पोखरा/ निजी तथा आवद्ध विद्यालयहरूको छाता संस्था प्याब्सन कास्कीको आयोजनामा कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने करिब ७ सय जना शिक्षकहरूलाई लक्षित गर्दै ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयमा दुईदिने तालिम सुरु भएको छ ।
तालिम पोखराका तीन स्थानका पार्टी प्यालेसहरूमा आयोजना गरिएको छ । अङ्ग्रेजी विषयका लागि शितलादेवी पार्टी प्यालेस (चापापानी), गणित र विज्ञानका लागि एस.आर.केसी क्याटरिङ (माटेपानी), तथा नेपाली र सामाजिक विषयका लागि साइमन पार्र्टी प्यालेस (सृजनाचोक)मा तालिम सञ्चालन गरिएको हो । तालिमको प्रारम्भ यही जेठ १५ गतेदेखि दशवटा हलहरूमा एकैपटक गरिएको छ ।तालिममा पाठ्यक्रम विकास केन्द्र, काठमाडौँ विश्वविद्यालय, र राष्ट्रिय परीक्षा बोर्ड लगायतका विषय विज्ञहरूले सहजीकरण गरेका छन् । त्यसै गरी प्याब्सन कास्कीले विभिन्न विषयहरुमा संयोजक समेत तोकेर प्रशिक्षणलाई प्रभावकारी बनाएको छ ।
विषयगत संयोजकहरूमा अङ्ग्रेजी विषयमा अच्युत पाण्डे, नेपाली विषयमा डिल्लीराम अर्याल, गणित विषयमा खिम गुरुङ, विज्ञान विषयमा पुष्पराज पौडेल, सामाजिक विषयमा गोविन्द काफ्ले रहेका छन् । तालिम उद्घाटन समारोहमा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्ष एवं तालिम संयोजक श्रीकृष्ण अधिकारी तथा सचिव सुरेन्द्रमान सिंह भण्डारी लगायतले प्रशिक्षणको उद्देश्य र महत्वबारे आफ्ना धारणा राखेका थिए ।
तालिमका मुख्य विषयवस्तुहरूमा पाठ्यक्रम उद्देश्यअनुसार ज्ञान, बोध र सिप कसरी विकास गर्ने, रुब्रिक्सको प्रयोग गरी पारदर्र्शी आन्तरिक मूल्याङ्कन, पोर्टफोलियो निर्माण, परियोजना कार्य र प्रयोगात्मक अभ्यास, विषयअनुसारको नवीनतम शिक्षण विधि र शिक्षकका पेशागत दक्षताको विकास, विषयगत भाषिक सिप र शब्दावली प्रयोग सम्बन्धी व्यवहारिक ज्ञानलगायत रहेका छन् । प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम र तालिम संयोजक श्रीकृष्ण अधिकारीका अनुसार, तालिमले शिक्षकहरूलाई प्रभावकारी शिक्षण विधि तथा आन्तरिक र बाह्य मूल्याङ्कन प्रणालीमा दक्ष बनाउँदै शिक्षकको पेशागत विकासमा एक कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । प्याव्सन कास्कीले पहिलो पटक यति ठूलो संख्यामा शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।





