पोखरा/ पोखरा महानगरपालिका –४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । पराजुलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका एक कर्मचारी र पन्थी गल्लीका एक व्यवसायीमाथि हातपात गरेका थिए । कुटिएका व्यवसायीले वडा कार्यालयमा नै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए भने मंगलबार साँझ कास्की प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन महाशाखाका सातौं तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाउनुका साथै बुधवार महानगर र वडाहरुको काम पनि ठप्प पारेका थिए । कर्मचारीहरुको जाहेरी भने प्रहरीकोमा हालसम्म गएको छैन ।
पराजुलीले प्रशासन महाशाखाका सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि मंगलबार प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए ।





