प्रस्तावना
विश्व राजनीतिमा कहिलेकाहीँ यस्ता पात्रहरू उदाउँछन्, जसले विद्यमान व्यवस्थालाई चुनौती दिंदै नयाँ सोच र व्यवहारको आधारमा राष्ट्र निर्माणको यात्रालाई नयाँ दिशा दिन्छन् । राष्ट्रियता र राष्ट्रप्रेमले ओतप्रोत तथा विगतका राजनीतिक असफलता र असमानताको सिकारमा परेका नागरिकको असन्तुष्टिले मुर्त रुप लिँदा विभिन्न समयमा यस्तो राजनीतिक नेतृत्व जन्मिन्छ । अफ्रिकी राष्ट्र बुर्किनाफासोका क्याप्टेन इब्राहिम त्राओरे र नेपालको राजधानी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन यस्ता दुई विशिष्ट पात्र हुन्, जसले आ–आफ्नो सामाजिक, राजनीतिक र भौगोलिक परिवेशमा जनताका आकांक्षालाई मूर्तरूप दिन खोजेका छन् । यिनीहरूको उदय, कार्यशैली, विचार र जनतासँगको सम्बन्धलाई विश्लेषण गर्दै नेपालको सन्दर्भमा बालेनलाई ‘नेपालका इब्राहिम’का रूपमा चित्रण गर्ने प्रयत्न यो लेखमा गरिएको छ । यो लेख नितान्त व्यक्तिगत र वैचारिक लेख भएकाले कुनै प्रकारको राजनीतिक आवद्धता नरहेको स्षष्टता व्यक्त गरिएको छ ।
१. उदयको पृष्ठभूमि : असन्तोषबाट उत्पन्न नेतृत्व
क्याप्टेन इब्राहिम त्राओरेको उदय बुर्किनाफासोको अस्थिर सुरक्षा अवस्था, आतंकवादी आक्रमण, भ्रष्ट शासन र पश्चिमी राष्ट्रहरूको प्रभावमा निर्भर सरकारको असफलताको परिणाम थियो । २०२२ सेप्टेम्बरमा उनले ‘कू’मार्फत सत्ता सम्हाले र राष्ट्रलाई आत्मनिर्भर बनाउने सपना बोके । परम्परागतभन्दा फरक रुपमा विराजमान रहेको अघोषित उपनिवेशवादको बर्खिलापमा त्राओरेको उदय भएको हो ।
बालेन्द्र शाहको उदय पनि असन्तोषकै उपज थियो, यद्यपि परिवेश भिन्न थियो । दलहरू प्रति जनताको निराशा, सिमित राजनीतिक व्यक्ति र दलहरुको सदाबहार सत्ताकब्जा, शहरी अस्तव्यस्तता, निर्णय क्षमताको अभाव, र कुशल नेतृत्वको खोजीमा बालेन स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा विजयी भए । राजनीतिमा मिहिन अध्ययन, नबिनता र नया पुस्तामा राजनीतिक चेतनाको सञ्चार बालेन्द्र शाहको प्रादुर्भावको परिवेश रह्यो ।
तुलना : इब्राहिमले सत्ता ‘कू’ द्वारा प्राप्त गरे भने बालेनले निर्वाचनमार्फत जनादेशद्वारा । दुबैको मूल कारण राजनीतिक असन्तोष र परम्परागत नेतृत्वमा अविश्वास हो ।
२. वैचारिक दिशा र राष्ट्र निर्माणको दृष्टिकोण
इब्राहिम त्राओरेको विचार राष्ट्रवादी, आत्मनिर्भर र पान–अफ्रिकन सोचमा आधारित छ । उनले फ्रान्सको सैन्य उपस्थितिलाई देशबाट हटाउँदै, रूस, माली, नाइजरसँग सहकार्य बढाए । उनको अवधारणा ‘हामी आफैं हाम्रो भविष्य बनाउँछौं’ भन्नेमा आधारित छ ।
बालेन शाहको दृष्टिकोण शहरी सुशासन, अनुशासन, पारदर्शिता र नवाचारमा आधारित छ । आदर्श परिकल्पनासहित बनेको नेपालको संविधानले प्रदत्त गरेको अधिकारको उपयोग र सो मार्फत व्यवस्थित पद्धतिको विकास उनको परिकल्पना हो । उनले विकसित नेपालवादको अवधारणा अघि सारेका छन्, जसले स्वच्छ प्रशासन, सार्वजनिक उत्तरदायित्व र प्राविधिक सक्षम निर्णयलाई जोड दिन्छ ।
