बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्कीका केही सामुदायिक विद्यालय : जहाँ शिक्षक–कर्मचारीका छोराछोरी पढ्छन् !

कास्कीका केही सामुदायिक विद्यालय : जहाँ शिक्षक–कर्मचारीका छोराछोरी पढ्छन् !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार

पोखरा/सरकारी विद्यालयका शिक्षकलाई जहिल्यै उठ्ने प्रश्न हो, ‘तपाईँका छोराछोरी किन आफुले पढाउने विद्यालयमा भर्ना गर्नुहुन्न ?’ जवाफ खासै फर्किदैन शिक्षकबाट, मौनजस्तै बस्छन् ।

यतिबेला विभिन्न स्थानीय तहहरुले आफ्नो क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयका शिक्षक र कर्मचारीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिले पनि सरकारी विद्यालयमै पढाउन भन्दै निर्णय गरेका छन् । शिक्षक कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढेमा बिद्यालयप्रतिको चासो र सहयोग बढ्ने र त्यसले शैक्षिक गुणस्तारमा सुधार आउने अपेक्षासहित यस्ता निर्देशन र निर्णय हुने गरेका हुन् ।

यस्ता निर्देशन कतिपय विद्यालयका शिक्षक कर्मचारीले कार्यान्वयनमा ल्याएका छन् । तर, त्यो संख्या भने निकै कम छ । ठूलो संख्याका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले भने अटेर गर्दै आएका छन् । बरु उल्टै सामुदायिक विद्यालयमा राम्रो शिक्षा हुदैन भनेर निजी विद्यालयतर्फ जान उक्साइरहेका पनि भेटिन्छन् । यस्तो गुनासो बढिरहेका बेला कास्कीका केही सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले भने आफैले काम गर्ने विद्यालयमा छोराछोरीलाई पढाउने गरेका छन् । यसले विद्यालयप्रतिको अपनत्व बढाउनुका साथै गुणस्तरीय शिक्षामा सुधार हुन पुगेको छ । समग्रमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु पढाउन सक्षम छन् भन्ने सकरात्मक सन्देश प्रवाह गर्दै सामुदायिक विद्यालयप्रतिको गिर्दो साख उकास्न पनि मद्धत मिलेको छ ।

पोखराका छोरेपाटन मावि, शितला सामुदायिक मावि, राष्ट्रिय मावि, बालमन्दिर मावि, अमरसिंह मावि, बिन्ध्यावासिनी मावि बाटुलेचौर, इन्द्रराज्यलक्ष्मी मावि लामाचौर, अन्नपूर्ण गाउँपालिकाको माछापुच्छ«े मावि, माछापुच्छ«े गाउँपालिकाको भुर्जुङखोलास्थित माछापुच्छ«े माविलगायतका विद्यालयका शिक्षक–कर्मचारीले छोराछोरीलाई आफ्नै विद्यालयमा भर्ना गरी पढाउँदै आएका छन् । बालमन्दिर मावि नदीपुरका शिक्षक कल्याण बरालकी छोरी सोही विद्यालयको ७ कक्षामा पढ्छिन् । १८ वर्षदेखि पढाउँदै आएका सरकाङकोटका बरालले अव सानो छोरालाई पनि यही ल्याउने तयारी गर्दैछन् । ‘मैले अरुका छोराछोरीलाई दिने शिक्षा मेरा छोराछोरीले पनि पाउन भन्ने उद्देश्य हो । कुनै नीति नियमले नभइ स्वतस्र्फुत रुपमा ल्याएको हुँ,’उनले भने, ‘सरकारीको पढाई पनि राम्रो हुन्छ भन्ने सन्देश पनि दिन यस्तो गरिएको हो ।’

