सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ताराखोला र भरतपुरबीच भगिनी सम्बन्ध

ताराखोला र भरतपुरबीच भगिनी सम्बन्ध


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८२, मंगलबार

बागलुङ/ताराखोला गाउँपालिका उत्पादनमा जिल्लामै अब्बल छ । आफ्नै उत्पादन बजारीकरण गर्ने ताराखोलामा अत्यावस्यक बाहेकका सामान बजारबाट लैजान पर्दैन ।

जनयुद्दको आधारभूमी रहेको ताराखोलामा २६ जना सहिद भए । दुइ जना बेपत्ता छन् । ताराखोलाले सोमबार भरतपुर महानगरपालिकासँग भगिनी सम्झौता गरेको छ । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर ‘बिक हिमाल’ र भरतपुर महानगरकी प्रमुख रेणु दाहालले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताका लागि ताराखोलाका अध्यक्ष बिकसहित वडा नं. २ का अध्यक्ष भद्रबहादुर घर्ती प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल बिक सहितको टोली भरतपुर पुगेको थियो । उनीहरुले दुवै पालिकाको संयुक्त लगानीमा पर्यटन प्रवद्र्दनका कार्यक्रम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता, शिक्षालाई समय सापेक्ष बनाउने, विशिष्ट विकास आयोगनाको संचालन तथा कार्यान्वयन गर्नका लागि दुवै स्थानीय तहले मिलेर आपसी सहयोग आदानप्रदान गर्ने, दुवै पालिकामा रहेका धार्मिक, पर्यटकीयस्थलको महत्वबारे प्रचार प्रसार गर्ने, मौलिक कृषि उपजको बजारीकरणमा पहल गर्ने र कृषि र पशुपालनमा भएका नविनतम कार्यक्रम तथा प्रविधिको सिकाइ आदानप्रदान गर्ने समेत सहमति पत्रमा हस्ताक्षर भएको हो ।

ताराखोला गाउँपालिका कृषि र लघु उद्योगमा आत्मनिर्भर पालिका हो । आलु, सिमी, च्याउ लगायतका तरकारी यहाँ प्रसस्त फल्छ । व्यवसायिक अलैची उत्पादन शुरु भएको छ । अल्लो, ढाका बुनाइ र नेपाली कागज उत्पादन भैरहेको छ । ताराखोलाको स्लेट प्रकारको ढुंगा उद्योगका उत्पादन बजारीकरणमा भरतपुरले पनि सहयोग गर्न सक्ने बताइएको छ ।

ताराखोलाका दर्जनौं संस्कृतिहरुबारे पनि भरतपुरमा प्रचार हुनेछ । ताराखोला र भरतपुरले आफ्नो काम गर्दा लागत न्युनिकरण, श्रोत साधनको अधिकतम उपयोग र प्रभावकारी सेवा प्रवाह गर्ने सहमति गरेको अध्यक्ष बिकले बताए । स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ६, दफा २६ को (ट) मा भगिनी सम्बन्ध स्थापना गर्नसक्ने व्यवस्था छ । दुवै पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दमकल, एम्बुलेन्स सेवा, बस्ती विकास, प्रविधि, संस्कृति र उद्यम विकासका लागि बजार व्यवस्थापनमा सहकार्य गर्ने सम्झौता गरेका हुन् । भौतिक तथा आर्थिक विकासमा सहयोग र अनुभव साटासाट गर्ने सम्झौतामा उल्लेख छ ।

यो सम्बन्धले दुवै पालिकाको दिर्घकालिन विकासमा नयाँ ढोका खोलेको बिकले बताए । दाहालले पनि स्थानीय तहबीचको सहकार्यले दिर्घकालिन विकासका बाटोमा हिंड्न सहयोग पुग्ने बताइन् ।

नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्गमा संचालन गरेको जनजागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल सहितका नेता ताराखोला एक दिन बस्न पुगेका थिए । उक्त अवसरमा बिकले पालिकाको तर्फबाट दाहाल सहितका नेतालाई स्वागत गरेपछि लगत्तै यो भगिनी सम्बन्ध शुरु भएको हो । भरतपुरकी मेयर दाहाल पुत्री हुन् ।

ताराखोला र भरतपुरमा लगातार दुवै स्थानीय तह माओवादी केन्द्रका उमेदवारले जितेका छन् । यसअघि ताराखोलाले गुल्मीको धुर्कोट र तनहुँको बन्दिपुर गाउँपालिकाबीच पनि भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । ती पालिकाले पनि आपसी भ्रमण, विकास निर्माणको काममा सहकार्य तथा उत्पादनको आदानप्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->