पोखरा/ पोखरा विश्वविद्यालयका रजिष्टार पदबाट कार्यकाल सम्पन्न गरेका प्रा.डा. दिपकबहादुर भण्डारीलाई विश्वविद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विभिन्न निकायका शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको थियो।
भण्डारीले २०७८ वैशाख ५ गतेदेखि २०८२ वैशाख ४ गतेसम्म विश्वविद्यालयको रजिष्टार पदमा रहेका थिए । बिदाई कार्यक्रममा उपकुलपति प्रा.डा. बेदराज के.सी. ले भण्डारीले ४ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उनको कार्यकालमा भौतिक पूर्वाधार विकास, एकाडेमिक क्यालेन्डरको नियमितता र पाठ्यक्रम अद्यावधिक गर्ने जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएको जनाए । उनले राम्रा कार्यले पोखरा विश्वविद्यालयको छवि समाजमा सकारात्मक रूपमा स्थापित भएको र विद्यार्थीको आकर्षण बढेको उल्लेख गरे ।
सेवा आयोगका अध्यक्ष प्रा.डा. तीर्थराज अर्यालले भण्डारीको विद्वता, ज्ञान, सिप र नेतृत्व क्षमताको प्रशंसा गरे । उनले विश्वविद्यालयमा योग्य व्यक्ति आउनुपर्नेमा जोड दिँदै पदको लागि खुट्टा तान्ने प्रवृत्तिबाट जोगिनुपर्ने धारणा उनको थियो । विदाई गरिएका भण्डारीले आफ्नो कार्यकालमा विश्वविद्यालयबाट धेरै कुरा सिक्न पाएको, धेरै व्यक्तिहरूसँग चिनजान र सहकार्यको अवसर पाएको बताए । उनले रजिष्टार पद सम्हाल्दा र अहिलेको अवस्था निकै फरक भएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा भएको प्रगति, एकाडेमिक क्यालेण्डर अनुसार परीक्षा सञ्चालन, कार्यक्रम सञ्चालनका लागि हल, कक्षा कोठा निर्माणलाई तिव्रता दिएको उल्लेख गरे । उनका अनुसार कार्यकाल सुरु गर्दा विश्वविद्यालयको खातामा सीमित रकम मात्र रहेकोमा हाल करिब ५० प्रतिशतले वृद्धि भएको छ। उनले मुँसेटुँडामा ८ अर्बको महत्वाकांक्षी परियोजनाको डिपिआर तयार गरिएको, २४ वर्षपछि १०० शैयाको अस्पताल निर्माण गरिएको, जसले अब मेडिकल कार्यक्रम सञ्चालनमा सहजता ल्याएको जानकारी दिए । त्यस्तै, शिक्षक तथा कर्मचारीहरूको तालिम, बढुवा, र आवश्यकताअनुसारका व्यवस्थाहरू कार्यान्वयन गरिएको जानकारी दिँदै, समयमै परीक्षा र नतिजा प्रकाशनका कारण विद्यार्थी संख्या ३८ प्रतिशतले वृद्धि भएको उल्लेख गरे ।
व्यवस्थापन संकायका डीन सह–प्रा.डा.दयाराज ढकालले उनको सकारात्मक सोच, सहकार्य र नेतृत्व क्षमता उल्लेख गरे । परीक्षा नियन्त्रक सह–प्रा.डा. तुल्सीराम भण्डारीले विश्वविद्यालयको पठनपाठन, परीक्षा र द्रुत गतिमा विकासमा रजिष्टारको उल्लेखनीय भूमिका रहेको बताए । कार्यकारी परिषद्का सदस्य तथा उप–प्राध्यापक योगराज लामिछानेले डा. दिपकबहादुर भण्डारीसँग एक दशकभन्दा लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गरे । प्राध्यापक संघका अध्यक्ष सह–प्रा.डा. निरञ्जन श्रेष्ठले विश्वविद्यालयको नेतृत्वमा योग्यताको मापदण्ड तोक्नुपर्ने र एकपटक ४ वर्ष पदमा बसेपछि दोहोरिन नहुने धारणा राखे ।
पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा.डा. दिपकराज पौडेलले भण्डारीसँगको कार्यसम्बन्ध स्मरण गरे । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. पूर्णबहादुर खाँडले भण्डारीको कार्यकालमा विश्वविद्यालयले भौतिक, शैक्षिक र गुणस्तरीय मापदण्डहरू हासिल गरेको बताए । स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोखरा विश्वविद्यालयका स्कूल निर्देशक बिमला भट्टले रजिष्टारको जड स्तरबाट समस्या बुझेर कार्यलाई निचोडमा पुर्याउने अनुभवले काम गर्न सजिलो भएको बताए ।
स्कूल अफ इञ्जिनियरिङका उप–प्राध्यापक निरज खड्काले स्थायी र करार शिक्षकबीच भेद नगरी समान दृष्टिकोण अपनाएको र करार शिक्षकका समस्याको समाधान गर्न रजिष्टारले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाइले रजिष्टारले विश्वविद्यालयको समग्र हितलाई बुझेर नेतृत्व गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा स्वागत मन्तव्य सह–प्रशासक यादव थापा र सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।