तुलना : इब्राहिमको राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सोचको तुलनामा बालेनको सोच व्यवस्थापन, सेवा र स्वशासनमा केन्द्रित छ । तर दुबैमा समानता राष्ट्रवाद र स्वनिर्भरताको भावनामा आधारित रहेको देखिन्छ । राष्ट्रप्रेम र देशभक्तिको भावना दुबैका लागि राष्ट्र निर्माणको आधार शक्ति हो ।
३. कार्यशैली र नेतृत्व शैली
इब्राहिम त्राओरे सैन्य पृष्ठभूमिका भएकाले उनी निर्णयमा तीव्र, स्पष्ट र कठोर देखिन्छन् । दुश्मनका विरुद्ध शून्य सहिष्णुता, राजनीतिक असहमतिलाई स्पष्ट जवाफ र पाश्चात्य मुलुकप्रति खुलेर विरोध गर्नु उनको शैली हो ।
बालेन शाह शहरी योजनाविद् र स्वतन्त्र सोच राख्ने व्यक्तित्व भएकाले, निर्णयमा स्पष्टता, रणनीति र निष्क्रियताविरुद्ध विद्रोह उनको कार्यशैली हो । फुटपाथ अतिक्रमण हटाउनेदेखि फोहोरमैला व्यवस्थापनसम्म उनले कानुनी, प्रशासनिक र नैतिक आधारमा निर्णय लिएका छन् ।
तुलना : दुबैले निर्णय प्रक्रियामा प्रचलित अभ्यासभन्दा फरक शैली अपनाएका छन् । त्राओरे सैन्य कार्यशैलीबाट, बालेन व्यवस्थापन र जनप्रतिक्रिया आधारित निर्णयबाट प्रेरित छन् । दुबैको नेतृत्व परिणाममुखी छ । दुबैले स्थापित ठूला मिडियाहरु सिमित स्वार्थ समूहको हितमा निहित रहने बुझाइसहित स्पष्ट धारणाका लागि सामाजिक सञ्जाललाई उत्तम प्रयोग गरेका छन् ।
जनसमर्थन र प्रतिरोध
इब्राहिम त्राओरेलाई खासगरी युवा पुस्ता, ग्रामीण वर्ग र राष्ट्रवादी विचारधाराका नागरिकहरूको समर्थन छ । तथापि, अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार समूह र केही आन्तरिक समूहहरूको विरोध पनि छ । पछिल्लो समय समग्र अफ्रिकाको नेता र अफ्रिकालाई चौंथो शक्तिको रुपमा उभ्याउन सक्ने नेतृत्वका रुपमा अन्तराष्ट्रिय बुझाइ समेत रहेको पाइन्छ ।
बालेनलाई समेत युवा पुस्ता, स्वतन्त्र मतदाता, र सचेत शहरी वर्गको बलियो समर्थन छ । तर परम्परागत राजनीतिक दलहरू, केही प्रशासनिक संरचना र व्यावसायिक समूहहरूबाट उनी आलोचना र अवरोधको शिकार भएका छन् ।
तुलना : दुबै नेताले यथास्थितिवादविरुद्धको जनआन्दोलनलाई नेतृत्व दिएका छन्, जसमा समर्थकहरू भावनात्मक रूपमा जोडिएका छन्, तर संरचनात्मक शक्तिहरूबाट चुनौती खेपिरहेका छन् । विद्वत वर्गको राष्ट्रिय र अन्तराष्ट्रिय महत्व र पहिचान दुवै नेतृत्वकर्तालाई प्राप्त भएको छ ।
रणनीतिक दृष्टि : अल्पकालीन र दीर्घकालीन योजना
इब्राहिमले बुर्किनाफासोलाई दीर्घकालीन रूपमै वैदेशिक हस्तक्षेपविना शासन गर्ने राष्ट्र बनाउने सपना देखेका छन् । उनको रणनीति सुरक्षामैत्री, भू–राजनीतिक स्वतन्त्रता र स्थानीय उत्पादन÷संसाधनको प्रयोगमा आधारित छ ।
बालेनको रणनीति अल्पकालीन रूपमा शहरी सुधार, प्रशासनिक दक्षता, र योजनाबद्ध सेवा वितरणमा केन्द्रित देखिन्छ । दीर्घकालमा उनी स्थानीय तहको सुदृढीकरण र संघीय प्रणालीलाई कार्यक्षम बनाउनेतर्फ प्रेरित छन् । परम्परागत राजनीतिक दलको एकाधिकार तोडी मौलिक र फरक प्रकारको शासन पद्धतिको अवलम्बन र संविधान प्रदत्त अधिकार र कर्तव्यको कार्यान्वयन उनको प्रमुख रणनीति हो ।
