सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

१८ औं गणतन्त्र दिवसको उत्सव र गणतन्त्रमा देखिएका समस्याहरू

१८ औं गणतन्त्र दिवसको उत्सव र गणतन्त्रमा देखिएका समस्याहरू


  • डा. नरनाथ पाण्डे
  • जेष्ठ १५ २०८२, बिहिबार

पृष्ठभूमि
नेपालमा वि.सं. २०६५ देखि प्रत्येक वर्ष जेष्ठ १५ गतेका दिन गणतन्त्र दिवस भनेर मनाउने गरिन्छ । यसवर्ष १८ औं गणतन्त्र दिवस सरकारी पक्षबाट भव्य तरिकाले मनाउने कार्यक्रम समेत तय भएको छ भने अर्कातर्फ आजकै दिन पारेर राजतन्त्रवादीहरूले पनि भव्य आन्दोलनको घोषणा गरी गणतन्त्रविरोधी आवाज उठाउने माहौल बनाइरहेका छन् । उस्तै परे जेठ १५ गते गणतन्त्रको अन्त्य गरी राजतन्त्र पुनःस्थापना गर्ने घोषणासमेत गर्ने तयारी गरिरहेका छन् । त्यसकारण यसपटकको गणतन्त्र दिवस विशेष रोचक बन्ने पक्का छ । नेपालमा शाहवंशीय राजाको २४० वर्ष पुरानो शाही सत्ता जनआन्दोलनका कारण ध्वस्त भइ अन्तिम राजा ज्ञानेन्द्रलाई दरबारबाट कानुनी तरिकाले बाहिरिन बाध्य बनाएको र राजा बाहिरिएपछि विधिवत् रुपमा गणतन्त्र कार्यान्वयन भएको इतिहास छ । गणतन्त्र स्थापना भएपछि पहिलोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल र पहिलो राष्ट्रपति रामवरण यादव दुवैले आफ्नो कार्यभार सम्हालेपछि पूर्णरुपमा देशमा राजतन्त्रको अन्त्य भएको खुसीयालीमा यो दिवस मनाउने गरिन्छ । संसारका जुनसुकै देशमा पनि यस तरिकाबाट शान्तिपूर्णरुपले राजतन्त्रको अन्त्य भइगणतन्त्र स्थापना भएका घटना छैनन् । शान्तिपूर्ण तवरले यति लामो समय शासन गरेको राजतन्त्र सौहार्दपूर्ण तरिकाले बाहिरिने जस्तो दुर्लभ घटनाका कारण पनि नेपाल विश्वसामु चर्चित छ । राजाको यो शान्तिपूर्ण बहिर्गमनको घटनाले पनि राजाप्रतिको दृष्टिकोण फरक बन्न पुगेकोमा शङ्का छैन । राजसंस्थाको यति लामो विरासतलाई पनि समाप्त पार्ने खालको गणतन्त्रको जग तब बस्यो जब नेपालमा दरबार हत्याकाण्ड भइ राजा वीरेन्द्रको वंशनाश भयो । त्यसपछि मात्र नेपालमा राजसंस्थाप्रति नेपालीको दृष्टिकोण नकारात्मक बन्यो । जसको परिणाम गणतन्त्रसम्म पुगेर अन्त भयो । २०७२ सालमा जब संविधान सभाबाट नेपालको संविधान जारी भयो तबमात्र नेपालीको दशकौं देखिको सपना पनि सार्थक भएको हो भनेर नेताहरूले भन्ने गर्छन् ।

