पोखरा/गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीपद्मा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप आउँदो आर्थिक वर्षका कार्यक्रम तय हुने बताएकी छन् ।
प्रदेशका सबैजसोजिल्लाकाकृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले सुझावहरु नीति तथा कार्यक्रम अनि बजेटमा समेटिने बताइन् ।
अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीद्धारा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशमा कृषि क्षेत्रको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘प्रदेशका सबैजसो जिल्लाका कृषकसँग मैले प्रत्यक्ष संवाद गरेको छु । उहाँहरुकै खेतबारी, गोठहरुमा पुगेर समस्याहरु सुनेको छु । ती सबै सुझाव र समस्याहरु सम्बोधन हुने गरीआगामी आ.व.को नीति तथा कार्यक्रम तय गर्ने तयारीमा छौँ ।’
कृषक प्रत्यक्ष लाभान्वित हुने गरि कार्यक्रम निर्माणका लागिमन्त्रालयका विज्ञहरुले कार्य गरिरहेको उनले जानकारी गराइन् ।
हिमाल, पहाड र तराईको भूगोल सुहाँउदो खेती विस्तारका लागि स्थानीय तहहरुसँग पनि छलफल भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बताइन् ।
एमालेगण्डकी प्रदेश सचिव धनञ्जय दवाडीले कृषि क्षेत्रको वर्तमान नीतिहरुमा पुनरावलोकनको आवश्यकता रहेको औैंल्याउँदै बजार व्यवस्थापनमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष प्रेम नारायण अधिकारी, पोखरा रिसर्च सेन्टरका सुजन रेग्मीलगायतले कृषक हितलाई आगामी बजेटले सम्बोधन गर्ने विश्वास ब्यक्त गरे ।
कमिटीका अध्यक्ष गोवर्धन गौलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





