पोखरा/ पोखरा विश्वविद्यालयमा रिक्त विभिन्न संकायका डीन तथा परीक्षा नियन्त्रकको नियुक्त गरिएकाे छ । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मंगलबार बसेको बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम उनीहरुलाई नियुक्त गरेको हो ।
विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारीलाई स्वास्थ्य विज्ञान संकायको डीन, पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका सह–प्रा. ई. बुद्धिराज जोशीलाई विज्ञान तथा प्रविधि संकायको डीन र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका उप–प्रा.डा. सुरेन्द्र तिवारीलाई मानविकी तथा सामाजिक शास्त्र संकायको डीन पदमा चार वर्षका लागि नियुक्त गरिएको हो । यसैगरी सोही बैठकको निर्णयअनुसार पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उप–प्रा. राजु पाण्डेयलाई पोखरा विश्वविद्यालय पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०५५ को नियम १५ (३) बमोजिम परीक्षा नियन्त्रक पदमा चार वर्षका लागि नियुक्त गरिएको छ। नवनियुक्त पदाधिकारीहरुलाई पोखरा विश्वविद्यालयको उपकुलपति कार्यालयमा आज आयोजित विशेष समारोहबीच उपकुलपति प्रा.डा. बेदराज के.सी.ले पद तथा गोपनीयताको शपथ गराएको सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।