गणतन्त्रको आकासमा मडारिएको कालो बादल
त्यसो त जनआन्दोलनको दोस्रो फेजबाट स्थापित संसदले राजतन्त्रको विरुद्धमा लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो । नेपालको संविधान २०७२ ले पूर्वराजालाई पनि नागरिक सरह मान्ने व्यवस्था गरेको छ । तत्कालीन श्री ५ को सरकार र श्री ५ महाराजाधिराज भन्ने शब्दहरू अहिलेको संविधानमा छैनन् अर्थात् अहिलेको संविधानले राजालाई चिन्दैन । तर अहिले एकाएक गणतन्त्र विरोधी नाराहरू लाग्ने र राजतन्त्रको आवश्यकता महसुस भएको भनी राजालाई ब्युँताउने प्रपञ्च विभिन्न क्षेत्रहरूबाट भइरहेका छन् । पुरानो राजसंस्थालाई सर्वोपरि मानेर गाउने गरिएको राष्ट्रिय गान, श्री ५ महाराजधिराज सरकार र ‘राजा आऊ, देश बचाऊ’ भन्नेजस्ता आवाजहरू सडक तथा सार्वजनिक स्थलहरूमा सुन्न थालिएका छन् । जुन गणतन्त्रको आकाशमाथि मडारिएको कालो बादल सरह रहेको छ ।नेपालमा वर्तमान संवैधानिक व्यवस्थाअनुसार राजनीतिक दल स्थापना गरी आफ्ना एजेण्डाहरू राख्न पाइने व्यवस्थालाई भने गैरराजनीतिक गतिविधि मानिंदैन र यही प्रावधानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो नीति तथा सिद्धान्तमा संवैधानिक राजतन्त्रको उल्लेख गरी निर्वाचनमा समेत भाग लिँदै आएको छ र आफ्नो उपस्थिति संसदमा जनाएको छ । यसलाई संविधान विरोधी तत्व मान्न सकिंदैन तर कतिपय अवस्थामा असन्तुष्ट विभिन्न दल, समूह, स्वयम् पूर्वराजा र सर्वसाधारणले खुलेआम राजतन्त्रको वकालत गरी अनेक नाराबाजी गरी दुष्प्रचार गर्न खोज्नु र असभ्य क्रियाकलाप गर्नुलाई गणतान्त्रिक संविधानले राम्रो मान्न सक्दैन । यसलाई विभिन्न तह र तप्काबाट विश्लेषण गर्ने काम गरिएको छ ।

गणतन्त्रविरुद्धको आन्दोलन र केही दृश्यहरू
यसैक्रममा केही महिना अघि पूर्वराजालेगरेको देश बचाउने आह्वानलाई बहाना बनाइउनको यात्राका क्रममा स्वागतार्थ उर्लिएको भीड र गैरसंवैधानिक नाराबाजीले भने सबैको ध्यान तानेको थियो र गणतन्त्रवादी दलहरू राजावादी चलमलाउन थालेकोप्रति सजग बन्न थालेको बुझिन्छ र गणतन्त्रवादीहरूले समेत विभिन्न स्थानमा प्रदर्शन गर्ने गरेका छन् । अहिले दलहरूले यो विषयलाई अझै महत्व नदिएको भान भइरहेको छ तापनि सर्वसाधारणले अब राजा पुनः आउने भए भन्ने बहस चलाउँदा चोक चौराहा र चिया पसलमा गफगाफको प्रमुख विषयवस्तु बनेको छ । हुँदाहुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी,दुर्गा प्रसाईको समूह र अन्य राजावादी दलहरूले त लाखौं मान्छे काठमाडौं उतारेर राजालाई गद्वीमै बसाल्ने अन्तिम योजना बनाएका छन् र आन्दोलन पनि गर्दै आएका छन् । आन्दोलनका क्रममा गत २०८१ साल चैत्र १५ गतेका दिन दुखद घटना समेत घट्न पुगेको छ । राजावादीहरूको आन्दोलनको कमाण्डर दुर्गा प्रसाईले सम्हाल्दा उनको उग्र रुप त्यो दिन सडकमा छरपष्ट देखिएको थियो जसले गर्दा राजतन्त्रवादीको आन्दोलनलाई समेत नैतिक ठेस लाग्न पुगेको थियो ।

