पोखरा/पोखराको मध्य भाग । २०५० सालदेखि नियमित रुपमा संचालन हुदै आएको बुद्धचोकस्थित टप्स बोर्डिङ स्कूल । अहिले नाम फेरिएर टप्स माध्यमिक विद्यालय बनेको छ ।
टप्स मावि यसै शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो । पोखराका विभिन्न शैक्षिक संस्थामा आवद्ध भएर आफूलाई एउटा शैक्षिक व्यक्तित्वको रुपमा उभ्याएकाहरुको एक टीमले विद्यालयको नयाँ व्यवस्थापन संहालेको हो । पोखराकै प्रतिभा माविमा दुई दशक भन्दाबढी समय प्रवन्ध निर्देशक रहेर काम गरेको अनुभव बटुलेका बलबहादुर थापाले टप्सको नयाँ व्यवस्थापनको नेतृत्व लिएका छन् । अर्थात् थापा उक्त विद्यालयका अध्यक्ष हुन् । ‘हामीले पुरानो व्यवस्थापनबाट ५० करोड लागतमा विद्यालय किनेर नयाँ व्यवस्थापनसाथ पढाइ सुरु गरेका छौँ,’ अध्यक्ष थापाले भने । विद्यालयका संस्थापक रत्नमान गुरुङको एकल व्यवस्थापनबाट अहिले सामूहिक व्यवस्थापनमा विद्यालय संचालन भएको हो ।
विद्यालयमा नर्सरी देखि १२ कक्षासम्मको पढाइ हुन्छ । प्लस टुमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाइ हुन्छ । नयाँ व्यवस्थापनले विद्यालयको भौतिक संरचनामा सुधार गर्न थालेको छ । साथै खेलकुद र विभिन्न रचनात्मक क्रियाकलापलाई जोड दिइएको छ । र नविनतम प्रविधिको प्रयोग र विषयगत प्रयोगशाला स्थापना गरी पढाउने तयारी गरिरहेको छ । पढाइ यही वैशाख ८ बाट सुरु हुनेछ । पहिला ७०० विद्यार्थी थिए । नयाँ व्यवस्थापनसँगै यसै शैक्षिक सत्रमा बढाएर १२ सय विद्यार्थी पु¥याइएको छ । अनुभवी शिक्षकको टीम, शिक्षामा लामो समयदेखिको विज्ञता तथा अनुभव भएको नेतृत्वसहितको टीमका कारण विद्यार्थी बढाउन सफल भएको विद्यालयले जनाएको छ । साथै नयाँ व्यवस्थापनसँग अभिभावक तथा विद्यार्थीले गुणस्तरीय शिक्षाको अपेक्षा गरेकाले पनि विद्यार्थी बढेको अध्यक्ष थापा बताउँछन् । ‘अभिभावक र विद्यार्थीको यो अपेक्षालाई हामीले व्यवहारमा कार्यान्वयन गरेर पूरा गर्ने प्रतिवद्धता जनाउछौँ,’ थापाले भने, ‘सबैभन्दा बढी विद्यार्थीको रोजाईमा पर्ने शैक्षिक संस्था बनाउने अठोट गरेका छौ । पोखराकोमात्र नभइ गण्डकी प्रदेशकै नमूना बनाउने उद्देश्यसाथ लागिपरेका छाँै ।’ विद्यालयमा अहिले १०० जना शिक्षक र कर्मचारी कार्यरत छन् । विद्यालय अहिले ९ रोपनी जग्गामा फैलिएको छ ।
विद्यालय व्यावस्थापकको भिजन, मिशन, प्लान, पोलिसी, सुपरभिजन तथा कुशल व्यवस्थापन महत्वपूर्ण हुने भएकाले त्यसतर्फ आफूहरुले विशेष ध्यान दिएको थापाको भनाइछ । शैक्षिक गुरुयोजना, वार्षिक शैक्षिक कार्यक्रम, सिकाइ योजनामा केन्द्रितहुँदै नयाँ व्यवस्थापनको टीप सम्पूर्ण समय विद्यालयमै दिने उनले बताए । भौतिक सुधार एउटा अनिवार्य सर्त भएकाले विद्यालय भवन, कक्षा कोठा, ल्याव, पुस्तकालय, शौचालय, चमेना गृह, खेलमैदानलगायत भौतिक व्यवस्थापनमा विद्यालयले जोड दिएको छ । विद्यार्थीको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सूचना प्रविधि, सञ्चार र इन्टरनेटको भरपुर उपयोग गर्दै बालबालिकालाई विद्यालय ल्याऔं, सिकाऔं र बिकाऔं भन्ने सूत्र व्यवहारमा लागु गरिने उनको भनाइछ ।
आजभोलि विद्यालयमा सहक्रियाकलाप विद्यालयको उत्कृष्टता एवं विशिष्टता मापन गर्ने महत्वपूर्ण पक्ष बनेको छ । अतिरिक्त क्रियाकलापका माध्ययमबाट कुनै पनि विद्यालय राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म चम्किएका उदाहरणहरु छन् । यसलाई पनि विद्यालयले मध्यनजर राखेको अध्यक्ष थापाले बताए ।
‘हामी टप्सको उत्कृष्टताको गौरवशाली विरासतलाई कामय राख्दै शिक्षालाई पुनः परिभाषित गर्न प्रतिवद्ध छौँ,’ अध्यक्ष थापाले भने, ‘हाम्रो दृष्ट्रिकोण, टप्सलाई एक मेगा स्कुल, शैक्षिक उत्कृष्टता र समग्र विकासको केन्द्रमा रुपान्तरण गर्नु हो ।’
उच्चस्तरीय संकाय, आधुनिक पूर्वाधार र जीवन्त सिकाइ वातावरणको साथ भविष्यका कर्णधार जन्माउन प्रविधि र अन्तरक्रियात्मक ठाउँहरु एकीकृत गर्न लागिएको उनले बताए । ‘टप्समा शिक्षा केवल पाठ्यपुस्तकहरुको बारेमा मात्र होइन, यो युवा दिमागलाई ठूला सपना देख्न । थप सफलता हासिल गर्न सशक्त बनाउने लक्ष्यमा छौँ,’ उनले भने । टप्सले भविष्यमा नेपाल र विदेशका समेत राम्रा स्थापित विद्यालयसँग विद्यार्थी र शिक्षक आदानप्रदान गर्ने कार्यक्रम सुरु गर्ने योजना पनि बनाएको छ ।





