सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

हाम्रा सडक : हिउँदमा मस्ती, बर्खामा सास्ती

हाम्रा सडक : हिउँदमा मस्ती, बर्खामा सास्ती


  • माधव चापागाईं
  • जेष्ठ १८ २०८२, आइतबार

विश्व मानचित्रमा नेपाल विकासोन्मुख मुलुक हो । छिमेकी देशहरू भन्दा कैयौं गुणा सुक्ष्म आकारको यो देशमा भौगोलिक अवस्थितिका कारण विकास निर्माणका कार्य गर्न निकै कठिनाइ छ । यहाँका सडक सञ्जाल हिउँदमा मस्ती, बर्खामा सास्ती दिने खालका छन् । वार्षिक छ महिनाको समयावधि ढुक्कसंग सडकको उपभोग गर्न सकिन्छ । यही परिवेशमा नेपालका अनगिन्ती जनताले जीवन बिताउन बाध्य छन् । यहाँ, उहाँ, त्यहाँ कतै नभनी मुल्याङ्कन गर्ने हो भने नेपालीले बाह्रै महिना सडक सुविधा पाएको दिन पर्खिन अझै केहि दशक अवश्य लाग्छ । हामी नेपालीहरुले आन्तरिक शक्ति कत्ती पनि प्रयोग गर्दैनौं । ताकी सरकारले छुट्याइदिएको जनश्रमदानको १% पनि श्रमदान गर्न हामी हिचकिचाउँछौं । आफ्नो घर वरपरको सडक, कुलकुलेसा, चौतारी पोखरीको निर्माण र संरक्षणको जिम्मा हाम्रै हो परन्तु हामीले वरको ढुङ्गो पर सार्न सक्दैनौं । सधैं राजनैतिक नेता र सरकारलाई मात्रै गाली गर्ने प्रवृत्ति नराम्रो हो । हुनतः निर्दोष सडकले वर्षौं गाली खाएर कुनै प्रतिक्रिया नदिएझैं नेताहरूबाट पनि कुनै जवाफी कार्वाही हुँदैन । हामी विश्वस्त छौं । त्यसैले त परोक्षमा तिव्र आक्रोश पोख्छौं । गालीगलौच गर्छौं । अन्ततः उनै नेताको भरणपोषणका खातिर पुनः उनैका पक्षमा मतदान गर्छौं । अनि भन्छौं, यो नेताले केही गरेन, त्यो नेताले केही गरेन । समग्र देशको सामाजिक, आर्थिक, राजनैतिक गतिविधिलाई गति दिन र नीति निर्माणका क्षेत्रमा उपयुक्त उमेदवार चुनेर पठाउनु पर्नेमा पुस्तौंदेखि नमस्कार गर्दै आएको व्यक्ति र पार्टी आस्थाको भरमा भोट दिएपछि कसरी विकास होस् ? हामी यसमा सचेत हुनैपर्छ ।

हाम्रा सडकहरुले वर्षौं धुलो हिलोमा दिन काटिरहे छन् । सर्वसाधारणले पछुतोमै उमेर कटाए, जुंगाका रेखी नबस्दै खनिएको बाटोले दाह्री कपाल फुलुन्जेल निकास पाएनन् । सरकार सञ्चालनको जिम्मा पाएका संघ, प्रदेश र स्थानीय सरकारले बजेटलाई आर्थिक वर्षको मसान्तमुखी बनाउँदा यो अवस्था सिर्जना भएको बुझ्न सकिन्छ ।

