बागलुङ/जैमिनी नगरपालिकाको हाडिकोट पर्यटकीय गन्तव्य बन्दैछ । गन्तव्यका लागि नगरपालिकाले आवस्यक पुर्वाधार पनि बनाइरहेको छ । जैमिनी नगरपालिका १० स्थित समुन्द्री सतहदेखि २ हजार १ सय ९५ मीटर उचाइको टापुलाई पर्यटकीय स्थल बनाउन जैमिनी नगरपालिकाले लगानी बढाएको हो । गण्डकी प्रदेश सरकार र नगरपालिकाको लगानीमा यो टापुमा लाखौं लगानी भैसकेको हो ।
यहाँ तीनतले भ्यूटावर पनि बनेको छ । टापुसम्म सडक खुलाइएको छ । साधन चढेर जान पाउने भएपछि पर्यटकहरु जानेक्रम बढेको छ । ‘पहिला पैदल हिंडेर मात्र जानुपथ्र्यो, अहिले त गाडी चढेर पनि पुगिन्छ’ वडा नं. १० का अध्यक्ष श्रीप्रसाद थापाले भने, ‘स्तरीय सडक बनाउन पहल भैरहेको छ ।’ कुश्मीसेरा नाम्दुक हुँदै बरेङ जाने सडकको केही खण्ड कालोपत्रे भैसकेकाले डाँडाखानी देखिको झण्डै ५ किमी सडक स्तरीय बनाउन सकेमा हाडिकोटमा पर्यटक धेरै लैजान सकिने उनले बताए ।
वडा, नगर र प्रदेशको बजेटले यहाँ भ्यूटावर निर्माण भैसकेको छ । सडक संजालले जोड्ने काम भएको हो । बिहाडथलादेखि पदमार्गबाट पनि हाडिकोट जोडिएको छ । तीनचार वर्षको बजेट जोडेर झण्डै ५० लाख लगानी गरेर एक किमी पदमार्ग बनिसकेको छ । त्यस बाहेक थप ५ सय मीटर सिंढी बनाउन बाँकी छ ।
जैमिनी नगरपालिकाका योजना शाखाका प्रमुख प्रेम सापकोटाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि सानो लगानीमा थालिएको हाडिकोटको पुर्वाधारमा अहिलेसम्म २ करोड बढी लगानी भएको छ । यहाँ सत्तल, घेराबार र केही शिलालेख समेत राख्ने लक्ष्य छ । खानेपानीको अभाव भएकोले व्यवस्थापन गर्ने नगरको योजना छ ।
हाडिकोटबाट दक्षिणमा गुल्मी, पूर्वमा पर्वत, उत्तरतर्फ धौलागिरि र अन्नपूर्ण हिमाली श्रृंखला, देखिन्छ । हाडिकोट उक्लेर रमाउने, वनभोज खाने र प्राकृतिक दृश्यावलोकन गर्नेको आजकल भीड समेत लाग्न थालेको छ । हरेक बर्ष फागु पूर्णिमामा यहाँ मेला लाग्छ । हाडिकोटमा अवस्थित देवीको पूजा गरेर भेडाको बली दिने चलन छ । स्थानीय मगर समुदायले सोही दिन कुल पूजा पनि गर्छन् ।
भुरेटाकुरे राज्यको स्थल भएकोले यहाँ देवी पुज्ने, बली दिने र पुराना हातहातियारको संग्रह गरिएको स्थानीय लालबहादुर पुनले बताए । पछिल्लो समय भने हिमाल हेर्ने, उचाइमा पुगेर सूर्योदयको दृश्यावलोकन गर्न पनि यहाँ पर्यटक जाने गरेका हुन् । स्थानीयले पनि पर्यटन प्रवद्र्दन लक्षित विकासका योजना अगाडि सारेका छन् । यो ऐतिहासिक र धार्मिक स्थल समेत हो । यहाँको पूर्वतर्फ थन्थापमाईको प्रसिद्द मन्दिर समेत छ । यहाँ पनि पुरातात्विक महत्वका वस्तु भेटिएकोले संरक्षण प्रयास भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका हातहतियार र नापतौलका सामाग्री यहाँ संग्रह गरेर राखिएको छ । ‘खोज र अनुसन्धान हुन बाँकी नै छ, तर यो कुनै ऐतिहासिक किल्ला हो भन्नेमा हामी विश्वस्त छौं’ शर्माले भने, ‘थन्थापमाई नजिकै रहेको तोपको भग्नावशेषले पनि यो महत्वको क्षेत्र भएको पुष्टी गर्छ ।’
हाल बिहाडथलादेखि हाडिंकोट पुग्न बनाइएको पदमार्गलाई तल्लो खण्डमा पनि विस्तार गर्ने नगरको योजना छ । हरेक वर्ष बजेट राखेर खण्ड खण्डमा पदमार्ग बनाइरहेको सापकोटाले बताए । यो पदमार्गलाई कालीगण्डकी नदीसम्मै लगेर जोड्ने गुरुयोजनामा उल्लेख छ । कालीगण्डकी करिडोरमा सवारी साधन छाडेर तीन घण्टाको उकालो चढेपछि हाडिकोट पुग्न सकिने गरी पदमार्गको अवधारणा ल्याइएको हो । जैदीको बेगलबगर, धुल्लु, व्याडथला हुँदै हाडिकोट पुग्ने पदमार्ग चार किमीभन्दा लामो हुने स्थानीय बताउँछन् ।
परम्परागत बाटो प्रयोग गरेर पनि पर्यटकहरु हाडिकोट पुग्न थालेका छन् । वडा नं. १० को राङखानीबाट सवारी चढेर पुग्न सकिने भएपनि पदमार्ग बनेमा वडा नं. ६, ७ र ८ बाट सहज हुनेछ । हाडिकोटकै प्रवद्र्धनका लागि वडा नं. १० को नाम्दुक बजारमा होटलहरु बन्न थालेका छन् ।





