पोखरा/सरकारी विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको बेला यहाँको अर्जुनचौपारी गाउँपालिकाले बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम गरेको छ ।
पालिकाले शैक्षिक कार्यदलको समन्वयमा शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले एक हप्ते बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम गरेको हो ।
यहाँको पाँच वडामा रहेका छ वटा माध्यमिक विद्यालय, मावि नभएको वडा नं–३ को कार्यालय र गाउँपालिका भवनमा कार्यक्रम गरिएको हो ।
वडा र माविमा विद्यार्थी तथा अभिभाावक सहभागी रहेका थिए भने गाउँपालिकामा शिक्षकहरुसहभागी रहेका थिए । पालिकाका भित्रका ३१ वटा विद्यालय बन्द गरेरै उत्प्रेणात्मक कार्यक्रम गरिएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विद्यार्थीलाई आफै पढ्नु पर्छ भन्ने सोच बढाउन उत्प्रेणात्मक कार्यक्रम गरिएको बताए । छोराछोरी विद्यालय पठाएपछि केही गर्नु पर्दैन भन्नेअभिभावकको सोचपरिवर्तन गर्दै जिम्मेवार बनाउनु कार्यक्रमको अर्को उद्देश्य रहेको उनको भनाइ थियो । कार्यक्रममा एक हजार ४ सय ५ विद्यार्थी, एक हजार ३ सय ३५ अभिभावक र ३ सय १२ जना शिक्षक सहभागी थिए ।