गणतन्त्र जोगाउन गर्नुपर्ने कामहरू
जे होस्, आखिर नेपालमा यति छोटै अवधिमा गणतन्त्रप्रतिको यो निराशा र जनतामा देखिएको छटपटीका सम्बन्धमा बहस गर्नुपर्ने बेला भएको छ । गणतन्त्र आएपछि देशमा विकासको गति तीव्र तरिकाले अघि बढ्ने, भ्रष्टाचार निवारण हुने र नागरिकले अपनत्व लिने अवस्था आउला भन्ने जनतामा आशा थियो । जुन आशा निराशामा परिणत हुनु गणतन्त्रकै लागि दुर्भाग्य हुन पुगेको छ । यस्तो अवस्था किन आयो त भन्ने सवालमा अब सबै दलहरूले आफ्नो दलभित्र बहस चलाउनुपर्ने बेला भएको छ । यो अवस्था आउनुमा आफू र आफ्नो दलको भूमिका त होइन भन्ने सवालमा यदि बहस चलाई नेताहरू सच्चिनुपर्ने ठाउँमा सच्चिने प्रयास नगर्ने हो भने नेपालमा गणतन्त्र धरापमा पर्ने र राजतन्त्रको पुनःउदय हुनसक्ने चर्चा सही साबित हुन बेर लाग्दैन । अन्तर्राष्ट्रिय परिवेशमा समेत नेपालको छवि राम्रो नभएको, भारतमा त झनै सरकारबिचको सम्बन्ध पनि राम्रो नभएको, चीनले लोकलाजका कारण माया गरेजस्तो देखाए पनि नेपालका नेताहरूको नाडी छामिसकेको र अन्य थुप्रै देशहरूले नेपालमा भइरहेका गतिविधि नियाल्दै नेपाललाई भ्रष्ट र गणतन्त्र कार्यान्वयनमा असफल मुलुक भनेर दाबी गरिरहेका छन् । यस्तो अवस्थामा पनि नेपालका दलहरू सधैंजसो झैझगडामा नै दिन बिताउन थालेका छन् । देशमा विकासको गति रोकिएको छ, युवाहरूमा वैदेशिक यात्राको क्रम बढिरहेको छ, उद्योगधन्दा कलकारखाना एउटा पनि सञ्चालनमा छैनन् र शैक्षिक बेरोजगारको सङ्ख्या बढिरहेको छ । दैनिकरुपमा देश सञ्चालन गर्ने समेत पैसा छैन जसले गर्दा एनजिओ÷आइएनजिओगुहार्नु परेको छ ।जनतालाई प्रत्यक्ष भार पर्ने राजस्व अनावश्यक वृद्धि हुँदा, महङ्गाई अत्यधिक बढिरहँदा, नेपालको मुद्रा अवमूल्यन हुँदा, वैदेशिक रेमिट्यान्स् भन्दा घरजग्गा बेचेर विदेश जाने र विदेशमै घरजम गरी बस्ने क्रम बढिरहँदा देश झन् झन् कङ्गाल हुँदै गइरहेको अवस्था छ । यदि गणतन्त्र जोगाउने नै हो भने अब धेरै ढिला भैसकेको छ तैपनि सबै मिलेर एकमना एकसाथ भएर देशको विकासमा लाग्नुपर्ने र जनताका दुखेसो समाधान गर्ने उपायको खोजी गरी कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि पहिलो प्राथमिकता भनेको संविधान संशोधनदेखि लिएर भ्रष्टाचार निवारणका लागि काम गर्नुपर्छ ।

अन्तमा,
यसरी देशभित्रको उराठ अवस्थालाई देखेर देशमा पढेर के हुन्छ र दुःख गरेर के हुन्छ भन्ने मानसिकता बोकेका नयाँ पिंढीहरूले देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने सोच समेत त्याग गर्दै गएका छन् । देशमा त अन्यत्रबाट पैसा कमाएर ल्याउने र बालुवामा पानी हालेझैं हाल्ने काम भइरहने हुँदा देश भनेर घुम्न मात्र आउने हो, यहाँ आफू र बच्चाको कुनै भविष्य छैन भन्ने मानसिकता बढ्दै जाँदा देशबाट बाहिरिनेको सङ्ख्या बढ्दै गइरहेको यथार्थ अवस्था हाम्रा सामु जीवित छ । यसैगरी देशमा १२ कक्षासम्म जेनतेन पढ्ने, १२ कक्षापछि बाहिर जान पाइने नियम भएकाले आम विद्यार्थीहरूलाई स्नातक वा सो भन्दा माथि पढ्नका लागि भनेर रोक्न सकिएको छैन । यस्ता यावत् परिस्थितिहरू एकातर्फ देखिएका छन् भने अर्कातिर दलहरू केवल सरकार बनाउने र ढलाउने खेलमा व्यस्त छन् । राजनैतिक नियुक्तिमा आफ्ना मान्छे राख्नुपर्ने, भागबण्डा गर्नुपर्ने र भ्रष्ट आचरण भएका नेताहरूलाई जोगाउनुपर्ने चिन्तनमा मात्र दलहरू लागिरहेका छन् । देशको विकास निर्माण गर्न, योग्यता अनुसार रोजगारी सृजना गर्न, उद्योगधन्दा चलाउन र जनताको सेवा गर्ने दायित्वलाई समेत छाडेर दलहरूले जनविरोधी क्रियाकलापहरू गरिरहेका छन् भन्न सकिन्छ । आफ्ना प्रतिस्पर्धी दलहरूलाई कसरी निमोठ्न सकिन्छ, कसरी नाङ्गेझार पार्न सकिन्छ र आफू अगाडि बढ्न सकिन्छ भन्ने ध्याउन्नमा मात्र नेताहरू लागिरहेका छन् । के यस्तो पारासधैं चलिरहला र ? अब सोच्ने बेला भएन र ? के यसलाई गणतन्त्रमा आएको समस्या नभन्ने र ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->