बागलुङ/नेपाली सेनाको कालीजंग गण घोडाबाँधेको आयोजनामा गलकोट नगरपालिका ५ को भैसेस्थित दरमखोला पुलमा कृतिम घटना अभ्यास प्रदर्शन भएको छ । घटना कृतिम भएपनि सेनाले वास्तविक रुपमा घटनाको उद्दारको प्रदर्शन गरेको थियो ।
मानिसलाई खोलाले बगाएमा डोरीबाट कसरी उद्दार गर्ने, घिर्नी प्रयोग गरेर कसरी पाखामा ल्याउन सकिन्छ ? पहिरो आएर घर पुरिंदा घाइतेको उद्दार कसरी गर्ने, भीरमा फसेका घाइते भएमा गरिने उद्दारको प्रकृति र घरेलु विधिबाट खोला तर्ने उपायबारे समेत प्रदर्शशनीमा देखाइएको थियो । घटनाहरु कृतिम थिए तर दरमखोलाको किनारमा बाढीमा बगेका र पहिरोले पुरिएकाको उद्दारको घटना भने कृतिम थिएन ।
यस्तै घटनाका पीडितलाई उद्दार गर्न सेनाले डोरीमार्फत खोला, भीर र पहरामा पुगेर कसरी उपचार गर्छ भन्ने सबै घटना देखाउन सेनाले मंगलबार ‘मनसुन घटना ५’ आयोजना गरेको थियो । कालीजंग गणले आयोजना गरेको अभ्यासमा सशष्त्र प्ररही बल र नेपाल प्रहरीसँगै गलकोट नगरपालिका, नगर अस्पताल, नेपाल रेडक्रस सोसाइटी गलकोट शाखा, विभिन्न विद्यालयका जुनियर रेडक्रस सर्कलका पदाधिकारी र स्थानीयको सहभागिता थियो ।

वर्षात्मा बाढी पहिरोका घटना धेरै हुने भएकोले सेनाको कालीजंग गणले मंगलबार कृतिम घटना अभ्यास गराएको कालीजंग गणका गणपति तथा प्रमुख सेनानी शिव अधिकारीले जानकारी दिए । नागरिकलाई विपतमा कसरी बच्ने भन्ने बारेमा सचेत बनाउन यो अभ्यास गराएको सेनानी अधिकारीको भनाई थियो ।
वर्षातमा आउने बाढी पहिरो लगायतका विपतबाट बच्नका लागि नागरिक चनाखो बन्नुपर्ने र घटना भैहालेमा प्रहरी र सेनाको सहयोग लिन पनि यो अभ्यासले सहयोग पुग्ने उनले बताए । सेनाले विद्यालय तहका विद्यार्थीलाई पनि घटना र अभ्यासबारे प्रशिक्षण गराएको थियो । उद्दार सामाग्री पनि प्रर्दशन गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले अभ्यासले निरन्तर अभिमुखीकरण गरेपछि मात्र नागरिकमा विपतबारे सचेत र चनाखो बन्ने वातावरण बन्दै गएको बताए । उनले विपत व्वयस्थापनमा स्थानीय तहले पनि तालिम लगायतका कार्यक्रमको योजना बनाउनुपर्ने बताए । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले आम नागरिकलाई सचेत बनाएमा मनसुनजन्य प्रकोपबाट बचाउन सकिने बताए ।





