पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्यकर्मीहरुको हित हुने गरी स्वास्थ्यकर्मी प्रोत्साहन कार्यविधि बनाउन लागेका बताएका छन् । चौबिसै घण्टा बिरामीको सेवामा खटिने नर्सहरुले न्युन तलबमा काम गर्नुपरेको स्वीकार्दै अब बन्ने स्वास्थ्यकर्मी प्रोत्साहन कार्यविधिले उनीहरको मागलाई सम्बोधन गर्ने बताए ।
मेडिकल क्षेत्रका फ्रन्टलाइनर नर्सहरुको जिम्मेवारी विशेषज्ञ डक्टरको भन्दा कम नरहेको बताउँदै मन्त्री पाठकले सोमबार विश्व नर्सिङ दिवसको अवसरमा पोखराको मणिपाल कलेजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘न्यून तलबमा काम गर्नुपरेकै कारण नेपालमा भविष्य नदेखेर विदेश पलायन हुने प्रवृत्तिलाई अन्त्य गर्न स्वास्थ्यकर्मी प्रोत्साहन कार्यविधिले सम्बोधन गर्ने छ ।’
नर्स लगाएतका स्वास्थ्यकर्मीहरुको पेसागत हित र सेवा सुविधामा उचित ध्यान दिएमा दक्ष जनशक्ति विदेश पलायन हुने क्रम घटेर जाने मन्त्री पाठकले विश्वास व्यक्त गर्नुभयो । इटलीकी फ्लोरेन्स नाईटिंगलको जन्मदिन पारेर विश्वव्यापी रुपमा मनाईने अन्तराष्ट्रिय नर्सिङ दिवस विश्वभरका नर्सहरुको महत्वपूर्ण दिन भएको चर्चा गर्दै उनले नर्सहरुको जिम्मेवारीको तुलनामा तलव निकै न्यून भएकोले आगामी दिनमा उनीहरुको तलव दोब्बर बनाउनु पर्नेमा मन्त्री पाठकको जोड थियो ।
स्वास्थ्य नागरिक जीवनको महत्वपूर्ण पक्ष भएकोले यसको सुदृढीकरण र सेवा बिस्तारमा राज्यले प्राथमिकता दिनुपर्ने भएकाले प्रदेशका सबै सरकारी अस्पतालको स्तरोन्नति गर्न लागिएको मन्त्री पाठकले बताए । सरकार निजी क्षेत्रसंग मिलेर स्वस्थ्यको क्षेत्रमा काम गर्न चाहेको उल्लेख गर्दै पाठकले निजी मेडिकल कलेजहरुसंग मिलेर जनस्वास्थ्य सुधारमा सहकार्य गर्न आफू तैयार रहेको समेत उल्लेख गरे ।