हामीले दिनहुुँ उपभोग गर्ने सडकका लागि के कति योगदान ग¥यौं ? भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । शहरमा सडक फोहोर फ्याने ठाउँ बनाइएको छ । नाली त्यसै फोहोर नै छ । आफ्नो स्वार्थमा लिप्त हामी जनता जस्तोसुकै ओहोदाको किन नहोस् लुकिछिपी सडकको दुरुपयोग नै गरेका हुन्छन् । सडक र नालीको स्वच्छतामा ध्यान दिनु हाम्रो दायित्व हो । सडक, नाली र घर वरपरको प्रदुषणले विभिन्न रोगको सिकार बन्नुपर्ने यथार्थता जगजाहेर नै छ । यद्यपि हामीले आफैं सन्तुलन गुमाएर दुख पाइरहेछौं । गाउँका मानिस विकासका लागि पछौटेपनको प्रवृत्ती अङ्गालिरहेछन् । आफ्नो खेतबारी, पाखोपखेरो केही छुन नहुने, विकासले घरघर छुनु पर्ने, बाटोघाटो पुलपुलेसा र सरकारी भवनहरुको योजना परे तिनैको दोहनमा लागि पर्ने, ठुलाबढा भनौदाहरुले आफ्नै पक्षमा निर्णय गराउने प्रवृत्ति जरैदेखि फ्याक्नु पर्छ । राजनैतिक शक्तिका नाममा टेण्डर खुल्ने, कमिसनमा ठेक्का पट्टा टुङ्याउने, जनश्रमदान शून्य छ । राजनैतिक नेतृत्व र खराब कर्मचारी तन्त्रका अगाडि ठेकेदार निरीह बन्छन् । वर्षौं दुख ग¥यो, हात लाग्यो शून्य हुन्छ । अनि कसरी सडकले मुहार फेर्छ । दीर्घकालीन योजना छैन । इन्जिनियर भन्यो नाम मात्रैका, जहाँ इन्जिनियरको दृष्टि प¥यो उहीँ सडक भाँसिन्छ, बग्छ या पहिरोले अठ्याउँछ । छक्क पर्नु छ । हाम्रा बाउबाजेले ढुङ्गोमाटोद्वारा बनाएका घर, कटेरा, पाटिपौवा, गोरेटा बाटा, चौतारी र पोखरीहरु शताब्दीको यात्रा गरिरहँदा अहिलेका इन्जिनियरले छिनभर टिक्न नसक्ने पुर्वाधारमा दिमाग खियाइरहेका छन् । वर्तमानमा आफूखुशी डोजर चलाउने चलन चल्यो । घरघरमा सम्पन्नताको उद्घोष गर्ने दौडधुपले मुल सडक क्षतविक्षत भए । भाँसिएको टालिदैन, बाढीले बगेका र अठ्याएका सडकहरू पुननिर्माण गर्ने प्रचलन हरायो । अहिले त चाडवाडमुखी डोजर चल्छन् त्यसपछिका समस्या ज्युकाँत्युँ हुन्छन् । ग्रामीण भेगमा काटिएका नालीले वर्षौं कुलाको काम गरेर थकित छन् । पुरिएका र भत्किएका नालीले गैचीबेल्चा र पौरखी हातको साथ कहिल्यै पाएनन् । बर्खामा बाढी आउँछ सडक अवरुद्ध बन्छन्, स्वभाविक हो । तर महिनौं अवरुद्ध सडकको पुननिर्माणमा सडक विभाग, पालिका र वडा कार्यालयको समन्वय पटक्कै छैन । एम्बुलेन्सले समेत गन्तव्य निक्र्यौल गर्न सक्ने अवास्था देखिदैन । भाषणमा चिल्ला चौडा सडकको पेरिफेरीमा रोमाञ्चक तुल्याउने नेता र सरकारलाई पाल्न विवश नेपालीहरु साँच्चै कति अभागी रहेछन् ।

अहिलेको परिवेशमा जनताको पहिलो आवश्यकता सडक भएको छ । विकासको पहिलो सर्त पनि सडक नै रहेछ । सडक बिना कोहीकसैको व्यक्तित्व होस् या जुनकुनै ठाउँको मुहार उज्यालो हुन सकोस् । त्यसैले त सडक देशको अग्रगामी परिवर्तनका लागि एक हिस्सा रहेछ । यहि हिस्सामा ङिच्च दाँत देखाएर अवलोकन, निरिक्षण र सर्वेक्षणका नाममा लाखौं रुपैयाँ खर्च गर्ने प्रवृत्ति बढ्दो छ । निर्वाचनमा जुनसुकै कामलाई असम्भव प्रायः नदेख्ने नेताहरु तत् पश्चात् ग्रामीण भेगका पाहुना बन्छन् । भेटघाटलाई छुट्याइएको दुई चारदिन सामाजिक सञ्जालमुखी कार्यक्रम गरेर छोडिन्छ । उनीहरु समाजमा सधैं आफ्नो वर्चस्व चाहन्छन् । जुन अप्ठ्यारो कार्य एवं जनताको अत्यावश्यक कर्म अहिलेको कार्यकालमा पूरा गरे अर्को कार्यकाललाई भोट माग्ने विषय नै लोप हुन जान्छ भन्ने हीन मनोभावना नेपाली राजनीतिमा जल्दोबल्दो छ ।

