पोखरा/पोखरा २६ ले एसइई दिएर बसेका विद्यार्थीका लागि डिजिटल प्रविधिमा आधारित तालिम सुरु गरेको छ । तालिम सुरु गर्दै अध्यक्ष नरेन्द्र थापाले पछिल्लो पुस्तालाई डिजिटल प्रविधिमा अभ्यस्त गराउन तालिम सहयोगी हुने बताए ।
तालिमले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्नको लागि पनि थप सहयोग पुग्ने उल्लेख गर्दैअध्यक्ष थापाले डिजिटल प्रविधिको सिकाई जीवन उपयोगी हुने धारणा पनि राखे ।
भिडियो सम्पादन, विषयबस्तुको खोजी र चयन एवं ग्राफिक्स डिजाइनको तालिमले एसइईको नतिजा पछिको अध्ययनलाई समेत थप टेवा पुग्ने उनको भनाइ थियो ।
उनलेवडाले पढ्दै कमाउँदै र बुक फ्रि डे जस्ता विद्यार्थी लक्षित कार्यक्रम बनाएको जानकारी दिँदै त्यसलाई सीप विकाससँग जोड्दै लगिने पनि बताए ।
कार्यक्रममा शिक्षाविद् रविराज बरालले परिक्षा पछिको फुर्सदको समय के गर्ने भन्ने निर्णय गर्न नसकेका विद्यार्थीका लागि उचित समयमा तालिम प्रदान गरिएको बताए ।
उनलेबृज कोर्षको नाउँमा विद्यार्थीहरुले महङ्गो शुल्क तिर्ने गरेको उल्लेख गर्दै,सीप विकास हुने तालिमको आयोजना गरेर वडाले स्थानीय सरकार हुनुको अनुभूुति दिलाएको धारणा पनि राखे ।
वडा सदस्य तिीर्थबहादुर राजभाटको अध्यक्षतामा भएको तालिम शुभारंभ कार्यक्रममा वडा नं. २६ का वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा, तालिम सहयोगी संस्था आकारका इन्जिनियर सन्दीप पौडेललगायतले सामाजिक संजालसहितको डिजिटल प्रविधिको ठू्रलो बजार रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्न आग्रह गरेका थिए ।
भिडियो सम्पादन, ग्राफिक्स डिजाइन, कन्टेन क्रियशन, व्यक्तित्व विकास, प्रोग्रामिङ एण्ड रोवटिक्ससहितको तालिममा वडा नं. २६ का ७० बालबालिकाको सहभागिता रहेको छ ।





