पैसा शब्द गौरवशाली तत्व रहेछ । नभई नहुने, आफन्त, इष्टमित्रहुँदै श्रीमती र छोराछोरीसम्मको मायाको नजिर, छ सबैको प्यारो, छैन सबैको तारो । जीवन पैसाकै पछि दौडदा दौडदै बिलाउन पर्नी, पैसा भए इमान, जमान र प्रतिष्ठा पाइने, सबै दायाँबायाँ हुने, मान्छे पुर्ण बन्ने । समाज सारा पैसाकै पक्षमा उभिने, ‘बुद्धम् शरणम् गच्छामी’ भन्याझै सत् असत् सबै निर्णय पैसाकै शरणमा बास बस्ने, पैसा भनेको अपार महत्वको कालजयी सांसारिक तत्व रहेछ । साराका सारा ऐश आराम, सहयोग, सद्भाव र सत्कार किन्न सकिने पैसा सर्वकालिन, सर्वदेशिय, सर्वगुण सम्पन्न ऐतिहासिक वस्तु हुँदाहुँदै सबै सबैको मायासमेत किनिने, के पैसाकै पर्याय यी सबै हुन् ? अचम्म छ ।
धनको मुख कालो हुन्छ । धनले सत् असत् छुट्टाउन सक्दैन भनेर रटाउने परमात्माहरु पैसाकै कन्ननी लगाउन भागदौड गरिरहेछन् । पैसाका अगाडि इमानलाई ठुलो मान्नेहरु विद्याले भरिएका हरिकङ्गाल भए । समाजमा जड्याहाहरुको बौद्धिकताले वर्चस्व कमाउँदै छ । पैसाको परोक्षमा जत्तिसुकै दर्शन दिए पनि पैसा बिना न कोहि हाँस्न सक्छ न कोहि बाँच्न नै । तसर्थ पैसा गौरवशाली तत्व हो । पैसाले नै मान्छेलाई महाधनाढ्य बनाउन सक्छ । पहिले पहिले लखपतिको उचाइले मानिस सर्वशक्तिमान हुन्थे, अहिले खर्बपतिका जमाना आए । गरिबहरु छिद्र औकात लिएर नगण्य रुपैयाँको अस्तित्वसंग बिद्रोह गरिरहेछन् ।
पैसा देखेपछि देवाधिदेव महादेवका पनि तीन नेत्र खुल्थे अरे ! गाँजा, भाङ धतुरोमा शक्तिको उपादेयता खोज्ने उनले पैसाकै लागि तेस्रो नेत्र खोलेको हुनुपर्छ । पैसा बिना कृष्णले कसरी सात शहरको निर्माण गरे ? त्यतिका श्रीमती पाल्न पनि त पैसैको आढेस लाग्नु परे होला । यसरी हेर्दा पैसाले अनादी कालबाटै वर्चस्व कमाएको हुनुपर्छ । होइन भने पैसाले यतिका प्राणीको मन कसरी जिते होला ? पहिले तन्त्र मन्त्र सबै सेवा र धार्मिक आचरणमा चल्थे । अहिले पैसा बिनाको नैतिकता निराधार मानिन्छ । आशा छ त केवल पैसाको अन्य वस्तुको महत्वाकांक्षा विलिन बन्यो ।
राजनीति पैसा उपर चल्नै छाड्यो । कार्ल माक्र्स, लेनिन र माओत्सेतुङका विचारले पैसामा राज्यारोहणको प्रतिस्पर्धा गरिरहेछन् । समाजवादको सिद्धान्तले समाजमा पैसाकै खेती गर्ने भो, भोट र कोटको अस्तित्व लोठमा भेटिन्छ अचेल । साम्यवादका आदर्श वाक्यले निम्नवर्गको प्राण निचोरिरहेछ । दास युगबाट बिच्किएका मानिसले मुक्तिको उद्घोष गर्न युरोप, अमेरिकाको भ्रमण गर्दै छन् रे पैसाकै लागि । ‘विद्वान सर्वत्र पुज्यते’ भन्ने उक्तिले द्वापर युगमै कृष्ण लोक पाएपछि अहिले ‘धनिनां सर्वत्र पुज्यते’ भन्ने नाराले सार्थकता पाउन थाल्या छ । अब केही पक्कै हुन्छ कि मानिस पैसा नभएसम्म श्वास फेर्दिन भन्छ । कि पैसैका भरमा कहिल्यै नमर्ने अटेरी प्राणीमा गनिन्छ । भूमण्डलको परिभ्रमण सकेर अन्तरीक्षतिर लागेरे कति धनीमानी, उतै लालपुर्जा थाप्ने तरखरमा छन् रे । पैसाकै दुनियाँमा चन्द्रमामै कपास उमार्नेले छोराछोरी पनि उतै जन्माउन सक्छन् । त्यसपछि पैसा अन्तरिक्षसम्म नै सर्वविजयी तत्व बन्ने ।
अहिले पैसालाई चलअचल सम्पत्ति र कृतिको सहोदर नै मान्न थालिया छ । पैसा भनेको पैसा हो । पैसाले गुमेको हाँसो, खुशी र बैँस समेत फर्काउने सामथ्र्य राख्दछ । किनकी पैसैले बैंसका बनेका ६ दशक पुराना ब्वाँसाहरु पनि षोडसीको उन्माद लिएर नाच्न सिपालु छन् । तसर्थ पैसा सर्वोपरि तत्व बन्या छ । पैसाकै आडमा मानिस दाँत वरिपरि खुशी बोकेर बाँच्दो छ । पैसाको अनिवार्यता नठान्ने व्यक्ति यो धर्तीमा छैनन् । त्यसैले त संसार सबै पैसाकै पारखी बनेको छ । पहिले विद्वानको प्रशंसा हुन्थ्यो । अहिले धनी व्यक्तिको, घरदेखी ससुराली, मन्दिरदेखि न्यायालय अनि मोठदेखि घाटसम्म प्रशंसा चल्छ । यो भुलोकमा पैसाका अगाडि सत्य पनि शिर निहुँराएर हिंड्छ । यो सत्य सत्य नै हो ।
