पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको नेतृत्वमा पोखराबाट गएको एक टोलीले गण्डकी प्रदेशको समग्र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
आर्थिक तथा पर्यटन पूर्वाधारको विकाससम्बन्धी विभिन्न प्रस्तावका बारेमा अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग आइतबार राति परामर्श गर्देै प्रदेशको दीर्घकालीन विकासका लागि ९ बुँदामा बजेट मागेको हो । २०३९ माघ ३ देखि २०४२ कात्तिकसम्म ओली कास्की कारागारमा थिए । त्यसपछि स्याङ्जा हुँदै हनुमानढोका लगिएको थियो । ओली पोखरा आउँदा कास्की जेलजीवन र यहाँका नागरिकले देखाएको सदाशयता सम्झेर कहिलेकाहीँ भावुक पनि हुन्छन् । त्यही भावना सम्झाएर एमाले नेता अधिकारीले केही योजना बुझाएर आगामी वर्षको बजेट मागेका हुन् । ‘सम्माननीय ज्यूको राजनीतिक जीवनको एक महत्त्वपूर्ण कालखण्डको रूपमा रहेको कास्की कारागारको जेलजीवन अवधिमा गण्डकी र त्यसमा पनि पोखरेली जनताले आफ्नो प्रिय नेतासँग प्राप्त गरेको सामिप्यता र अनुभूतिलाई समेत स्मरण गर्दै यस प्रदेशको समग्र विकास निर्माण र आर्थिक समृद्धिका लागि सङ्घीय सरकारका तर्फबाट प्राथमिकताका साथ आवश्यक पहलकदमी लिइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ अधिकारी नेतृत्वको प्रतिनिधि मण्डलले बुझाएको पत्रमा लेखिएको छ ।
गण्डकी प्रदेशका कृषि, उद्योग, पर्यटन तथा व्यापार विस्तारका लागि लोकमार्गसँगै रहेका मस्र्याङ्दी, मादी र कालीगण्डकी नदी उपत्यकामा विशेष आर्थिक केन्द्रहरू स्थापना तथा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, पोखरामा अन्तर्राष्ट्रिय सूचना, प्रदर्शनी तथा सम्मेलन केन्द्र निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्न आवश्यक पहल, कोरोला–त्रिवेणी–रुइला पास (उत्तर–दक्षिण) नाका खोल्ने तथा वैदेशिक व्यापारका लागि पूर्वाधार निर्माणका विषयमा पनि परामर्श भएको थियो । यसैगरी, हिमालपारिका जिल्लाहरूमा कृषि तथा जडीबुटी उत्पादन, प्रशोधन तथा पशुपालनका विशेष कार्यक्रम सञ्चालन गर्ने, प्रस्तावित पुँडीटार र लौकाहा खोला औद्योगिक क्षेत्र निर्माण गर्ने, साथै फेवा ताललगायतका तालहरूको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने प्रस्ताव राखिएको छ ।
पोखरालाई शिक्षा, स्वास्थ्य, खेलकुद तथा माइस टुरिज्मको केन्द्रका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणको मागसमेत गरिएको छ भने गण्डकी प्रदेशलाई समृद्ध बनाउने उद्देश्यले प्रस्तुत गरिएका यी प्रस्तावहरूमा प्रधानमन्त्रीले सकारात्मक ध्यान दिने आश्वासन दिएको टोलीले जनाएको छ । टोलीमा प्रतिनिधि समा सदस्य दामोदर बैरागी, प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष श्रीकान्त खतिवडा, पर्यटन व्यवसायी वासु त्रिपाठी, हरि शर्मा गैरे, लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बलराम ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका निवर्तमान अध्यक्ष मोतिराम पौडेल, एमालेका कास्की–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष उद्यङ्गमराज तिमिल्सिनालगायत सहभागी थिए ।





