सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जहाज चढ्न सिडिओको फोर्स चल्ने बलेवा विमानस्थलमा अहिले जहाज उड्दैन

जहाज चढ्न सिडिओको फोर्स चल्ने बलेवा विमानस्थलमा अहिले जहाज उड्दैन


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८२, सोमबार

बागलुङ/२०२२ सालदेखि २०५० सम्म बलेवा विमानस्थलमा जहाजले उडान भर्थे । कच्ची विमानस्थल भएपनि खचाखच यात्री हुन्थे । सातामा तीन दिनसम्म जहाज चल्दा, बागलुङ, पर्वत, म्याग्दी, पोखरा, भैरहवा र काठमाण्डौंका यात्रु यात्रा गर्थे ।

प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको सिफारिसमा मात्रै टिकट पाउने अवस्था हुन्थ्यो भन्छन् बागलुङका हरिप्रसाद श्रेष्ठ । ‘बिरामी, असक्तले पनि सिडिओको सिफारिसमा मात्रै टिकट पाउँथे,’ उनले भने, ‘पोखरा–बागलुङ सडक खुलेपछि बलेवामा जहाज पातलिंदै बन्द भयो ।’ उनले अत्यावश्यक काम परेर जानुपर्दा सिडिओको सिफारिस नपाएको अनुभवसमेत सुनाए ।

चार वर्षअघि बिमानस्थल कालोपत्रे भएको छ । त्यसयता एकपटक पनि जहाज आएको छैन । विमानस्थल संचालनमा कसैले पनि चासो गरेका छैनन् । काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनीले २०७८ को बैसाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा विमानस्थल कालोपत्र गरेको थियो । अन्दाजी ७ सय मीटर लम्बाइ कालोपत्रसहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मिटर चौडा मैदानमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रंगरोगनसमेत लगाएपछि जहाज उडाउन पहल भने नभएको हो ।

बागलुङ नगरपालिका १४ को नारायणस्थानमा रहेको विमानस्थलको घेराबारमा यतिबेला खिया लागिसकेको छ । यहाँ पुग्नेले तारबार लगाएको स्थानबाट तस्बिर खिच्ने काम गर्छन् । कतिले कालोपत्र मैदानको प्रशंसा गर्छन् । कतिपयले जहाज कहिले आउँछ भनेर सामाजिक संजालमा प्रश्न तेस्र्याउँछन् । वडा अध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थल बनाउन करोडौं खर्च गरेर पनि उपलब्धीविहीन भएको बताए ।

विमानस्थलको काम हेर्ने पोखरा विमानस्थललाई पनि यसबारे जानकारी छैन । जहाज पठाउने नपठाउने अधिकार केन्द्रीय कार्यालय र महानिर्देशकका निहित भएकोले पोखराका कर्मचारीले केही बताउन सकेनन् । २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले श्रमदान गरेर यो विमानस्थल बनाएका थिए ।

सदरमुकामदेखि बलेवातर्फको ८ किमी सडक कालोपत्र तयारी छ । सडक सहज भएमा हवाइजहाज संचालनको पहल गर्ने बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । स्थानीयले भने हवाइ भाडा सहज भएमा मात्र यात्रीहरु बढ्ने बताउँछन् । बन्द भएको तीन वर्षसम्म पनि स्थानीय सविता रोका यो विमानस्थलको हेरालो छिन् । उनले नियमित तलब खादै आएकी छिन् ।

सदरमुकामदेखि १ सय २६ किमी पश्चिमको अर्को ढोरपाटन विमानस्थल पनि अलपत्र छ । २०३२÷०३३ सालमा स्थानीयको श्रमदानले यो विमानस्थल बनाइएको थियो । स्विस सरकारले सहयोगबाट यो विमानस्थल बनेको स्थानीय नन्दे सुनार सम्झन्छन् । ‘हामी काम गर्न जाँदा जहाजबाट खाजा खसालिदिएका थिए,’ उनले भने, ‘मिसन अस्पताल बनाउने तयारीले मैदान बनाइयो, पछि त्यो अस्पताल पाल्पा गयो ।’ अस्पताल नहुने भएपछि विमानस्थल घुम्न आउने पर्यकटका लागि मात्रै भएको उनले बताए । पछिल्ला वर्ष भने एयरपोर्ट जीर्ण छ । आरक्षमा सिकार गर्नेहरु हेलीकोप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्छन् ।

बिरामी र प्रसूती व्यथाका महिलाको उद्दारका लागि भने यो विमानस्थल उपयोगी बन्न सक्ने स्थानीय भद्रमणी सुनारले बताए । ग्रामीण बस्तीमा होम डेलीभरी अन्त्य नभएकोले हेली उद्दार भैरहेको छ । विमानस्थल स्तरीय बनाउन सकेमा सिकारीहरुले पनि चार्टर जहाज ल्याउन सक्ने स्थानीयले बताए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगले विमानस्थलहरु प्रदेशको क्षेत्राधिकारमा नपरेपछि लगानीको योजना बनाएको छैन । आयोगका सूचना अधिकारी सन्तोष देवकोटाले पहल गरेर विमानस्थल संचालनमा अगुवाई गरेपनि आफ्नै लगानी गर्न नसकेको बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन भएपछि आसपासका विमानस्थल पर्यटकको मागमा पर्छन्,’ उनले भने ‘त्यसका लागि संघीय सरकारले नै ठोस नीति ल्याउनुपर्ने नीतिगत व्यवस्था छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->