शास्त्रमा यस्मिन् देशे नसम्मानो न वृत्तिर्न च बान्धवः ।
न च विद्यागमोक्प्यस्ति वासस्तत्र न कारयेत् ।।
अर्थात् ‘जुन देशमा सम्मान हुँदैन वृत्ति व्यवसाय, दाजुभाइ बन्धुबान्धव र विद्या लाभ छैन त्यहाँ एकछिन पनि नबस्नु’ भन्ने कथन छ । त्यसैले निर्धनी युवाहरुले सम्मान नपाएर हो या अर्थोपार्जन गर्न नसकेर हो । देश छोड्नेको लर्को विमानस्थलदेखि सिंहदरबार नै पुग्यो अरे । परन्तु पैसाकै अभिलाषामा राजस्वका नियमावली नियालिरहेका काण्डकारीहरु र कालाकोटधारीहरुलाई त्यो लाइनले घेर्न सकेको छैन । एकातर्फ त लाग्छ नेपाली जनतालाई पैसामुखी जीवन ज्युँन बाध्य पार्ने सरकार हो । नियम, विनियम, धारा, ऐन जे बने पनि प्रगतिशील होस् या यथास्थितिवादी होस् जनताले राजस्व तिर्नै जन्मेका हुन् तिराउनु पर्छ भनेर भाँडो थाप्नेबाटै पैसाले शक्ति सञ्चिति गर्यो होला । त्यसैले त जन्मदेखि मृत्युसम्मका कागजलाई सरकारले सरकारीकरण गरेको छ । यहाँ आफ्नै देशमा बसाइँसराइ गर्दा अनि आफ्नै बाउको सम्पत्ति छोरालाई दिन्छुभन्दा समेत पैसा तिर्नु पर्ने । यो सरकार कस्तो बिडम्बनाको सरकार अब त लाग्छ नेपालीलाई कर लाउन बाँकी ब्रतबन्ध र गर्भधारण मात्रै छन् । पैसैका नामले सर्वविजयी देश नेपाल बन्दै छ रे !
मान्छेले जति पढ्ने र रट्ने काम गरे पनि अन्ततः पैसाकै लागि रहेछ । जीवनमा जहाँ पुगेर जुनसुकै दर्शन र सिद्धान्त घोक हाले पनि पैसा बिना हातमुख जोर्ने कल्पना नगरे हुन्छ । पैसा भनेको हातको मयल हो भन्ने वाक्य मुनामदनमै सिमित भो व्यवहारिक जीवनमा त पैसा भनेको हर व्यक्तिको सत्ता हो ।
कहिल्यै ढाँट्छल गर्नु हुन्न, अधिक लोभ र मोह गर्नु पाप हो । पैसाको पछि लाग्यो भने मति भ्रष्ट हुन्छ भन्ने सन्तहरुका भनाइहरुलाई कलि युगले उल्टाए जस्तो छ । ‘सादा जीवन उच्च विचार’ भन्ने त पैसा नभएकाले रहेछ । केही वर्ष अघिसम्म पैसाको अस्तित्वका अगाडि मानवीय अस्तित्व बलियो थियो । अहिले पैसाको मात्रै राग छ । जन्मदेखी मृत्युसम्म पैसा नचाहिने ठाउँ कहाँ छ ? परिवारको पालनपोषणदेखि बालबच्चाको मुहारमा खुशी खोज्नेसम्मका लागि पैसा नभइ नहुने । पैसा नभएको श्रीमान त परै जाओस् छोराछोरीलाई बाउ समेत चित्त बुझ्दैन यो पक्का हो ।
पैसाकै शक्तिले परनिर्भरता परसम्म पुग्यो । सुनका शिवाय अरु बजारबाट आउँदैनथ्यो अघि, अहिले सिगान पुछ्ने टालो पनि शहर बेगर आउँदैन । यसैले त पायो पैसाले जिन्दगी, गाउँमा बसेर शहरीया सागसब्जी कुम्ल्याउनेहरू शहरको संसर्गमा आए । धुलो, मैलो छुनै नपर्ने, मिठो खाने, राम्रो लाउने ध्याउन्नमा छ मान्छे । गाउँ छोडेर शहर जाँदै गरेको युवा होस् या परदेसिएका लाहुरेदेखि जागिरे र व्यापारीसम्म सबैको एउटै चासो र खोज हो–पैसा । पैसाले श्रीमान श्रीमती चिन्नेदेखि जवानी किन्नेसम्मको हैसियत राख्न थाल्या छ । मान्छेले पैसाकै लागि ज्युँदै वैतरणी तर्ने ल्याकत राख्छ । गरुड पुराणले जति नै पापको हाउगुजी देखाए पनि पैसाका लागि मान्छे मर्न मार्न तयार छ । मानिस पैसाले सर्वोच्चताको उपाधी चुमेर महाधनाढ्यको ख्याती कमाउन उद्दत छ । अयोग्यलाई योग्य र शुन्य सोमतको भुमरीमा परेकालाई पनि इज्जतदार देखाउन पैसा अघि सर्दोछ । मान्छेको प्राणभन्दा प्यारो तत्व पैसा हो । पैसा बिना न कोहि हाँस्न सक्छ न कोहि बाँच्न, त्यसैले त पैसा सबथोक हो ।





