रोत्साहन गने कार्यक्रम बनाएको उनले बताइन् ।

गलकोट नगरपालिका वडा नंं २ का अध्यक्ष हिमबहादुर भण्डारीले खत्री जस्ता किसानलाई प्रोत्साहन गरेर कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन पहल भएको बताए । ‘लालबहादुर नगरकै मिहिनेती किसान हो, त्यसैले हामीले कृषि कर्ममै रमाउने बनाउन पशुपालनमा अनुदान समेत दिएका छौं,’ भण्डारीले भने, ‘दूधको बिक्रीमा सहजीकरण गर्ने, तरकारी बिक्रीका लागि नगरपालिकाले स्टलको व्यवस्थापन गर्ने जस्ता काम भएका छन् ।’

नगरपालिकाले किसानको उत्पादन भण्डारन र बिक्रीका लागि एक वर्षअघि नै हाटबजार स्थापना गरिसकेको छ । त्यस बाहेक आवस्यकता अनुसार भण्डारनको व्यवस्थापन भैरहेको उनले बताए । पशुस्वास्थ्य शाखाका प्रमुख चिन्तामणि शर्माका अनुसार गलकोटमा दैनिक १ लाख १३ हजार लिटर दूधको आवस्यकता भएकोमा अहिले ९१ हजार लिटरमात्रै उत्पादन भएको छ । अझै पनि २४ हजार लिटर आयात गर्नु परेकोले किसानलाई थप प्रोत्साहन गर्नुको विकल्प नभएको उनले बताउ । गलकोटमा दैनिक एक हजार गोटा अण्डा अण्डा अभाव भएर बाहिरबाट झिकाउनु परेको छ ।

मासुसमेत वार्षिक २ लाख केजीसम्म आयात गर्नु परेकोले खसीबोका पालनमा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम बनाएको शर्माले जानकारी दिए । गलकोटमा वार्षिक ६ लाख केजी मासु आवश्यक पर्नेमा ४ लाख ८० हजार केजीमात्र उत्पादन भएको हो । मध्यपहाडी लोकमार्गको छेवैमा भएकोले उत्पादन बढाएर बाहिर पठाउन सक्ने गरी किसानलाई प्रोत्साहनका कार्यक्रम थप गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->