तुलना : इब्राहिमले राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकता दिएका छन्, जबकी बालेनले राजनीतिक पद्धतिको सुधार, शहरी प्रशासन र सेवा प्रवाहलाई । परम्परागत एकाधिकारबाद विरुद्धको लडाईं स्वरुप दुवै प्रस्तुत भएका हुन् तर दुबैका लागि स्वतन्त्रता, पारदर्शिता, र दिगो शासन मुख्य लक्ष्य हो ।
वैकल्पिक राजनीतिक चेतनाको उदय
इब्राहिम त्राओरे बुर्किनाफासोमा वैकल्पिक नेतृत्व चेतनाको प्रतिनिधि हुन्, जसले पश्चिमी लोकतन्त्रको ढाँचा भन्दा फरक शैलीमा शासनको अभ्यास गरिरहेका छन् । विगतको उपनिवेशबादको अवशेषको रुपमा विभिन्न सन्धी र कम्पनीको नाममा अघोषित उपनिवेशवाद हाबी रहेको राजनीतिक चेतना फैलाइरहेका छन् । बहुस्तरीय शासन, उदारबादको नाममा राज्यको कमजोर उपस्थिति र अनुदान एवं सहायताको नाममा हुने साङ्केतिक कब्जाको विषय इब्राहिमले प्रस्तुत गरेको सन्दर्भ समग्र विश्वलाई ध्यान केन्द्रित गर्ने तहको छ ।
बालेन शाह नेपालमा दलविहीन राजनीतिक चेतनाको प्रतिमूर्ति बनेका छन् । नेतृत्व निर्माण मौलिक र माटो सुहाँउदो हुनुपर्ने र भूँइ तह राम्रोसँग नबुझि कुनै वाद र तन्त्रले सार्थकता नपाउने धारणा स्थापित गरेका छन् । उनले नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवारी, कार्यमुखी सोच, र जनउत्तरदायित्वको नयाँ मानक स्थापन गरेका छन् । नेपालमा पनि वैदेशिक हस्तक्षेप, अघोषित उपनिवेशवाद, अनुदान र सहायताका नाममा अतिरिक्त दवावको विद्रोहको फरक शैली अवलम्बन गर्ने चेतनाको समेत प्रवद्र्धन गरेका छन् ।
तुलना : दुबै नेतृत्वले परम्परागत राजनीतिक विचारधाराभन्दा अलग छन् । यिनीहरू स्वतन्त्र, नवप्रवर्तनशील र वैकल्पिक चेतनाका प्रतीक हुन् । नेतृत्वमा फरक ढङ्गले सोचाइ हुनुपर्नेमा दुवै निश्चय छन् ।
निष्कर्ष : विकसित नेपालवादको सम्भाव्यता र इब्राहिमको प्रेरणा
इब्राहिम त्राओरे र बालेन शाहबीचको तुलना केवल दुई व्यक्तित्वको विश्लेषण होइन, यो दुई फरक राष्ट्रका समान संघर्ष र जनआकांक्षाको विम्ब हो । इब्राहिमले जस्तो बुर्किनाफासोमा आत्मनिर्भर राष्ट्रको सपना देखेका छन्, बालेनले त्यही दृष्टिकोणमा आधारित भएर विकसित नेपाल निर्माणको बीउ रोपेका छन् ।
नेपालमा ‘विकसित नेपालवाद’ केवल शहरी सुधारको नारामात्र नभई, यो जनसरोकार, पारदर्शिता, कार्यक्षमता र राष्ट्रप्रेमको जीवन्त अवधारणा बन्न सक्ने सामथ्र्य राख्दछ । परम्परागत राजनीतिक पद्धतिले फैलाएको नैराश्यतालाई चिर्दै राष्ट्रनिर्माणलाई नविन शीराबाट विकसित गरि विकसित पलायनलाई रोक्दै बस्नयोग्य राष्ट्र निर्माणमा बालेनको सङ्कल्प रहेको छ । यदि यो चेतनाले राष्ट्रिय नेतृत्व तहसम्म फैलन सक्यो भने बालेन शाह साँच्चिकै ‘नेपालका इब्राहिम’ बन्न सक्छन् ।
दुवैको उदय जनताको भित्रभित्रै रहेको विद्रोहको स्वर हो, जसले परिवर्तन चाहन्छ वचनमा होइन, व्यवहारमा ।