यहाँ बजेट नै नआउने समस्या हुँदैहोइन । थोरै धेरै बजेट आउँछ । काम गर्ने तरिका भिन्न छ । नेपालको बजेट हिउँदभरि धुलाम्मे सडकमा मस्तीसंग हिंडेर जेठ असारमा झरीले वर्चस्व कमाएपछि खर्च गरिन्छ । जुन खर्चलाई छिनभरको वर्षाले गोरेटोमा समाहित गर्छ । शासकहरु आफ्नो दुनो सोझ्याउन मस्त छन् । उनीहरु काम गर्नका लागि योजना ल्याउँदैनन् । बाह्य संसारमा काम गरेको देखाउन अंकगणितका लागि योजना ते¥स्याउँछन् । सुख्खा समयमा हनुमान बन्छन् । हाम्रो समाजमा एउटा उखान छ ‘जब प¥यो राती तब बुढी ताती’ भन्याझै जब बर्खा लाग्छ तब निर्दोष सडकमाथी आपराधिक शैलीमा डोजर चलाइन्छन् । छिनभर, दिनभर वा हप्ताभरमा लाखौं करोडौं रुपैयाँ बगाएर दुधको साक्षी बिरालो बन्छन् । जुन कार्य नेपाल र नेपालीहरुका लागि निन्दनीय छ ।

बर्खाको सास्ती चाडबाडे डोजर हेरेर दशैसंगै बिर्सिने अनि हिउँदभर फुसफुसे धुलोमा मस्ती गर्ने मनोभावना हाबी हुँदै छ । अझै अनौठो कुरा त जनताले हरेक वर्ष महिनौंसम्म सडक सञ्जालबाट विच्छेदित जीवन काटिरहँदा स्थानीय शासकहरुको अनुकुलतामा छिनभरमै अवरुद्ध सडक खुल्छन् । डोजर संगसंगै यात्रा हुन्छन् । त्यसपछि जस्ताको तस्तै, जनता सधैं अँधेरी छिंडीमा लम्पट छन् । हरेक वर्ष बाढी पहिरो र अवरुद्ध सडकका कारण बिरामी परेका बालबालिका, वृद्धवृद्धा र सुत्केरीहरुले हजारौंको संख्यामा ज्यान गुमाउन विवश छन् । हिउँदमा तरकारी, फलफूल, दूध र कृषिजन्य वस्तुले बजार पाउने सबै क्षेत्र चलायमान हुने तर बर्खामा सडक अवरुद्धसंगै बिरामीले उपचार समेत नपाउने समस्या दिन दुइगुणा रात चौगुणाको दरले बढ्दो छ । हाम्रा सडकले बालदेखि वयस्क, कृषक, उद्योगी, व्यापारी हुँदै रोगि, वृद्ध, अपाङ्ग, गर्भवती महिला र गरिब किसानहरुलाई पनि दुखबाट अछुतो राखेका छैनन् । अथाह धनसम्पत्ती भएका र ऐशआरामको जीवन ज्युँनेहरुको पनि रातको निद न दिनको भोक बनाएका छन् ।

हुनतः झोला बोक्ने, छाता ओढाउनेदेखि लिएर शौचालयको ढोकासम्म खोलिदिने जनशक्ति लिएर हिंड्ने शासकहरुलाई त्यो पीडा के थाहा । उनीहरु आउने बाटा अलग्गै छन् । उनीहरुलाई रत्तिभर सकस नपर्ने भएपछि जनताको पीडा कस्ले बुझ्ने ? सर्वसाधारण पनि उस्तै छन् विरोध गर्न उनीहरुको पुख्र्यौली आस्था र विश्वासले नदिंदोरहेछ क्यार ! उनका अगाडि कोही बोल्ने सामथ्र्य गर्दैनन् । समयको माग यति छिटो कुदिरहेछ । सबै सबै ‘तातै खाउ जल्दी मरौं’ को भावना लिएर कुदिरहेछन् । नजानी सडकले पनि उस्तै स्वभावमा दिन बिताएको पो छ कि ? । अबको समय युगिन परिवर्तनको हो । जो जति बोल्छ । त्यो पहिले पु¥याउनु पर्ने बाध्यता सिर्जना गर्नैपर्छ । अन्यथा जनताले ठाउँको ठाउँ सिर्जित अवस्थाको सामना गर्न लागिपर्नु पर्छ । कि त जिम्मेवार व्यक्तिले उचित निकास खोज्नुपर्छ । अन्यथा दीर्घकालीन रणनीति बिना कोही कसैको जग्गामा डोजर चलाउन नपाउने कानुन बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->