पोखरा/ ताप्लेजुङ र कालीकोटमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको ज्यान गएको छ । ताप्लेजुङमा बोलेरो जीपमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाले ज्यान गुमाए भने कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो ।
पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरो ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको थियो । घटनामा दुई जना घाइते भएका छन् । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ । मृतकमा ललितपुरको ललितपुर महानगरपालिका–१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका– १० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । सोमबार बिहान करीव ५ बजेको समयमा विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
उता कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका–२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पलाँता– ९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको र पलाँता–४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र खत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकायाको मृत्यु भएको हो । ट्र्याक्टर भीरबाट खसेको थियो ।