बालमन्दिर माविका प्रधानाध्यापक सुशील बस्नेतका अनुसार ८० प्रतिशत शिक्षकका छोराछोरी यही पढ्छन । धेरैजना यही पढेर निस्किए । अहिले ११ जना छन् । विद्यालय सेवा क्षेत्रभित्रका नभई महानगरभित्रका बिरौटा, रामबजार, लामाचौर, हेमजा, लामागाउँ, सराङकोट, मालेपाटन, हल्लनचोकलगायत स्थानबाट पनि शिक्षकका छोराछोरी यही पढ्न आउने उनको भनाइ छ । ‘विद्यालयमा धेरै विद्यार्थी पढ्न लालयीत हुन्छन, शिक्षक कर्मचारीका छोराछोरी नहुने भन्ने कुरै भएन,’ प्रअ बस्नेतले भने, ‘शिक्षकहरुमा स्कुलको माया छ । पढाई गु्णस्तरीय छ त्यसले पनि छोराछोरी यही ल्याउनु हुन्छ । यसका लागि कुनै लिखित नीति तथा कार्यविधि छैन ।’

भुर्जुङखोलास्थित माछापुच्छ«े माविका शिक्षकले पनि लामो समयदेखि छोराछोरीलाई आफ्नै विद्यालयमा पढाउँदै आएका छन् । प्रअ सन्तोष आचार्यका छोरा पनि ९ र ३ कक्षामा पढ्छन् । स्याङजाकी शिक्षिका विष्णु रेग्मीले छोराछोरी ल्याएर ६ र ८ कक्षामा पढाएकी छन् । छिमेकी विद्यालयका प्रअ र शिक्षकका छोराछोरी पनि यही विद्यालयमा आउने गरेका आचार्यले बताए । जनप्रतिनिधिका छोराछोरी पनि यही पढ्न आउँछन् । अहिले शिक्षक कर्मचारीका १५ छोराछोरी अध्ययनरत छन् । शिक्षक कर्मचारीका छोराछोरीलाई अतिरिक्त पढाउनु पर्ने भएमा निःशुल्क व्यवस्था गरिएको उनको भनाई छ ।

इन्द्रराज्य लक्ष्मीका प्रधानाध्यापक केशव केशव अमगाईका अनुसार विद्यालयमा २०७२ सालदेखि नै अभियानको रुपमा यस्तो अवधारणा अघि सारिएको हो । ‘शिक्षक साथीहरुले सहयोग गर्नु भएको छ । म आफैले एसओएसबाट छोरालाई निकालेर यही भर्ना गरी पढााएको हुँ,’उनले भने, ‘पायक नपरेकालाई अनिवार्य जस्तो गरिएको छैन । शिक्षकको साथसहयोगले हामीलाई उत्साही बनाएको छ ।’

शितला सामुदायिकका प्रअ बाबुराम अधिकारीका अनुसार अघिल्लो वर्षदेखि विद्यालय व्यवस्थापन समितिले निर्णय गरेपछि ९९ प्रतिशत शिक्षकका छोराछोरी यही पढ्छन । हाल त्यस्ता विद्यार्थी ३३ जना छन् । राष्ट्रिय माविका प्रअ इश्वरीप्रसाद सापकोटाले पायक पर्ने सबै शिक्षकले विद्यालयमै बाबुनानीलाई ल्याएको बताए । ‘अपायक परेकालाई ल्याउन भन्न सकिएन र संभव हुने कुरा पनि भएन’, उनले भने ।

