बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले शालीग्राम र कालीगण्डकी नदी संरक्षण गर्न ढीला गर्न नहुने बताएका छन् । उनले नदी उत्खनन्को नाउँमा भैरहेको दोहनलाई राज्यले टुलुटुलु हेर्न नहुने बताए ।
बागलुङ नगरपालिका ४ कुँडुलेस्थित शालग्राम संग्राहलयमा बुधबारदेखि संचालन भएको शालग्राम महोत्सवको उद्घाटन गर्दै मन्त्री पाठकले शालीग्रामको महत्वबारे सबैलाई जानकारी गराउनुपर्ने आवस्यकता पनि औल्याए ।
उनले नदीको महत्व, प्रकृति र शालीग्रामको महत्व युवापुस्तालाई बुझाउन नसकेमा नदीको अस्तित्व पनि लोप हुने खतरा भएको बताए । ‘हामीले हाम्रौ सभ्यता र महत्व गुमाइरहेका छौं, अब संरक्षण गर्ने दायित्व पनि हाम्रै काँधमा छ’ पाठकले भने, ‘अनियन्त्रित रुपमा नदी दोहन गर्दा मानव जीवनको अस्तित्व पनि संकटमा पर्छ ।’ नदीको बहाव समेत फेरेर गरिएको दोहनले नदी कुरुप भएको, शालीग्रामहरु नष्ट भएको पनि उनले बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले शालग्राम संरक्षण गर्ने काम मात्र नभइ सबैले सत्चरित्र निर्माण गर्नुपर्ने बताए । उनले भारतीयले शालीग्रामको महत्व बुझेर अयोध्या लगेर पुजेको तर हामीले पुज्न नसकेको बताए । ‘एउटा शिला अयोध्या लगेर नेपालबाट ल्याएको भनेर लेखेर राखिएको छ, हामीले त्यसको महत्व बुझ्न सकेनौं’ उनले भने, ‘शालीग्रामले बनेका घरमा बसेर हामीले सतचरित्र देखाउन चुकेका छौं ।’ रामायणका राम र महाभारतका कृष्णको चरित्रमा बस्न सकेमा शालीग्राम पुज्नुको अर्थ हुने उनको भनाई थियो ।
कार्यक्रममा शालग्राम संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले शालग्रामको संरक्षण, धार्मिक पर्यटक भित्राउने मात्र नभइ १ सय ८ रामायण पाठ गरेर समाजमा सतचरित्र निर्माणको अभियान थाल्न लागेको बताए । विभिन्न स्थानबाट आएका ऋषि, बटुक र गुरुहरुले रामायण पाठ गरिरहेका छन् । शालग्राम संग्राहलयको महत्व बढाउन र भानुभक्तले अध्ययन गरेको क्षेत्रको प्रचार गर्नका लागि पनि यो महोत्सव उपयोगी हुने उनले बताए ।
इतिहासका अनुसार तनहुँको चुँदीमा जन्मेका भानुभक्तले बागलुङकै मुलपानीमा आएर विरशाली पन्तमार्फत शिक्षा पाएको उल्लेख छ । भानुभक्तलाई समेत शिक्षा दिने स्थानका मानिसले भानुभत्तिय रामायणबारे जानकारी पाउनुपर्ने र रामायणको सत्चरित्र निर्माणमा स्थानीयलाई प्रेरित गर्न महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।
धार्मिक रुपमा महत्वको स्थान भएकोले आउने भक्तजनले यो महोत्समा सहभागिता जनाएपनि रामायणको महत्व बताउने काममा भने स्थानीय जोसुकैलाई निमन्त्रणा गरिएको हो । रामायण पाठ गर्न चाहनेलाई आयोजकले पुस्तक उपलब्ध समेत गराएको छ ।
महोत्सव उद्घाटन संरक्षक ऋषिप्रपन्नाचार्यको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद शर्माको संचालन र मुक्तिनाथ बेदविद्याश्रम पाठशालाका प्रधानाध्यापक जगन्नाथ शर्मा आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।
महोत्सवमा भारतको अयोध्याबाट १ हजार ८ स्वामी बालकृष्ण आचार्य, काठमाण्डौं लगायतका विभिन्न क्षेत्रबाट धार्मिक अगुवाहरुको पनि सहभागिता छ ।





