पोखरा/ पोखरा उच्च अदालत बार एशोसिएसनमा अधिबक्ता शालिग्राम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
२ वर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा यमबहादुर खत्री, सचिवमा प्रकाश शर्मा, सहसचिवमा ईश्वरी पौडेल, कोषाध्यक्षमा सुजाता ढकाल रहेका छन् । यसैगरी सदस्यहरुमा लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दिपक शर्मा पौडेल, तीलकप्रसाद कोईराला, डिल्लीराम अधिकारी, घनश्याम बराल र महिला सदस्यमा राधा शर्मा पौडेल चयन भए । कार्यसमितिका सबै पदाधिकारी सदस्य निर्विरोध निर्वाचित घोषणा गर्दै निर्वाचन समितिका संयोटक बरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले विहीबार उनीहरुलाई खादा र अबिर लगाइदिएका थिए ।
पोखरामा क्रियाशील कानुन व्यवसायीका ४ संगठनकाबीच सहमति जुटेपछि कार्यसमिति निर्विरोध चयन गरिएको हो । नेपाली कांग्रेस निकट डिएलए, एमाले निकट पिपिएलए, माओवादी केन्द्र निकट आरपिएलए र नेकपा समाजवादी निकट एसपिएलएको सहमतिमा पदाधिकारी र सदस्यमा उम्मेदवारी परेको हो । अध्यक्ष, सचिव र कोषाध्यक्ष डिएलए आबद्ध कानुन व्यवासयी हुन् । उपाध्यक्ष र सहसचिव भने एमाले निकट पिपिएलए आबद्ध हुन् । सदस्यमा डिएलएका ४, आरपिएलएका २, पिपिएलएका १ र एसपिएललका भागमा १ जना रहेका छन् ।
उच्च अदालत बारमा ४ सय ५६ जना मतदाता छन् । त्यसमा कांग्रेस निकट डिएलएको वाहुल्य छ । पहिलाका निर्वाचनमा मतदान हुँदा सबै पदमा डिएलएका उम्मेदवार विजयी हुन्थे । बारलाई सबैको साझा थलो बनाउने प्रयास अनुसार सहमतिका आधारमा कार्यसमिति चयन गरिएको हो । निर्वाचन कार्यतालिका अनुसार जेठ २४ गते मतदानको दिन तोकिएको थियो । तर सहमति जुटेपछि आजै निर्वाचित कार्यसमितिको घोषणा गरिएको हो ।





