पोखरा/ प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन यही जेठ २३ र २४ गते पोखरामा हुने भएको छ । संघले शनिवार पत्रकार सम्मेलनमार्फत यो जानकारी गराएको हो ।
नेपालका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको गैरराजनीतिक र गैरनाफामुलक एवं साझा संगठनको रुपमा स्थापना भएको संघले देशभरका झन्डै २८ हजार सामुदायिक विद्यालयका प्रअहरुलाई एकताबद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व बिकास र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । साथै प्रअहरुको पेशागत क्षमता अभिबृद्धि, शिक्षा क्षेत्रमा नीतिगत परिवर्तनको वकालत र विद्यार्थीकालागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चितता गर्ने लक्ष्य पनि राखेको छ । यसैगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक तथा प्रअहरुको सशक्तिकरण, नीति निर्माणमा प्रभावकारी भूमीका तथा विद्यार्थीको समग्र बिकासका लागि संघले काम गर्छ । संघका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौतमले संघले विद्यालय प्रशासन, व्यवस्थापन, नीति सुझाव, तालिम तथा विभिन्न शैक्षिक गतिविधिहरुको समन्वय गर्दै शिक्षा क्षेत्रको बिकासका लागि पहल गरिरहेका बताए ।
संघले वर्षेनी फरकफरक प्रदेशमा ‘थीम’ आधारित राष्ट्रिय सम्मेलन गर्दै आएकोमा यसपटक गण्डकी प्रदेशको राजधानी पोखरामा सम्मेलन हुन लागेको पत्रकार सम्मेलनमा जनाइयो । सम्मेलनमा एकहजार प्रधानाध्यापक, शिक्षाविद्, विभिन्न स्थानीय तहका प्रमुखहरु, बिदेशी प्रतिनिधिहरुलगायत नीति निर्माताहरुको सहभागिता रहने छ । सम्मेलनमा प्यान अवार्ड २०८२ बाट प्रत्येक प्रदेशबाट एकएक आधारभूत र माध्यामिक तहका उत्कृष्ट बिद्यालय, प्रत्येक प्रदेशबाट आधारभूत र माध्यामिक तहका प्रधानाध्यापक, एकएक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, महानगरपालिका वा उपमहानगरपालिका सम्मानित गरिनेछ । साथै प्यान अवार्डबाट प्रत्येक प्रदेशबाट एक बहालवाला दीर्घसेवी प्रधानाध्यापकलाई सम्मानित पनि गरिने संघका गण्डकी प्रदेश अध्यक्ष बामदेव पौड्यालले बताए ।





