पोखरा/ बित्तीय सुशासन जोखिम मुल्यांकनमा कास्कीका ५ स्थानीय तहमध्ये रुपा गाउँपालिका पहिलो बनेको छ । जिल्ला समन्वय समिति कास्कीले कास्कीका स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्यांकनको मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार कूल एक सय अंकभारमा रूपा गाउँपालिकाले ६८ प्रतिशत ल्याएर पहिलो बन्न सफल भएको हो ।
सार्वजनिक नतीजा अनुसार अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत, मादी गाउँपालिकाले ६१.५ प्रतिशत, पोखरा महानगर पालिकाले ४७.५ र सबैभन्दा कम माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत अंक प्राप्त गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नतिजा सार्वजनिक गर्दै कास्कीका पालिकाहरूको वित्तीय सुशासनको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गरे ।
प्रमुख पौडेलले ४० प्रतिशतभन्दा तल उच्च जोखिम ,४० प्रतिशतबाट ८० प्रतिशतसम्म मध्यम जोखिम र ८० भन्दा माथि अंक प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी वर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । वित्तीय सुशासनको विषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गरे । उन्नत खालको सुशासन उत्कृष्ट वित्तीय सुशासन बिना असम्भव रहेको पौडेलको भनाइ थियो। प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत जिसस कास्कीका उपप्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, कर्मचारी, सञ्चारकर्मी र सरोकारवालाहरूको उपस्थिति थियो ।