छोरेपाटन माविले त २०६५ देखि नै यो अवधारणा अघि सारेको थियो । प्रअ डिल्लीराम शर्माका अनुसार एकदुई जना शिक्षकमा समस्या देखिए पनि ९५ प्रतिशत शिक्षकका छोराछोरी यही पढ्छन । अहिले १५ जना त्यस्ता विद्यार्थी छन् । नर्सरी, केजीदेखि १२ कक्षासम्म यही पढाउने गर्छन । अमरसिंह माविमा अहिले ३० जनाको हाराहारीमा शिक्षक कर्मचारीका छोराछोरी पढ्छन । लिखित कार्यििध वा नीति नबनाई मौखिक रुपमा भनेकोमा सरहरुले कार्यान्वयन गरिदिएर सहयोग गरेको प्रअ बलराम पोखरेलले बताए । ‘यसले एकातिर विद्यालयप्रति शिक्षकहरुको अपनत्व बढेको छ । अर्कोतर्फ गुणस्तरीय पढाई मापनि सहयोग पुगेको छ,’ उनले भने,‘विद्यालय व्यवस्थापन समितिले शिक्षक कर्मचारीका छोराछोरीलाई विद्यालयका शुल्कमा ५० प्रतिशत छुटको व्यवस्थासमेत गरिदिएको छ । ५ वर्षदेखि यस्तो नियम राखिएको छ । जहाँ पढाए पनि छोराछोरीलाई यही ल्याउनुस भनेपछि सरहरुले मान्नु भयो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले वडाभित्रका (पोखरा–१२) शिक्षकका परिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको र बिद्यार्थीलाई केही छुटपनि दिएकाले शिक्षक कर्मचारीका छोराछोरी पढ्न आउने बताए ।

विन्ध्यावासिनी मावि बाटुलेचौर व्यवस्थापन समिति र विद्यालय प्रशासनले आफू सामुदायिक स्कुल पढाउने, छोराछोरी बाहिर पढाउन पठाउनु राम्रो भएन भनेर व्यक्तिगत र सामुहीक रुपमा शिक्षकहरुलाई भनेपछि शिक्षकहरुले कार्यान्वयन गर्दै छोराछोरी भर्ना गर्न ल्याउनु भएको प्रअ कृष्णप्रसाद आचार्यले बताए । अहिले २४ विद्यार्थी शिक्षक र कर्मचारीका छोराछोरी छन । ‘यहाँ संभव नभए अन्यत्र भए पनि सरकारी विद्यालयमै पढाउन भनिएको छ,’ आचार्यले भने । माछापुच्छ«े मावि नाउडाँडाका प्रअ दीपकराज अधिकारीका अनुसार विद्यालयले चालु शैक्षिक सत्रबाट शिक्षक कर्मचारीका छोराछोरी यही पढाउन भनिएको र त्यो कार्यान्वयनमा गएको छ । एक शिक्षकले अटेरी गरेकोले सम्झाईरहेको विद्यालयले जनाएको छ । ‘पहिलो शैक्षिक सत्रमै ४ जना विद्यार्थी आएका छन । अव विस्तारै अरु पनि आउने विश्वामसा छौँ,’ उनले भने, ‘विद्यालय व्वस्थापन समितिले गरेको निर्णयका आधारमा यस्तो भएको हो ।’ विद्यालयले १ देखि ५ सम्मका विद्यार्थीलार्य स्टेशनरी निशुल्क दिने र नयाँ विद्यार्थीलाई ड्रेसको व्यवस्था गरेको छ । गुल्मी घर भएकी शिक्षक बसन्त चुँदालीले छोरीलाई यही ल्याएर ७ कक्षामा भर्ना गरेका छन् ।

शैक्षिक गुणस्तर खस्किदा कतिपय सरकारी स्कुल विद्यार्थी अभावमा समस्याग्रस्त बनिरहेका बेला शिक्षकले आफ्नै विद्यालयमा छोराछोरी पढाउँदै सकरात्मक सन्देश प्रवाह गरेको शिक्षा बिकास तथा समन्वय इकाइ कस्कीका प्रमुख लोकनाथ आचार्य बताउँछन । ‘शिक्षक भनेको सचेत बर्ग रहेकाले आफ्ना छोराछोरी सामुदायिकमा पढाउँदा विद्यालयप्रतिे चासो बढ्छ, सहयोग जुटाउन मद्धत मिल्ने, निगरानी, शिक्षकलाई फिडब्याक दिने उनको भनाइथियो । ‘यसले विद्यालयमा सिक्ने सिकाउने वातावरणमा सहयोग मिल्छ, स्रोतहरुको व्यवस्थापनमा सहजता हुन्छ,’ उनले भने, ‘समग्रमा शैक्षिक गुणस्तरमा बृद्धि हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->