सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

न पुल बन्यो, न फड्के हाल्ने ठाउँ नै रह्यो

न पुल बन्यो, न फड्के हाल्ने ठाउँ नै रह्यो

३ करोड ३४ लाख लागतको भुजीखोला पुल २०७४ को माघमा बनिसक्नुपथ्र्यो । तर, ८ वर्ष बितिसक्दा पनि यो पुलका दुइवटा पिलर मात्र ठडिएका छन् । अब कहिले बन्छ भन्ने यकिन भएको छैन ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८२, बुधबार
?

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ५ को भुजीखोला पुलको यो हविगत भएको दशक पुग्यो । पुल नबनेपछि अलपत्र पिलरसमेत जोखिममा परेका छन् । प्राविधिकका अनुसार यहाँ झण्डै २ करोड रुपैयाँ खर्च भैसकेको छ ।

२०७७ सालको भुजीखोलाको बाढीले पश्चिमतर्फको पिलर नकिजकै खोलाको आधा भागले जमिन खोल्दा थप अर्को पिलर चाहिने अवस्था छ । त्यसका लागि डिजाइन पनि फेर्नुपर्ने अवस्था छ । तत्कालीन डिजाइन अनुसार यो पुलको ५० प्रतिशत भौतिक प्रगति भए पनि उपयोगविहिन छ । उक्त पुल बनाउन सडक डिभिजन कार्यालयले नयाँ ठेक्का, डिजाइन परिवर्तनको काम गरेर विभागमा पठाएको छ ।

रकमको सुनिश्चतता नभएको, कानूनी अड्चन हटाउन बाँकी रहेको र बाँकी कामको लागि प्राविधिक कारणले ठेक्का लगाउन नसकेको कार्यालयका इन्जिनियर सागर भण्डारीले बताए । ढोरपाटन नगरपालिका ५ को अधिकारीचौरमा निर्माण गरिने भुजीखोला पुल वाइपी रफिना संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको थियो । २०७३ अजोस ४ गतेको ठेक्का सम्झौता अनुसार काम गरेको भए २०७४ को माघ ४ गते सकिनुपर्ने थियो । लामो समय अलपत्र पारेर अन्तिम पटक २०७७ साल मंसिर १४ मा थपिएको म्यादमा पनि कुनै प्रगति नभएपछि कार्यालयले तीन वर्ष अघि यो पुलको ठेक्का रद्ध गराएको थियो ।

ठेक्का रद्द भएपनि स्थानीयले भने हरेक वर्ष यात्रामा सास्ती खेपेका छन् । वर्षात्मा जोखिम भएकोले बुढाथर पुगेर घुमाउरो बाटो हिँड्न बाध्य छन् । ‘न पुल बन्यो, न यहाँ फड्के हाल्ने ठाउँ रह्यो,’ स्थानीय चुडामणी सापकोटाले भने, ‘विद्यालय आउजाउ गर्न सधैंको सास्ती खेपेका छौं ।’ सबैभन्दा धेरै दुःख विद्यार्थीले पाएका छन् ।
डिभिजनका प्राविधिकले आफ्नोतर्फको काम सकेर मन्त्रालयमा फाइल पठाएको पनि तीन वर्ष भैसकेको छ । पछिल्लो समय खोलाको बहाव फेरिइरहेकोले इन्जिनियरहरु नियमित पुगेर फेरिएको संरचनाबारे नक्सांकन गर्ने र आवस्यक रकम सहितको प्रतिवेदन लेख्ने काम गरिरहेका छन् । तर, आर्थिक संकट भन्दै अर्थमन्त्रालयले बजेट सुनिश्चत नगर्दा ठेक्का लगाउन नसकेको डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले बताए ।

सोही समयमा सम्झौता भइ ठेकेदारकै लापरबाहीले दरमखोला पुल पनि अलपत्र छ । गलकोट नगरपालिका ८ देखि ९ जोड्ने दरमखोला पक्की पुल ८ वर्षदेखि अलपत्र परेको हो । पटक–पटक म्याद थप्दा पनि काम नगरेपछि सडक डिभिजन कार्यालय बागलुङले सार्वजनिक खरिद ऐनको बर्खिलाप गरेको भन्दै वाइ पी कन्स्ट्रक्सन प्रालिको ठेक्का रद्द गरेको थियो । डिभिजनकै सिफारिसमा संघीय सडक तथा सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सबै प्रक्रिया पु¥याएर कम्पनीलाई कालो सूचिमासमेत राखेको छ । ठेक्का रद्द भएपछि बाँकी रकमको पुन सुनिश्चिता नभएसम्म नयाँ ठेक्का लगाउन नपाएपछि डिभिजनले पनि काम अगाडि बढाउन नसकेको हो ।

ठेकेदारले अदालतमा मुद्दा दिएपछि डिभिजन कार्यालय पनि अलमलमा परेको हो । २०७९ मंसिर २३ गते कार्यालयको कारवाही गर्ने सूचना उपर ठेकेदारले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । काम गर्न कहिले पनि नआएको ठेकेदारले मुद्दा दिएर कार्यालयलाई अप्ठ्यारो पार्ने काम गरेका थिए । तर, अदालतले अन्तरिम आदेश दिनु नपर्ने गरी फैसला गरेपछि कार्यालयलाई ठेक्का रद्द गर्ने बाटो खुलेको थियो । नयाँ ठेक्काका लागि भने अर्थको सहमति नपाएर रोकिएको हो ।

दरमखोला पुल पनि निर्धारित समयमा काम गरेको भए २०७५ माघ ९ गते सकिनुपर्ने सम्झौतामा उल्लेख छ । तर, त्यहाँ पनि तीनपटक सम्मको म्याद थपेर काम अलपत्र छाडेपछि डिडिजन कार्यालयले ठेक्का रद्द गराएको हो । ६ करोड १७ लाख रुपैयाँको ठेक्का सम्झौताको यो पुलमा पनि एकातर्फको पिलर मात्रै ठड्याइएको छ । इन्जिनियरका अनुसार यो पुलको ४० प्रतिशत काम भएको भनिए पनि संरचनामा केही पनि देखिंँदैन ।

गलकोट नगरपालिका ९ का अध्यक्ष तेजबहादुर थापाले पुल नहुँदा जनताले सास्ती खेपेको बताए । मध्यपहाडी लोकमार्गदेखि काँडेवास र पचुवा जोड्ने दरमखोला पुल बनेमा यहाँको शिव माविका विद्यार्थीले सहज यात्रा गर्न पाउँछन् । गाडी चढेर जानुपर्नेले ६ किमी उत्तरतर्फ लागेपछि हटियाबाट मात्र यो खण्डमा सवारी लैजान सकिन्छ । अन्यत्र सवारी लैजाने सडक छैन । राजमार्गमा झारेको सामान बोकेरै कांडेवास, चालिसा, ज्यामिरे र थालेपोखरासम्म लैजानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->