पोखरा/ प्रशासन महाशाखाका सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार हातपात गरेपछि पोखरा महानगरका कर्मचारी आन्दोलित बनेका छन् ।
पराजुलीले वैशाख २३ मंगलबार पौने १२ बजेको समयमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पोखरेलमाथि हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । विज्ञप्तिमा घटना निन्दनीय भएको भन्दै भत्र्सना गरिएको छ । घटनामा संलग्न व्यक्ति उपर २४ घन्टा भित्र कानुन बमोजिम कारवाही गर्न ध्यानाकर्षण पनि उक्त पत्रमा गरिएको थियो । नभए, वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरु अगाडि बढाइने व्यहोरा समेत जनाएका कर्मचारीहरुको आन्दोलनका कारण बुधबार महानगर र वडाहरुमा समेत काम प्रभावित भएको हो ।

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले हिजै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरुकै अग्रसरतामा आन्दोलन भएको हो । वडाध्यक्ष पराजुलीले कर्मचारी नभएका कारण वडाको काम प्रभावित भएको भन्दै भएका थिए । कर्मचारी व्यवस्थापनकै विषयमा विवाद हुँदा पराजुलीले हातपात गरेका हुन् ।





