बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

गण्डकीमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा


  • हरिकृष्ण गौतम
  • बैशाख २९ २०८२, सोमबार

म्याग्दी/म्याग्दी पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई गण्डकी प्रदेशमा यसवर्ष पनि पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो ।

बच्चा जन्मेदेखि १५ महिनासम्मका १२ सय ३५ जनाले नियमित खोप लगाइरहेका छन्भने १६ महिनादेखि २७ महिनासम्मका ३ सय ६३ र १६ देखि ५९ महिनासम्मका ३२ सय ८८ जना बालबालिकाहरु सबैले पूर्णखोप पाएको सुनिश्चिता गर्दै म्याग्दीलाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धतासहित पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा गरिएको छ । बालबालिकाहरुले जन्मेदेखि ५९ महिनासम्मको अवधिमा विभिन्न १४ प्रकारका खोपहरु पाएका छन् । जन्मेदेखि १५ महिना भित्रका बालबालिकाहरु सबैले हाल नियमित रुपमा खोप लगाइरहेका छन् ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएको उमेर समूहका बालबालिकाहरु सबैले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रिया पुरा गरी जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, धनुष्टङ्कार, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १४ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

जिल्लाको सम्पूर्ण घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा यसअघि वडा तथा पालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको जिल्लाको रुपमा घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यक्रमको अवसरमा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने अभियानमा खटिएका स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्थाहरु र पत्रकार महासंघलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा लामो समयसम्म सेवा गरेकोमा पालिकाअनुसार विभिन्न ६ जना महिला स्वयंसेविकालाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी प्रदेश खोप समन्वय समितिको तर्फदेखि म्याग्दीलाई पूर्णखोप सुनिश्चितता घोषणा भएको तथा दिगोपना कायम राख्नको लागि प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा आगामी दिनमा पनि म्याग्दीलाई पूर्णखोप सुनिश्चित र दिगोपना राख्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरिएको छ ।

पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेशभरी नै म्याग्दीलाई पहिलो पूर्णखोप सुनिश्चित जिल्ला बनाउने अभियानमा खटेका सबैलाई धन्यवाद दिए । उनले मानव जीवनमा सबैभन्दा महत्वपूर्ण स्वास्थ्य भएकाले प्रदेश सरकारमार्फत बजेट विनियोजन गर्ने क्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->