पोखरा/ नेपाली काँग्रेसका नेता दुर्गा तिमल्सिना नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ५१(१)(क) बमोजिम महाधिवेशन प्रतिनिधि र धारा ५१(१)(ख) बमोजिम महासमिति सदस्यमा मनोनित गरेका हुन् । यसअघि कास्की जिल्लामा २०४८ पछि १२ औं महाधिवेशनमा लक्ष्मीबहादुर भट्टराई महाधिवेशन प्रतिनिधि मनोनित भएका थिए भने १३ औं महाधिवेशनमा तारानाथ रानाभाट महासमिति सदस्य मनोनित भएका थिए ।
पार्टीमा इमान्दार एवम् निष्ठावान राजनीतिज्ञ एवम् सामाजिक अभियन्ताका रुपमा परिचित तिमल्सिनाले यसअघि पार्टीको पूर्व महासमिति सदस्य, पोखरा उपत्यका नगर विकास समितिको सदस्य एवम् अध्यक्ष, नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ को क्षेत्रीय सभापति, जिल्ला सदस्य, पार्टीको परराष्ट्र समन्वय विभागको सदस्य सहित ३ पटकसम्म विभिन्न विभागको सदस्य बनिसकेका थिए । २०४३ सालमा काँग्रेसको पञ्चायत उपयोग गर्ने नीति अनुसार कास्कीकोट गाउँ पञ्चायतको उपप्रधानपञ्च निर्वाचित बनेका तिमल्सिना नेपाल विद्यार्थी संघको स्थापना कालदेखि नै सदस्य थिए ।
२०३४ सालदेखि २०४९ सालसम्म कास्कीकोट पार्टी इकाइको सभापति, २०५५ सालमा नेपाल तरुण दलको जिल्ला सदस्यका रुपमा रहेर उनले काम गरिसकेका थिए । प्रतिबन्धित समयमा २०४४ सालमा पार्टीको कृयाशिल सदस्य लिदै गाउँ, क्षेत्र, हुँदै जिल्लासम्मका विभिन्न जिम्मेवारी सम्हालीसक्नुभएका तिमल्सिना सुकुम्वासी समस्या समाधान आयोगको क्षेत्र नं ३ को क्षेत्रीय संयोजक एवम् जिल्ला सदस्य, एमनेष्टी अन्नपूर्ण समूह ५४ को संयोजक जस्ता धेरै सामाजिक जिम्मेवारी पनि सम्हालीसकेका छन् ।
नेपालमा लोकतन्त्रको स्थापनाका लागि २०४६ सालमा स्याङजा र २०६१/०६२ मा कास्कीमा राजनीतिक बन्दीका रुपमा जेलजीवन विताएका उनी पटकपटक गिरफ्तारीमासेमत परेका थिए ।




