लेखनाथ/पोखरा महानगरपालिका वडा नं. २६ को बुढीबजारमा रहेको हेलो हेल्थ क्लिनिकले तमु प्ये ल्हु स्याङ्जाली तमु समाजमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ ।
तमु प्ये ल्हु स्याङ्जाली तमु समाज, पोखरा– २६, तालवेशीको समन्वय र हेलो हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा सय जनाभन्दा वढिलाई सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा क्लिनिकका अध्यक्ष मदन बरालले क्लिनिक स्थापना पछाडिको प्रेरणाको स्रोत स्थानीयहरु नै भएकाले रोग लाग्नुपुर्व नै निरोगी बन्न सक्ने उपायहरुका बारेमा जानकारी गराउँदै यहाँको स्वास्थ्य सेवा लिनका लागि अस्पताल र क्लिनिक टाढा भएकाले बिरामीलाई सहज तरिकाले सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर राखेर हेलो हेल्थ क्लिनिक स्थापना गरिएको बताए ।
सोही अवसरमा क्लिनिक निर्देशक एमडी, जीपी डा. विष्णु भण्डारीले आफ्नो १२ वर्षको चिकित्सकीय अनुभव सुनाउँदै भने, ‘मानिसहरूले आफ्नो गाडीलाई त दुई–तीन महिनामा सर्भिसिङमा लैजान्छन्, तर आफ्नो स्वास्थ्य जाँच गराउँदैनन् । हाम्रो शरीर पनि मेसिन जस्तै हो, यसको मर्मतसम्भार जरुरी छ ।’
कार्यक्रममा प्रबन्धक प्रमोद भुजेलले हाल क्लिनिकले प्रदान गर्दै आएको सेवा—जसमा डाक्टर परामर्श, ल्याब, फार्मेसी, र होमकेयर सेवा (नर्सहरूलाई घरमै पठाएर अस्पताल जस्तै सेवादिने) बारे जानकारी गराएका थिए ।
यसैगरी समाजका अध्यक्ष टउ बहादुर गुरुङले शिविरबाट आफुमा भएका समस्याका बारेमा जानकारी लिंदै आफनै घरआँगनमा वसेर उपचार विधिका बारेमा परामर्श लिन पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा हेलो हेल्थ क्लिनिकसँग सहकार्य गरी यस्ता स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष टउ बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सचिव श्यामबहादुर गुरुङले गरेका थिए भने शिविरमा हेलो हेल्थ क्लिनिकका संस्थापक कृष्णप्रसाद बराल र अन्य नर्सिङको टोलीले निरोगी हुनबाट बच्नका लागि नियमित ब्यायमदेखि असल आहार विहारका बारेमा जानकारी गराएका थिए ।
शिविरमा निःशुल्क सुगर परीक्षण, निःशुल्क सामान्य स्वास्थ्य परीक्षण, निःशुल्क डाक्टर परामर्श र सम्पूर्ण शरीर परीक्षण तथा अन्य सबै परीक्षणमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको थियो ।





