ट्राइबेकरमा रुद्रेपिपल माविलाई पराजित गरेपछि खुशी साट्दै गरिमा आवासिय माविका खेलाडिहरु । तस्बिर : रामकृष्ण बोहरा
बागलुङ/दोस्रो आदर्श कप फुटवल प्रतियोगितामा क्वाटरफाइल समिकरण पुरा भएको छ । प्रतियोगिताको चौथो दिन आइतबार सम्पन्न खेलमा चिल्ड्रेन लाइफ, गुराँस विद्या सदन, आयोजक आदर्श विद्यामन्दिर ‘निलो’ (एभिएम) र गरिमा माविले जित निकाल्दै सेमीफाइनलमा स्थान बनाएका छन् ।
आइतबार भएको पहिलो खेलमा प्रिसियस एकेडेमीलाई ०–१ गोल गर्दै चिल्ड्रेन लाइफ विजयी भयो । चिल्ड्रेनको जितका लागि खेलको पाँच मिनेटमै पाएको पेनाल्टीलाई सदुपयोग गर्दै विशाल भण्डारीले बललाई जाली चुमाएका थिए । गुराँस प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बन्यो । सनराइज बोर्डिङविरुद्व ०–१ गोलको जित निकाल्दै गुराँसले सेमीफाइल यात्रा तय गरेको हो । गुराँसको जितमा कप्तान दिवस थापाले हेडमार्फत आर्कषक गोल गरे । गुराँसले फाइनल यात्राका लागि सोमबार हुने खेलमा आयोजक एभीएम ‘निलो’को सामना गर्ने छ ।

एभिएम निलोले न्यु एभरेष्ट एकेडेमी ‘ए’ माथि रवाफिलो जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ । एभरेष्टलाई ०–४ गोलले पराजित गर्दा एभीएमका भरपर्दा स्ट्राइकर सुझाव बानियाँले ह्याटिक गरे । निकै फितलो खेल प्रदर्शन गरेको एभरेष्टले एक आत्मघाती गोलको सामना गर्नुपर्यो ।
यस्तै, चौथो दिनको अन्तिम खेलमा रुद्रपिपललाई ट्राइबेकरमा निराश बनाउँदै गरिमा माविले फाइनल यात्राका लागि चिल्ड्रेन लाइफसंगको भेट पक्का गरेको छ । निर्धारित समयमा रुद्रेपिपलका चन्दन माझी र गरिमाका प्रिन्स कुँवरले एक÷एक गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा रुद्रेपिपलका चन्दन माझी गोल गर्न चुक्दा टोलीले ३–५ गोलको हार व्यहोर्नुपर्यो । पेनाल्टीमा रुद्रेपिपलका गणेश बोसेल, सुमन माझी र कुशल गर्वुजा तथा गरिमाका सविन थापा, अप्सन गौतम, गगन थापा, प्रिन्स कुँवर र चिराग रोकाले गोल गर्नु सफल भए ।

प्रतियोगिताको छात्रातर्फ भने फाइनल प्रवेशका लागि सोमबार हुने खेलमा न्यु ओयसिसले रुद्रेपिपल र आयोजक आदर्श विद्यामन्दिरले चिल्ड्रेन लाइफसंग प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा छात्रतर्फको विजेता टोलीले नगद ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ३७ हजार ५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए । छात्रा तर्फको विजेता टोलीले नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद १५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।






