सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

जेठ ३ गते नै म स्वदेश नआएको भए !

जेठ ३ गते नै म स्वदेश नआएको भए !

नेपालीको दुर्भाग्य ! मदन भण्डारीलाई जसले खायो उसैले राजपरिवारलाई खायो ! उनी बाँचेका भए राजा वीरेन्द्र बाँच्थे ।


  • कृष्णराज शर्मा
  • जेष्ठ ३ २०८२, शनिबार

सानै उमेरमा विदेश बसाईको अनुभव संगाल्दै स्वदेश फर्केको दिन हो मेरो जेठ ३ गते । अहिले जस्तो विभिन्न विदेशी जहाजको नामै थाहा हुन्थेन । खाँचै पर्दैन्थ्यो । हाम्रै नेपालको झण्डा फहराउने उही शानेवानीको जहाजले जेठ ३ गतेको दिउँसो बैंककबाट काठमाण्डौमा ल्याएर ओह्राल्यो । काठमाण्डौ ओर्लनु अघि आकाशबाट तल काठमाण्डौ हेरेको त ईट्टा पोलेर झिक्दै गरेको भत्केको औडी जस्तो आफ्नै शहर देखेर छक्क परेको थिएँ ।

कोरियामा केहिबर्ष तथा हङकङ बैंककको छोटो बसाईमा गोरो छालाको सानिध्यताको प्रभावले होकि केले हो, हरेक मान्छे र ठाउँ देखेर के नमिलेको –  के नमिलेको जस्तो भएँ । मान्छे पनि नेपाली जस्ता नलाग्ने अनि काठमाण्डौका घुमिराखेका ठाउँ पनि परदेशका जस्ता कस्ता कस्ता अनौठा लाग्ने १ के भएको मलाई यस्तो भन्दै म असमञ्जस्यमा परेको थिएँ । हरेक कुरामा मलाई किन यस्तो भान भैरेहेको छ बुझ्न सकेको थिईन । अन्ततः यिनै कुराहरु खेलाउँदै ट्याक्सी लिएर मेरो गन्तव्य भोटेबहाल स्थित मेरै आफन्तकोमा पुगें ।

आफन्त मेरै जेठान दाज्यु हुनुहुन्थ्यो । आपसमा यात्रा अबधिका कुरा, सञ्चो विसञ्चोका कुरा गर्दागर्दै समय बितेको पत्तै भएन । साँझ पर्यो । सात बजेपछि राती नौ बजे रेडियो नेपालबाट नेपालीमा समाचार आउँथ्यो । समाचार सुन्ने मेरो सानैदेखिको बानी । कोरीयाबाट ल्याएको सानो पकेट रेडियो खल्तिबाट झिकें । सानो यो एफ एम रेडियो देखेर सबै दङ्ग परे । रेडियो खोलें । सानो रेडियोको सानै मान्छेले ‘यो रेडियो नेपाल हो’ भन्यो । समाचार वाचक सानो मान्छेले आफ्नो नाम बताउँदै प्रमुख समाचार नै ‘नेकपा एमालेका महासचिव मदन भण्डारी चढेको जीप त्रिशुली नदीमा बेपत्ता’ भएको सुनायो । हे राम ! दङ् परियो । अरु समाचार सुन्नै मन लाएन !

विमानस्थल वरपरका दृश्य र मान्छेका रुप देख्दा लागेको अनौठो यहि हुनलाई भएको रहेछ भन्ने मलाई बल्ल लाग्यो । अब देशमा आगो बल्छ । नेपाल बन्द हुन्छ । आवागमन बन्द हुन्छ । लामो समयपछि कतिबेला घर पुगौं भएको बेला यस्तो के सुन्न पर्यो, म आत्तिएँ । जे जे लख काटिएको थियो, सबै हुँदै आए । सबै भए । अन्ततोगत्वा बल्लतल्ल बागलुङ मेरो घरमा आएँ ।
अहिले संझन्छु, मदन भण्डारी बाँचेको भए देश अहिले यो हालतमा हुने थिएन । मदन भण्डारीका अगाडी प्रचण्डहरु छायाँमा पर्थे । ओलि, बाबुराम र प्रचण्डहरु जस्तै मदन भण्डारीलाई अरु कुनै मदारीले नचाउन सक्तैन्थ्यो । राजा वीरेन्द्रसंग भलाकुसारी गरेका मदन भण्डारी त्यहिबेलादेखि राजालाई महत्वपुर्ण शक्ति मान्दै एउटा राजा रहंदैमा केहि फरक नपर्ने भन्दै कार्यकर्तालाई विश्वस्त पारेका उनी राजतन्त्रको बलियो भरोसा थिए । नेपालीको दुर्भाग्य ! मदन भण्डारीलाई जसले खायो उसैले राजपरिवारलाई खायो ! उनी बाँचेका भए राजा वीरेन्द्र बाँच्थे । देशमा गणतन्त्र आउने थिएन । जेठ ३ गतेको यस दुःखद् दिनमा राष्ट्रवादी देशभक्त नेता मदन भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->